s

अध्यागमन हिरासतमा दुई रुसी बालक

गोपाल गडतौला

२ पुस दिउँसो रुसी महिला कोभालिन्को भेलिरिया (२६) आफ्ना दुई छोराहरू चिसोले कठ्यांग्रिन लागेकामा आत्तिँदै थिइन्। उनका पति खामोव दिमित्री (४६) पनि आफ्ना सन्तान चिसोले खोक्न थालेकामा सरकारी अधिकारीहरूसँग जंगिँदै थिए। भेलिरिया र दिमित्री आफ्ना दुई सन्तानसहित अहिले काठमाडौंस्थित अध्यागमन विभागको हिरासतमा छन्।

कोभिलिन्को बोग्दान (३ वर्ष) र इमेलिन (११ महिना)लाई सम्हालिरहेकी भेलिरियालाई अध्यागमन हिरासतको निगरानी गरिहेका महिला प्रहरीले दिउँसो विभाग परिसरमै घाम ताप्न जान दिए। त्यसपछि करिब ३ घण्टा भेलिरिया दुवै छोरा लिएर विभागको कालिकास्थान कार्यालय पछाडिको खुला ठाउँमा बसिन्।
 
दुवै दूधे बालक भएकाले उनीहरूलाई पनि आमासँगै हिरासतमा राख्नुपरेको विभागका निर्देशक विष्णुहरि उपाध्याय बताउँछन्। उनका अनुसार पक्राउ परेका विदेशी नागरिकले नेपालस्थित उसको मुलुकको दूतावास वा अन्य कुनै अड्डामा सम्पर्क गर्न चाहे समन्वय गरिदिनुपर्छ। तर, यो रुसी परिवारले काठमाडौंस्थित रुसी दूतावाससँग कुरा गर्न चाहिरहेको छैन।
 
“म यहिँ बसेर गरिखान चाहन्छु, यहिँ आएर हामीले दोस्रो बच्चा पनि जन्मायौं,” हिरासतमा रहेका दिमित्री हिमालखबरसँग भन्छन्, “म योगा सिकाउनसक्छु, सकेसम्म रुस फर्किन चाहन्नँ।”
 
रुसमा युद्ध र हिंसा धेरै देखेको र त्यसबाट आजित भएर नेपाल आएको उनी बताउँछन्। दिमित्री रुसकै स्थायी बासिन्दा हुन् भने भेलिरियाको परिवार भने युक्रेनबाट रुसमा बसाईं सरेर रुस आएको हो।
 
“म रुसको कुनै अपराधी होइन। काम गर्नेलाई माया गर्ने आदत भएका हँसिला मान्छे र बाह्रैमास फलफूल खान पाइने हरियो ठेगाना (नेपाल) मलाई मनपर्‍यो,” उनी भन्छन्। आफूहरू रुस फर्किन नचाहनुको भित्री कारण उनीहरूले अझै खुलाएका छैनन्।
 
अध्यागमन विभागले भने उनीहरू स्वदेश फर्किन नचाहनुको कारणबारे खोजी गरिरहेको छ। “आफ्नो देश फर्किन नचाहने उनीहरूको भनाइ सुन्दा चकित परेका छौं,” विभागका एक अधिकारी भन्छन्।
 
२६ मंसिरमा पोखरा महानगरपालिका ६ खहरेखोलाबाट पक्राउ परेको यो ४ सदस्यीय रुसी परिवार २८ मंसीरदेखि अध्यागमन विभागको हिरासतमा छ। होटल र कृषि मजदूरी गरेर पालिएको यो परिवारलाई शंकास्पद ठानेर गाउँलेले खबर गरेपछि अध्यागमन कार्यालय पोखराले पक्राउ गरी काठमाडौं पठाएको थियो।
 
यो परिवार अढाइ वर्षदेखि भिसाको म्याद गुजारेर नेपाल बस्दै आएको थियो। १२ अप्रिल २०१६ मा पर्यटक भिसामा काखे छोरो कोभिलिन्को बोग्दान लिएर नेपाल छिरेका रुसी दम्पतीले ११ महिनाअघि दोस्रो सन्तान इमेलिनलाई जन्म दिएका थिए।
 
अध्यागमन विभागले उनीहरुको नेपाल बसाईको ओभर स्टे (भिसा म्याद नाघेपछिको बसाइ) ९७७ दिन भएको जनाएको छ। अध्यागमन कानूनअनुसार भिसाको म्याद गुजारेर नेपाल बस्दा जनही प्रतिदिन ५ अमेरिकी डलर जरिवाना लाग्छ। त्यस्ता व्यक्तिलाई कारवाहीपछि उनीहरूको देश ‘डिपोर्ट’ गर्ने गरिन्छ।
 
दुई साताअघि अध्यागमन विभागले एक जर्मन नागरिक, उनकी चिनियाँ मुलकी श्रीमती र नवजात शिशुलाई पनि जर्मनी डिपोर्ट गरेको थियो।
 
Published on: 17 December 2018 | Himalkhabar

Back to list

;