s

अध्यागमन अधिकारीको कमजोरी : नक्कली सजिलै उम्कन्छन्, सक्कलीलाई सास्ती

सुरेशराज न्यौपाने, जनकराज सापकोटा

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आमयात्रुझैं प्रस्थान अनुमति लिएर रूपा नेगी नेपाल वायुसेवा निगम (नेवानि) को उडानमार्फत दिल्लीस्थित इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । दिल्लीबाट दुबई हुँदै ओमनको मस्कट जाने गरी उनले ओमन एयरको टिकट लिएकी थिइन् तर दिल्ली विमानस्थलमा ओमन एयरले राहदानी र ट्राभल डकुमेन्ट नक्कली भन्दै उनलाई फिर्ता पठाइदियो । जुन राहदानी र डकुमेन्ट देखाएर उनले काठमाडौंबाट उडान अनुमति पाएकी थिइन्, तिनलाई ओमन एयरले नक्कली भनिदियो ।

रूपाले नक्कली कागजातकै आधारमा काठमाडौंस्थित अध्यागमनबाट कसरी प्रस्थान अनुमति पाइन् ? किन अध्यागमन अधिकृतले उनले पेस गरेका कागजातको वैधता पुष्टि गर्न सकेनन् ? यो प्रकरणले विमानस्थलस्थित अध्यागमन अधिकारीहरूको कमजोरीलाई छर्लंग्याउँछ । यो प्रकरणमा कहाँ कमजोरी भएको थियो भनेर कालिकास्थानस्थित अध्यागमन विभागले अनुसन्धान जारी राखे पनि निष्कर्षमा पुगिसकेको छैन । यस्तै प्रकरण भदौ १ मा पनि भएको थियो । धनबहादुर तामाङ नेवानिको उडान नम्बर आरए २०७ बाट दिल्ली पुगेर त्यहाँबाट रसियन वायुसेवा एरोफ्लोटबाट रुसको मस्को जान हिँडेका थिए । सबै कागजात प्रमाणित गरेर दिल्ली ओर्लेका उनलाई पनि रूपालाई जस्तै एरोफ्लोटले नक्कली कागजात भन्दै फिर्ता पठाइदियो ।

भारतको कानपुर निवासी प्रशान्त पाण्डेको घटना यीभन्दा फरक छ । भदौ १ मा मतदाता परियचपत्र देखाएर दिल्लीबाट काठमाडौं ओर्लेका उनले विमानस्थलबाट बाहिरिने क्रममा म्याद गुज्रिएको राहदानी प्रयोग गरे । अध्यागमन अधिकारीले राहदानीको मिति नै नहेरी आगमन अनुमति दिए । यसरी काठमाडौं भित्रिएका उनी केही दिन घुमेर सोही राहदानीमा प्रस्थान अनुमतिको छाप लगाएर नेवानिकै जहाजबाट दिल्ली उडे । दिल्लीस्थित इन्धिरा गान्धी विमानस्थलका अध्यागमन अधिकारीले भने उनी मिति गुज्रिएको राहदानी प्रयोग गरेर विमानबाट यात्रा गरेको थाहा पायो । सोही घटनाका कारण विमानस्थलले निगममाथि एक लाख भारु जरिवाना तिर्नुपर्ने बताएको छ । यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । नक्कली कागजात पहिचान गर्ने बलियो प्रविधि नहुँदा र धेरैभन्दा धेरै यात्रुलाई सेवा दिनुपर्ने बाध्यतामा फसेका अध्यागमन अधिकारीबाट भएका त्रुटिका उदाहरण त छँदै छन् । सक्कली कागजात हुँदाहुँदै पनि उडान अनुमति नपाएर हैरानी खेपेका यात्रुहरूको सास्ती पनि उस्तै छ । भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका र फलोअपका लागि नियमित उडिरहनुपर्ने कैयौं यात्रुले यसरी अध्यागमन अधिकारीबाट अनावश्यक हैरानी खेपिरहेका छन् । मोरङ उर्लाबारीका जितबहादुर भण्डारीले एक महिनाअघि त्यस्तै दुःख खेपे ।

दिल्लीमै रहेका टंक भण्डारीले २५ वर्षीय भतिजाको साथ लगाएर आफ्ना वृद्धवृद्धा बाबुआमालाई दिल्ली ल्याउने चाँजो मिलाएका थिए । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकारीहरूले भतिज जितबहादुरलाई प्रस्थान अनुमति दिएनन् । त्यसको कारण थियो, नाता प्रमाणित नहुनु । वृद्धवृद्धा हजुरबा, हजुरआमालाई घुमाउन जान लागेको भन्दै उनले बिन्ती त बिसाए तर कसैले सुनेनन् । उनले हजुरबा र हजुरआमालाई दिल्ली पठाएर फर्किए तर भोलिपल्टै यो घटना अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलसमक्ष पुग्यो । महानिर्देशक पौडेलले हस्तक्षेप गरेपछि बल्ल उनले उडान अनुमति पाए । विमानस्थल अध्यागमन अधिकृतबाट यस्तै झमेलाको सामना गर्नुपर्‍यो, उदयपुरकी शान्ति राईले । ७ महिनादेखि उनी दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा एप्लेस्टिक एनिमियाको उपचारका लागि धाइरहेकी छन् । गत वैशाख दोस्रो साता बोनम्यारो ट्रान्सप्लान्ट गरेपछि उनलाई प्रत्येक महिना फलोअपका लागि अस्पताल धाउनुपर्ने बाध्यता थियो ।१२ असोजमा उनको पछिल्लो फलोअपको मिति तोकिएको थियो । एक्लै उडान गर्दा अप्ठ्यारो हुने भन्दै उनले छिमेकी सरिता अछामीलाई पनि आफूसँगै दिल्ली लैजाने व्यवस्था मिलाएकी थिइन् तर विमानस्थल अध्यागमन अधिकारीले उनलाई अनेक प्रश्न गर्दै हैरानी खेलाए । उनले अस्पतालमा जाँच गर्दाको कागजात पनि देखाइन् तर उनको कुरा सुनिदिने कोही भएन ।

‘एक महिनाअघि मात्र म त पहिले पनि नागरिकताबाटै आएको थिएँ । त्यो रेकर्डमा हेर्नू भन्दा पनि मानेनन् । चाहिँदा नचाहिँदा प्रश्न गरिरहे । आफ्नो स्वास्थ्य यस्तो अवस्थामा भएका बेला साह्रै नराम्रो लाग्यो,’ शान्तिले भनिन् । उनीहरूलाई करिब एक घण्टापछि अर्का अधिकृतसम्म पुर्‍याइयो । र, एउटा फारम भराएपछि मात्र उनीहरूलाई उड्न अनुमति दिइयो । केरकार गर्नुपर्नेहरू सजिलै उड्ने र सामान्य नागरिकले भने अनावश्यक हैरानी खेप्नुपर्ने घटना विमानस्थल अध्यागमनमा दोहोरिरहन्छन् । केही डेस्क अफिसरको कार्यदक्षताको कमी र यात्रुहरूको बढ्दो चापले पनि यस्ता घटना बेलाबेला सुनिने गरेको अध्यागमन विभागका महानिर्देशक पौडेल बताउँछन् । ‘यस्ता कमजोरीको रिभ्यु गर्न हामीले कमिटी नै गठन गरेका छौं र तुरुन्तै समाधानको पहल पनि गरेका छौं,’ उनले भने ।

कागजात हुँदाहुँदै पनि यात्रुले दुःख पाए भने आफूकहाँ सोझै आएर गुनासो राख्न सकिने पौडेलले बताए । विमानस्थलमा प्रत्येक दिन एक अध्यागमन अधिकारीले औसतमा तीन सय यात्रुका निम्ति सेवा दिनुपर्ने बाध्यता छ । बेलाबेला यात्रुको चाप एक्कासि बढ्ने र त्यस्तो बेला त्रुटि हुने जोखिम रहेको उनको भनाइ छ ।सामान्य यात्रुले दुःख पाइरहेका बेला विमानस्थल अध्यागमनकै कर्मचारीसँगको सेटिङमा यात्रुहरू उडेका घटना पनि बारम्बर सार्वजनिक हुने गरेका छन् । असार ११ मा द्वन्द्वग्रस्त लिबियाबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उद्धार गरी फर्काइएका आठै जनाले अध्यागमन सेटिङमा भिजिट भिसामा दुबई पुगेर त्यहाँबाट आफूहरू लिबिया पुगेको बताएका थिए ।

असार १९ मा क्यानडाको भिसा देखाएर सजिलै प्रस्थान अनुमतिको छाप लगाएर उडेका सिर्जन गौतम, नीरञ्जन पराजुली र प्रकाश भुसाल भोलिपल्ट गन्तव्य देश नै नपुगी बीचबाटै काठमाडौं फर्किए । चीनको गोन्जाओस्थित विमानस्थलमा कार्यरत चिनियाँ अध्यागमन अधिकारीले उनीहरूको भिसा नक्कली रहेको भन्दै अगाडिको उडान भर्न नमिल्ने भन्दै काठमाडौं नै फकाईदिएका थिए । उनीहरू फर्किएपछि मात्रै विमानस्थल अध्यागमन अधिकारीले नक्कली भिसाको भरमा उडान अनुमति दिएको तथ्य खुल्यो ।

बिग्रिरहन्छ सफ्टवेयर

विमानस्थल अध्यागमनले यात्रुहरूको विवरण राख्न प्रयोगमा ल्याएको इमी सफ्टवेयर बारम्बार बिग्रँदा पनि सेवा प्रभावित हुने गरेको छ । सफ्टवेयर ह्याङ हुने र इन्ट्री गरेको डाटा रेकर्डबाट हराउनेलगायतका समस्याले कहिलेकाहीँ नेपाल आएका विदेशीको तथ्यांक नरहने गरेको देखिन्छ । यस्तै भयो, असोज ७ गतेको रातिको सिफ्टमा । विदेशबाट आएका यात्रुको तथ्यांक इमी सफ्टवेयरमा राखेर उनीहरूको पासपोर्टमा आगमन अनुमति दिनुपर्ने थियो । तर सफ्टवेयरले काम नगर्दा कैयौं यात्रुको नाम सफ्टवेयरमा इन्ट्री नै भएन । सफ्टवेयरमा समस्या आएपछि त्यति बेला कार्यरत अध्यागमन अधिकारीहरूले यसबारे टिप्पणी नै उठाएर अध्यागमन विभागमा पठाएका थिए । आगमन अनुमति लिएर बाहिरिएका विदेशी कुनै आपराधिक क्रियाकलापमा मुछिए र त्यस्तो घटनाको अनुसन्धान गर्दा उनीहरूको रेकर्ड अध्यागमनमा नदेखिए अधिकृतहरू दोषी देखिने भन्दै त्यो दिन अधिकृतहरूले टिप्पणी नै उठाएका थिए ।

विमानस्थल अध्यागमनमा यात्रुहरूको रेकर्ड राख्ने काममा समस्या उत्पन्न भए पनि सन् २०१४ अगस्टदेखि अध्यागमन विभागले इमी अर्थात् इमिग्रेसन सफ्टवेयर प्रयोगमा ल्याएको थियो । तर प्रयोगमा आएको केही महिनादेखि नै सफ्टवेयरमा बारम्बार समस्या आउन थालेको विमानस्थल अध्यागमनका अधिकृतहरू बताउँछन् । अध्यागमन विभागका महानिर्देशक पौडेलले भने सफ्टवेयरमा यसअघि पनि समस्या आएका कारण त्यसको विकल्प खोजिसकिएको जानकारी दिए । विभागले मंसिर पहिलो साताबाट विशेष फिचर भएको नेपाली पोर्ट नामक सफ्टवेयर प्रयोगमा ल्याउने गरी काम अगाडि बढाइसकेको छ ।

Published on: 4 October 2019 | Kantipur

Link

Back to list

;