s

'आबुधाबी डायलग'मा नेपालले राख्यो साउदी र कतारसँग श्रम सम्झौता प्रस्ताव

संयुक्त अरब इमिरेट्स (युएई) को 'आबुधाबी डायलग'मा नेपालले कतार र साउदीसँग श्रम सम्झौताका लागि प्रस्ताव गरेको छ। साउदीले पनि नेपालको प्रस्तावमा सकारात्मक धारणा राखेको छ।

यसअघि पनि नेपालले श्रम सम्झौताका लागि साउदीलाई पटक पटक प्रस्ताव राखेको थियो। तर पनि साउदीले कतिपय कुरामा असहमती जनाउँदा सम्झौता हुन सकेको छैन।

साउदीमा ठूलो संख्यामा नेपाली श्रमिक जाने गरेका छन्। सरकारले केही वर्षअघि नै मलेसिया तथा साउदी लगायत खाडी मुलुकमा फ्री भिसा फ्री टिकटमा श्रमिक पठाउने घोषणा गरिसकेको छ। तर यसमा साउदीले पनि चासो देखाएको छैन। आइतबार आबुधाबी डाइलडमा भने साउदीले एक महिनाभित्रै सम्झौता गर्ने आश्वासन दिएको छ।

नेपाल पक्षले साउदी तथा कतारलाई श्रमिक भर्ना प्रक्रिया स्वच्छ हुनुपर्ने प्रस्ताव गरेको छ। श्रमिकको बिमा, सामाजिक सुरक्षा, पेशागत सुरक्षा लगायत हकअधिकार पनि सुनिश्चित हुनुपर्ने कुरा नेपाल पक्षले उठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए।

त्यस्तै साउदीले सिपयुक्त जनशक्ति उत्पादनका लागि तालिम केन्द्र स्थापनामा सहयोग गर्ने जनाएको छ। श्रमिक साउदी पठाउँदा सिप र भाषा सिकाएर पठाउन सहकार्य गर्ने साउदी पक्षले विश्वास दिलाएको छ।

कफला प्रणाली तथा विभिन्न कारणले ज्यान गुमाएका श्रमिकको शव जतिसक्दो छिटो नेपाल ल्याउने कुरामा साउदीले सहजीकरण गर्ने छलफल भएको सहसचिव पोखरेलले जानकारी दिए। उनका अनुसार साउदीस्थित विभिन्न रोजगारीका अवसरमा महिलाको सहभागिता सुनिश्चित गर्न हस्पिटालिटी, केयर गिभर, हेल्थ वर्कफेस जस्ता क्षेत्रमा सुरक्षित र सम्मानित अवसर उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

आइतबार (आजै) नेपाल र कतारबीच साइडलाइन बैठक पनि थियो। बैठकमा कतारी अमिर तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण मौका पारेर श्रम सम्झौतामा हस्ताक्षर हुने सहमती जुटेको छ।

कतारी अमिर गत कात्तिकमा नेपाल भ्रमण आउने मिति तय भएको थियो। पछि स्थगित भएको थियो। अब भ्रमणमा आउने र सोही अवसरमा सम्झौतमा हस्ताक्षर हुने उल्लेख छ। कतारसँग यसअघि सन् २००३ मा द्विपक्षीय श्रम सम्झौता भएको थियो। सम्झौतालाई समयानुकुल श्रमिकमैत्री बनाउन पुनरावलोकन गर्न लागिएको हो।

कतारी पक्षले पनि नेपालबाट घरेलु कामदार लैजाने इच्छा व्यक्त गरेका थियो। घरेलु कामदारका लागि आवश्यक सुरक्षाका व्यवस्था पर्याप्त हुँदा भाषा र सीप सिकाएर पठाउने व्यवस्था गर्न आग्रह कतारी पक्षले गरेको छ। सिप सिकाउने विषयमा सहकार्य गर्न कतारी पक्ष तयार रहेको अधिकारीहरुले बताएका थिए।

Published on: 12 February 2024 | Setopati

Link

Back to list

;