s

अभिमुखीकरण प्रभावकारी नहुँदा कामदार समस्यामा

तुलसी सुवेदी

 

काठमाडौं : वैदेशिक रोजगारीमा प्रस्थान गर्नुपूर्व अभिमुखीकरण गर्ने प्रावधान भए पनि प्रभावकारी हुन नसक्दा वैदेशिक रोजगारीमा कार्यरत कामदार समस्यामा पर्दै आएका छन् ।

कामदार विदेश जाँदा सम्बन्धित देशको रहन, सहन, संस्कृति, मौसम, लगायत विविध विषयमा अभिमुखीकरण दिइन्छ तर कामदारले सामान्य कुरा पनि जानकारी नराख्दा समस्यामा पर्दै आएका छन् ।

नेपाल वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले प्रस्थान पूर्वको अभिमुखीकरण तालिममा प्रचण्ड गर्मीमा काम गर्ने कादारलाई धेरै चिसो नखान र धेरै चिसोमा नसुत्न सिकाइन्छ । मृत्यु भएका अधिकांश कामदार न्युनतम तापक्रममा सुत्ने गरको कारण  मृत्युको कारण ‘सुतेको सुत्यै’ देखिएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा मृत्यु हुने क्रम बढेको छ । सामान्य विषयमा पनि ध्यान दिन नसक्दा दुर्घटनामा पर्ने, तापक्रममा तालमेल नहुँदा सुतेको सुत्यै मृत्यु हुने गरेको छ ।

बोर्डले अभिमुखीकरणलाई प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जन तयारी गरेको छ । परिमार्जित पाठ्यक्रममा कार्यस्थल दुर्घटना, शारिरिक तथा मानसिक तनाव व्यवस्थापन देखि देशगत म्यानुअल तयार गरेर शारीरिक क्षति कम र अधिकतम आर्थिक लाभको निति लिइएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

गन्तव्य मुलुकको आवश्यकता र नेपालमा प्रदान गरिने तालिमबीच तालमेल हुन नसक्दा कामदारले क्षति बोहोरिरहेका छन् । अभिमुखीकरण प्रभावकारी बनाउन सके दुर्घटना न्यूनिकरण गर्न सकिने, परिश्रम अनुसारको तलव पाउन पनि सहज हुने लगायतका फाइदा हुन्छ ।

हाम्रो सम्मान परियोजनाको संयोजनमा वैदेशिक रोजगार पत्रकार समाजले  आयोजना गरेको ‘प्रस्थान पूर्वको अभिमुखीकरण तालिमको प्रभावकारीता’ भर्चुअल कार्यक्रममा बोल्ने वक्ताहरुले अभियमुखीकरणलाई प्रभावकारी बनाउन आवश्यक भइसकेको बताए ।

 नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी  महासंघका अध्यक्ष राजाराम गौतमले प्रस्थानपूर्वको तालिमलाई प्रभावकारी बनाउन नियमन निकायहरुका तर्फबाट काम हुननसकेको बताए ।

 तालिममा कामदारको अनिवार्य  उपस्थिती गराउने प्रावधान ल्याएपनि त्यसको सही रुपमा कार्यान्वयन नभएको उनले स्वीकार गरे ।

अध्यक्ष गौतमले वैदेशिक रोजगार प्रवर्धन बोर्डले पाठ्यक्रम सुधार गरेर समय सापेक्ष गराउने बताए पनि महासंघ सहित सरोकारवालासंग प्रयाप्त छलफल नगरेको गुनासो गरे ।

वैदेशिक रोजगार ऐन, नियमावली, कार्यविधि र पाठ्यक्रममा धेरै समस्या भएपनि त्यसलाई संवोधन गर्न राज्यका निकायकाबाट चासो नदेखाएको उनले बताए ।

बोर्डले बनाएको कार्यविधिमा तालिमकेन्द्र सार्न नपाइने व्यवस्थाले समस्या ल्याउने महासंघले जनाएको छ । ‘अधिकांश अभिमुखीकरण तालिम प्रदायक सस्थाको आफ्नो घर छैन, घरधनीले हट्न भने पछि व्यवसायीलाई कार्यालय सार्नुको विकल्प छैन तर बोर्डले त्यस्ता अव्यवहारिक प्रावधान हटाउन चहँदैन । जसका कारण  व्यवसायहिरुले समस्या झेलिरहनु परिरहेको छ’, उनले भने । 

कार्यविधिमा एउटा कक्षमा २५ जना  राखेर प्रशिक्षण दिनुपर्ने व्यवस्था रहेपनि  सात सयमात्र शुल्कले व्यवसाय सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ ।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले  वैदेशिक रोजगारीका क्रममा अंगभंग, औषधोउपचारको क्षतिपूर्ति र सहयोगका लागि आउने निवदेनकमा उल्लेखित कारणले प्रस्थान पूर्वको अभिमुखीकरण तालिमको वैदेशिक रोजगार ऐनले अपेक्षा गरेका प्रभावकारी नदेखिएको बताए ।

बोर्डले सबै पक्षसँग छलफल गरेर कार्यविधि सुधार गरेको र बोर्ड बैठकले पनि त्यसलाई अनुमोदन गरिसकेको उनले जानकारी गराए । उक्त कार्याविधि आउने महिनाबाट कार्यान्वयनमा ल्याई प्रस्थान पूर्वको अभिमुखीकरण तालिमको प्रभावकारीता ल्याउने उनले प्रतिवद्धता जनाए ।  

Published on: 31 December 2020 | Annapurna Post

Link

Back to list

;