s

अध्ययनमै बाहिरियो वर्षमा ४० अर्ब

भवानीश्वर गौतम

नेपाली विद्यार्थीले गत वर्ष अध्ययनका लागि ६९ देश रोजे, ६० प्रतिशत विद्यार्थी अस्ट्रेलियामा

आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा वैदेशिक अध्ययनका लागि ४० अर्ब रुपैयाँ बाहिरिएको छ । अध्ययनका लागि बिदेसिने विद्यार्थीको संख्या बढिरहँदा बाहिरिने रकम पनि वृद्धि भइरहेको छ । राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार गत ११ महिनामा ४० अर्ब नौ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १९.७ प्रतिशत बढी हो । वर्ष ०७४/०७५ को ११ महिनामा शिक्षाका नाममा ३४ अर्ब २२ करोड ८३ लाख रुपैयाँ बाहिरिएको थियो ।

वैदेशिक अध्ययनका लागि वर्ष ०७४/७५ मा कुल ३८ अर्ब आठ करोड ९५ लाख र ०७३/७४ मा जम्मा ३५ अर्ब दुई करोड ४९ लाख बाहिरिएको थियो । यो वर्ष ६३ हजार दुई सय ५९ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । जसमध्ये ६० प्रतिशत अस्ट्रेलियाका लागि रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

केही वर्षयता नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्य अस्ट्रेलिया बन्ने गरेको छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार १ साउन ०७५ देखि ३१ असार ०७६ सम्म जारी भएका ६३ हजार दुई सय ५९ एनओसीमध्ये सबैभन्दा बढी अस्ट्रेलियाका लागि ३६ हजार तीन सय २४ छन् । यद्यपि, एनओसी लिने शतप्रतिशत विद्यार्थी बाहिरिँदैनन् ।

अस्ट्रेलियापछि नेपाली विद्यार्थीको रोजाइमा पर्ने गन्तव्यमा क्रमशः जापान, साइप्रस, भारत, चीन, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स छन् । एनओसी संख्याका आधारमा भारत तेस्रो प्रमुख गन्तव्य देखिन्छ । तर, अधिकांश विद्यार्थी एनओसीविनै भारत पढ्न जाने हुनाले यसको यकिन विवरण छैन ।

आर्थिक वर्ष ०७५/७६ मा नेपाली विद्यार्थीले ६९ देशका लागि अध्ययन अनुमति लिएका छन् । ब्रुनाई, हङकङ, केन्या, कुवेत, रोमानिया, स्लोभेनिया, श्रीलंका, तान्जानिया, युक्रेनका लागि भने एक–एकजना विद्यार्थीले मात्र एनओसी लिएका छन् । 

नेपाल भित्रिने रेमिट्यान्समा ठूलो हिस्सा विद्यार्थीको छ


डा. गुणाकर भट्ट
कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख, नेपाल राष्ट्र बैंक

विदेशमा अध्ययनका लागि जानेले पैसा खर्च मात्रै गर्दैनन् रेमिट्यान्स पनि पठाउँछन् ।

आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा कुल ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

यसमा ठूलो हिस्सा शैक्षिक भिसामा जानेहरूको समेत छ । विदेशमा अध्ययनका लागि बाहिरिने रकम र उनीहरूले पठाएको रेमिट्यान्ससँगै आर्जन गरेको ज्ञानको पनि मूल्यांकन गरिनुपर्छ ।

हामीले मानव पुँजीलाई पनि हेर्नुपर्छ, उनीहरूले सिकेको ज्ञान तथा लिएको अनुभव भोलि गएर मुलुकको विकासमै उपयोग हुने हो ।

जाापान र युएस जाने घटे, अष्ट्रेलिया र साइप्रस बढे

शिक्षा मन्त्रालयका अनुसार अघिल्ला वर्षमा धेरै विद्यार्थीको रोजाइमा परेका केही देशप्रति वर्ष ०७५/७६ मा विद्यार्थीको रुचि घटेको छ । जापान दोस्रो नम्बरमा कायम रहे पनि विद्यार्थी संख्या घटेको छ । वर्ष ०७४/७५ मा जापान अध्ययनका लागि १० हजार तीन सय ६३ जनाले एनओसी लिएकोमा ०७५/०७६ मा घटेर आठ हजार पाँच सय २३ मा झरेको छ । अघिल्लो वर्ष चौथो नम्बरमा रहेको अमेरिका सातौँ नम्बरमा झरेको छ । ०७४/७५ मा अमेरिकाका लागि एक हजार सात सय ७४ ले एनओसी लिएकोमा पछिल्लो वर्षमा एक हजार चार सय ९१ जनाले मात्र लिएका छन् । अस्ट्रेलियाका लागि एनओसी लिनेको संख्या अघिल्लो वर्षको तुलनामा चार हजार दुई सय सातले बढेको छ ।

साइप्रस जाने अत्यधिक बढे, युएई १०औँ गन्तव्य

साइप्रस नेपाली विद्यार्थीको प्रमुख गन्तव्यका रूपमा उदाएको छ । अघिल्लो वर्षभन्दा गत वर्ष साइप्रसका लागि एनओसी लिने विद्यार्थीको संख्या तीन गुणा बढेको छ । वर्ष ०७४/७५ मा साइप्रसका लागि सात सय ४१ विद्यार्थीले एनओसी लिएकामा ०७५/७६ मा यो संख्या बढेर दुई हजार तीन सय दुई पुगेको छ । शिक्षा मन्त्रालयका अधिकारीका अनुसार साइप्रस जान सजिलो रहेको र त्यहाँबाट युरोपलगायतका देशमा जानसमेत सहज भएकाले यो देशप्रति नेपाली विद्यार्थीको रुचि बढेको हो ।

नेपाली कामदार जाने देशका रूपमा चिनिएको युएईमा अध्ययनका लागि जाने क्रम पनि बढ्दो छ । आर्थिक वर्ष ०७५/७६ मा नेपालीको १०औँ आकर्षक देशमा युएई परेको छ । एक वर्षको अवधिमा युएईमा अध्ययनका लागि आठ सय ४१ जनाले एनओसी लिएका छन् ।

नेपाली विद्यार्थी माल्टादेखि बोस्निया हर्जगोभिनासम्म

शैक्षिक गन्तव्यका रूपमा नचिनिएका मुलुक र नेपालभन्दा आर्थिक र शैक्षिक रूपमा कमजोर देशमा समेत नेपाली विद्यार्थी अध्ययनका नाममा जाने गरेका छन् । त्यसमध्ये एक हो माल्टा । गत वर्ष तीन सय ४२ नेपाली विद्यार्थीले माल्टाका लागि नो अब्जेक्सन लेटर लिएका छन् । स्लोभेनिया, कुवेत, केन्या, इजिप्ट, इस्टोनिया, लिथुवानिया, दक्षिण अफ्रिका, अजरबैजान, किर्गिजस्तान, स्वाजिल्यान्ड, इन्डोनेसियामा पनि नेपाली विद्यार्थी पढ्न गएका छन् । अन्टिगुवा एन्ड बर्बुडा, भियतनाम, बोस्निया हर्जगोभिना, अर्मेनिया, कोस्टारिका, तान्जानियालगायतका देशमा नेपाली विद्यार्थी गएका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख महेश्वर शर्माले पढाइसँगै रोजगारी गर्न चाहने भएकाले विदेश अध्ययनमा जान चाहनेको संख्या बढेको बताए । उनले आवश्यक कागजात पुगेपछि शिक्षा मन्त्रालयले एनओसी दिनुपर्ने बाध्यता रहेको बताए ।

यसकारण बाहिरिने विद्यार्थी बढ्दै छन्


रामशरण सापकोटा, सहसचिव, शिक्षा मन्त्रालय

शिक्षासँगै कमाइ पनि गर्न ।

विदेश अध्ययन सामाजिक प्रतिष्ठासँग जोडियो । एकपटक भए पनि विदेश जाऔँ भन्ने विद्यार्थी र अभिभावकमा भावना विकास भएको पाइन्छ ।

विदेश पढेर नेपाल आएमा फरक हुन सकिन्छ भन्ने भावना छ । नेपालमै पढेर राम्रो गर्न सकिन्छ भन्ने वातावरण बनाउन नसक्नुको कारण पनि विदेश अध्ययनमा जाने बढेका हुन् ।

नेपालका विश्वविद्यालयले विद्यार्थीको चाहनाअनुसारको पाठ्यक्रम तयार गर्न नसकेर पनि विदेशमोह बढेको हुन सक्छ । नेपालमै राम्रो छ भनेर विश्वस्त बनाउन सकिएन ।

कुन देशमा कति ?

अष्ट्रेलिया : ३६३२४
जापान : ८५२३
साइप्रस : २३०२
भारत : २०५९
चीन : १८८१
क्यानडा : १६७१
अमेरिका : १४९१
न्युजिल्याण्ड : १३८५
दक्षिण कोरिया : ११९८
युएई : ८४१
फ्रान्स : ७८६
बंगलादेश : ६२८
जर्मनी : ५१६
थाइल्याण्ड : ५१२
युके : ३५०
पोल्याण्ड : ३४६
माल्टा : ३३९
डेनमार्क : २५०
बहराइन : १९३
फिनल्याण्ड : १७९
रसिया : १६९
मलेसिया : १६१
नर्वे : १४८
फिलिपिन्स : १२६
आयरल्याण्ड : १०४
लक्जेम्बर्ग : ९०
स्वीडेन : ८७
टर्की : ७३
नेदरल्याण्ड : ६१
हंगेरी : ४८
कतार : ४५
लाटभिया : ४१
चेक रिपब्लीक : ३३
साउदी अरेविया : २८
स्पेन : २४
लिथुवानीया : २०
माल्दिभ्स : २०
पाकिस्तान : २०
स्टोनिया : १९
इटाली : १९
दक्षिण अफ्रिका : १७
पोर्चुगल : १६
स्वीजरल्याण्ड : १४
ग्रिस : ११
सिंगापुर : १०
बेल्जियम : १०
इजिप्ट : ९
इङ्ल्याण्ड : ९
अष्ट्रिया : ८
अजरबैजान : ७
सेन्ट भिन्सेन्ट : ४
इजरायल : ४
इन्डोनेसिया : ३
स्वाजिल्याण्ड : ३
क्रिगिस्तान : ३
भियतनाम : ३
एन्टिगुवा एण्ड बर्बुडा : ३
अर्मेनिया : २
बोस्निया एण्ड हर्जगोभिना : २
कोष्टारीका : २
ब्रुनाई : १
हङकङ : १
केन्या : १
कुवेत : १
रोमानिया : १
स्लोभेनिया : १
श्रीलंका : १
लान्जानिया : १
युक्रेन : १

Published on: 23 July 2019 | Naya Patrika

Back to list

;