s

आबुधाबीस्थित दुतावासको सेल्टरमा ४ जना युवती, भारत हुदैँ युएइ पुग्दा समस्या

प्रकाश ढुंगाना

सोलुखुम्वुकी २२ वर्षीया एक युवती सात महिनाअघि हाउस किपिङमा काम गर्ने भन्दै युएइ पुगिन् । उनी भारतको दिल्ली हुदैँ दुबइ पुगेकी थिईन। त्यहाँ पुगेपछि उनलाई हाउस किपिङमा होइन, हाउस मेडमा काम लगाइयो । रातको २ बजे सुतेर विहान ५ बजे उठ्नु पर्दथ्यो। पछिल्लो समय घरका मालिक अरेविले श्रीमती नभएको मौका छोपेर उनीमाथि  यौनहिंसा गरे। उनलाई त्यो ठाउँ कसरी छाड्ने चिन्ता लाग्न थाल्यो। घर मालिकले बाहिर जान नदिने, मोबाइलसम्म खोसेर राख्ने गर्दथे।

अरेवियनले जर्वजस्ती गर्न खोज्दा नमान्दा आफूलाई किनेर घरमा ल्याएको बताउँदै कुटपिट गर्ने  उनले सुनाइन्। २ साताअघि  उनी भागेर आबुधाबीस्थित नेपाली दुतावासमा पुगिन्। उनी अहिले दुतावासको महिला सेल्टरमा छिन्। ९ सय दिराम तलव सुविधा पाउने प्रलोभन देखाएर सुदीप गुरुङ नाम गरेका एक जना एजेन्टले आफुलाई दुबइ पुर्याएको उनले बताइन् ।
 
काठमाडौंबाट प्लेनमा भरतपुर र गाडीबाट नेपालगंज हुदैँ आफूलाई गुरुङले दिल्ली पुर्याइएको उनले सुनाइन्। उनीजस्तै सेक्स ह्यारेसमेन्ट भोगेर भागेर नेपाल आएका दर्जनौ युवतीहरुलाई दुतावासले विभिन्न संघ संस्थासँग मिलेर स्वदेश पठाइदिएको छ । अहिले दुतावासमा उनीसँगै उनको जस्तै समस्या पाएका ४ जना युवती छन् । तनहुँकी एक युवतीलाई पासपोर्ट समेत राजु लामा नाम गरेका एक एजेन्टले १ वर्ष अघि बनाइदिए। ३ वर्षे छोरी घरमा राखेर उनी शारजाह पुगिन् । ९ सय दिराम मासिक रुपमा पाउने भनिएतापनि १० महिना भयो उनले तलव पाइनन् । तलव पनि नपाइने र घर मालिक पाकिस्तानीले यौन हिंसा गर्न थालेपछि उनी पनि भागेर दुतावास आइपुगेकी हुन् ।
 
उनलाई एजेन्टले इलामको पशुपतिनगर नाका हुदैँ दिल्ली पुर्याएको थियो। युएइको आबुधावीस्थित नेपाली दुतावासको सेल्टरमा छिन् । राई थरकी ती युवती अवैधानिक तरिकाबाट भारत हुदैँ दुबइ पुगेकी हुन्। ‘वैध अवैध जुनबाटोबाट नेपाली युएइ आएपनि उनीहरुलाई उद्धार गर्ने काम दुतावासको हो,’ युएइका लागि कार्यवाहक राजदुत सागर प्रसाद फुयालले सेतोपाटीसँग भने, ‘सेल्टरमा रहेका युवतीलाई पनि स्वदेश पठाउने प्रक्रिया भइरहेको छ, उनीहरु चाँडै स्वदेश पुग्छन्।’
 
श्रम सहचारी भेषबहादुर कार्कीले युवतीका समस्याहरु सुझबुझ गरेर ट्राभल डकुमेन्ट बनाइ उनीहरुलाई स्वदेश पठाइन लागेको बताए।युएइमा अहिले झण्डै ४ लाखको हाराहारीमा नेपाली छन् । त्यसमा डेढ लाखजति महिला कामदार रहेको अनुमान छ । हाउस मेडमा काम गर्न गएका ७० प्रतिशतभन्दा बढी यौन हिंसाको शिकारमा पर्ने गरेको त्यहाँका नेपाली ब्यवसायीहरुले बताएका छन् । केही महिना अघि गोरखाकी एक युवतीले पनि यौन हिंसा सहन नसकेर आत्महत्या गरेकी थिइन् ।
 
युएइमा महिलामाथि यौनजन्य कृयाकलाप भए त्यहाँको कानुन कडा छ। तर डरका कारण हाउसमेडमा पुगेका युवतीहरुले प्रहरीलाई खबर गर्न सक्दैनन् । युएइमा यौनहिंसासँगै समस्यामा परेका युवती एक महिनामा ७ जनाभन्दा बढी दुतावासको सेल्टरमा पुग्छन् ।
 
Published on: 26 January 2018 | Setopati

Back to list

;