s

‘अचानक मृत्यु’ को कारण बुझ्न मलेसिया

मलेसिया आएको सरकारी चिकित्सकसहितको नेपाली टोलीले यहाँ नेपाली कामदारको ‘अचानक मृत्यु’ हुनुको कारण पत्ता लगाउन विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसँग छलफल गरेको छ । कामदारको स्वास्थ्य समस्या बुझ्न पहिलो पटक मलेसिया आएको टोलीले मंगलबार नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, नेपाली व्यवसायी समाजलगायत नेपाली संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र श्रमिकसँग यस विषयमा जानकारी लियो । 

क्वालालम्पुरमा गैरआवासीय नेपाली संघ मलेसियाले आयोजना गरेको अन्तक्र्रियामा टोलीका सदस्यहरूले नेपाली कामदारको सुतिरहेको अवस्थामा हुने गरेको उच्च मृत्युदर र यसका सम्भावित कारणबारे खोजबिन गर्नु जरुरी रहेको बताए । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका नेपालीमध्ये दिनहुँ एक जनाको विभिन्न कारण मृत्यु हुने गरेको छ । 

अधिकांशको सुतेकै अवस्थामा मृत्यु हुने गरेको छ । टोलीले गत जुन ३० मा मलेसियामा यसरी मृत्यु भएकाको पोस्टमार्टम गरेका चिकित्सिकसँग समेत भेट्ने प्रयास गरे पनि तत्काल सम्भव नभएको बताए । ‘सुतेकै अवस्थामा मृत्यु भएको विषयमा पोस्टमार्टम गर्ने चिकित्सकसँग पनि थप जानकारी लिने प्रयासमा थियौं तर अहिले सम्भव देखिएन,’ टोलीका सदस्य डा. रामेश कोइरालाले भने, ‘त्यस्तै केस हेर्ने युनिभर्सिटी हस्पिटलका चिकित्सकसँग भने भेट्दै छौं ।’

टोलीमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा. केदार बराल, सहिद गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सनद केसी, राजु पोखरेल र श्रम मन्त्रालयबाट अर्जुन खनाल छन् । 

Published on: 6 July 2017 | Kantipur

Back to list

;