s

अध्ययनका लागि मात्र ४७ अर्ब बाहिरियो

नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिने क्रम बढेपछि ठूलो धनराशि बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को पाँच महिनामा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ४७ अर्ब ३५ करोड रूपैयाँ लगेका छन्।

विदेश गएर अध्ययनसँगै रोजगारीको अवसर सिर्जना हुने भएकाले विद्यार्थीहरू विदेश जाने क्रम वृद्धि हुँदा रकम बाहिरिने क्रम पनि बढेको हो । गत आर्थिक वर्षको पाँच महिनामा शिक्षाका लागि २८ अर्ब ८१ करोड रूपैयाँ बाहिरिएको यो वर्षको सोही अवधिमा करिब १८ अर्ब ५४ करोड रूपैयाँ बढेको छ।

विदेश जाने रकम बढेपछि अर्थतन्त्रका अन्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। नेपाली वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विदेशबाट आउने रकम पनि बढेको छ।

पोहोरको तुलनामा चालु आवको पाँच महिनामा विदेशी विप्रेषण आप्रवाहमा पनि २७.६ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा ६ खर्ब १३ अर्ब २५ करोड रूपैयाँ आएको छ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ७३ हजार पाँच सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख चार हजार ३७ जना रहेको छ। पोहोर सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ३६ हजा सात सय ७९ र एक लाख १५ हजार नौ सय ४८ रहेको थियो।

मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या कायम रहे पनि अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार आएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.१ महिनाको वस्तु तथा आयात धान्ने जनाइएको छ।

राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब चार करोड रूपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारसम्म ११ अर्ब ७१ करोड डलर रहेकोमा मंसिर मसान्तसम्म १३.६ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड रूपैयाँ पुगेको छ।

पोहोरको तुलनामा यो वर्ष सरकारको चालु खातामा उल्लेख्य सुधार आएको छ। मंसिरसम्म चालुखाता एक सय ४० अर्ब २३ करोड रूपैयाँले बचतमा पुगेको छ। पोहोर मंसिरमा ४१ अर्ब २१ करोड रूपैयाँले घाटामा रहेको चालु खाता यो वर्षको मंसिरमा एक सय ४० अर्ब २३ करोड रूपैयाँ बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा पुगेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई दुई अर्ब ८७ करोड रूपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ९२ करोडले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक रहेको थियो।

त्यसैगरी, शोधनान्तर स्थिति दुई सय १० अर्ब ५९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रूपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा रहेको छ।

राष्ट्र बैंकका अनुसार महँगी घटेको छ। समीक्षा अवधिमा उपभोक्ता मूल्य वृद्धिदर पाँच प्रतिशतभन्दा तल झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। साउनदेखि मंसिर मसान्तसम्मको उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ४.९५ प्रतिशत रहेको छ।

गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो। पोहोरको तुलनामा यो वर्ष घ्यु, तेल, तरकारी, माछा, मासु उपसमूहको वस्तुहरूको मूल्यमा कमी आएको, फलफूल, मरमसला, चिनीजस्ता वस्तुको मूल्य घटेका कारण समग्र मूल्य वृद्धिदरमा कमी आएको हो।

राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाको मूल्यवृद्धिदर ५.४२ प्रतिशत, तराईको ४.२६, पहाडको ५.४२ र हिमालको ७.४६ प्रतिशत रहेको छ। वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.६३ प्रतिशत रहेको छ। पोहोरको सोही महिनामा यस्तो मुद्रास्फीति ९.१५ प्रतिशत रहेको थियो ।

Published on: 12 January 2024 | Nagarik

Link

Back to list

;