s

अभिमुखीकरण तालिम पुनः बन्द

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २९ गते । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने भौतिक उपस्थितिमा दिइने अभिमुखीकरण तालिम पुनः बन्द गरेको छ । कोरोना महामारीको सङ्क्रमण बढ्दै गएको भन्दै उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरूले साउन २८ देखि भदौ ८ सम्म निषेधाज्ञा थप गर्दै यस्ता तालिम सञ्चालनमा रोक लगाएको छ ।

जसअनुसार बिहीबार (साउन २८) गतेदेखि विदेश जानेले भौतिक उपस्थितिमा तालिम दिन पाउने छैनन् । हाल विदेश जानेहरूले हाल दुुई दिने भौतिक उपस्थितिमा नै तालिम लिनुपर्ने बाध्यता छ तर तालिम नै लिन नपाउने भएपछि विदेश जानका लागि अन्तर्वार्ताबाट छनोट भएका, भिसा आएका श्रमिकले श्रम स्वीकृति लिन पाउने छैनन् ।

अभिमुखीकरण तालिम प्रदायक संस्था देशका विभिन्न जिल्लामा सञ्चालनमा रहे पनि धेरै सङ्ख्यामा काठमाडौँ उपत्यकामा नै रहेका छन् । यद्यपि काठमाडौँ उपत्यकामा तालिम लिन निषेध भए पनि अन्य जिल्लामा रहेका तालिम केन्द्रबाट तालिम लिन सकिने अवस्था भने कायमै छ ।

हाल प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, यूएई, कुवेत र बहराइनलगायत देशले नयाँ नेपाली श्रमिक लिएका छैनन् । साउदी, कतार, रोमानियालगायत केही देशले मात्र विभिन्न मापदण्ड बनाएर नेपाली श्रमिक लिइरहेका छन् ।

Published on: 13 August 2021 | Gorkhapatra

Link

Back to list

;