s

अभावले विदेश पठायो, विदेशले मेहनत गर्न सिकायो र उद्यमी बनायो

 संगम घर्तीमगर

 

जिल्लाको गलकोट नगरपालिका—९ मल्म छिसकी मौरी पालक किसान प्रेमकुमारी पुनको अहिले चर्चा छ। चर्चा पनि हुने नै भयो, अहिले उनी गलकोटकै उत्कृष्ट महिला उद्यमी बनेकी छिन्। अहिले सबैले उनको बारेमा चासो राखेका छन्। उनको बारेमा सोधी खोजी भएको छ। तर केही वर्ष अगाडिसम्म उनी गुमनाम थिईन्। उनलाई न कसैले चिन्थे न त कसैले सोधी खोजी नै गर्थे। भर्खर २७ वर्ष पुगेकी प्रेमकुमारीले जीवनका निकै अप्ठ्यारा र डरलाग्दा उकाली ओराली र घुम्तीहरु पार गरेकी छिन्। भर्खर विद्यालय पढ्ने उमेर थियो। रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका-११ रिघामा कक्षा ९ मा पढ्दै थिईन्।  

उनले लेखपढ गर्न सिकेको किटेनी प्रावि बडिगाड-३ सिसाखानीबाट हो। उनको पुर्ख्याैली घर पनि सिसाखानी हो। साउनखोलामा बस्ने भएपछि तुलनात्मक रुमा विद्यालय रिघामा नजिक पर्थ्याे। त्यसले गर्दा पनि उनी रिघामा माध्यमिक शिक्षाका लागि पुग्ने गर्थिन्। जिन्दगी सरल रेखामा बग्दैन। बक्र रेखामा बग्दै गरेको जिन्दगीले उनलाई सानै उमेरमा प्रदेशका चक्कर कटायो। ठक्कर खुवायो अनि यही जिन्दगीले मेहनत गर्न सिकायो र उद्यमी बनायो। प्रेमकुमारीको विद्यार्थी जीवन अगाडि बढ्दै थियो। घरकी जेठी छोरी दिदीको बिहे भयो। उनी कान्छी छोरी। दाजुभाई छैनन्। बा-आमा एकैचोटी विरामी परे। ऋणधन गरेर औषधि गर्दा लाखौं रुपैयाँ ऋण लाग्यो। भर्खर कक्षा ९ मा पढ्दै गरेकी प्रेमकुमारी सबै छाडेर साउदी जान बाध्य थिईन्। 

घरमा सायद दाजुभाई भएको भए प्रेमकुमारी त्यसरी प्रदेश जानुपर्ने थिएन होला। छोरी भए पनि छोराको जिम्मेवारी बोकेर उनी साउदी अरब पुगिन्। यहाँबाट जाने बेला क्लिनर भनेर भिजा लागेको थियो। त्यहाँ पुगेपछि औषधिको गोदाम व्यवस्थापन गर्नुपर्ने भो। म्याद सकिएका र म्याद भएका औषधिहरु छुट्याउनुपर्ने काम गर्नुपर्‍यो। उनी भन्छिन्,‘२०७२ सालमा साउदी गएँ, पढ्ने धेरै धोको थियो, पढाई पूरा गर्न सकिन। क्लिनर भनेर गएको औषधि मिलाउने काम पर्‍यो। काम गाह्रै भयो।’ साहुको ऋण तिर्नका लागि दिनरात मेहनत गर्दै थिईन्। यता घरपरिवारलाई फेरी दैवदशा लाग्यो। २०७३ सालको असारमा मोटरबाटो खनेको माटोले बाढीको रुप लिएर उनकै परिवारमाथि बज्रियो। संयोग दिनको समयमा परेकाले मानवीय क्षति भएन।  

थोरै खाने अन्नपात र भैंसी बाख्रा जोगाउन सके पनि उनको घर गोठ र सिंगो बारी नै बाढीले बगरमा परिणत गरिदियो। प्रेमकुमारीका बुबा यामबहादुर पुन भन्छन्,‘केही अन्न र दिंगा बाच्छा जोगायौं, घरगोठ र १२/१५ मुरी धान फल्ने खेत सबै बगर बन्यो। दिउँसो समयमा भएर हामी बाँचियो रातीमा भएको भए सबै सखाप भईने रहेछ।’ यामबहादुरले २०६१ सालदेखि नै अलिअलि मौरी पाल्दै आएका थिए। बाढीले घर बगाउँदा उनले १५ घार मौरी बनाएका थिए। बाढीले बगाएपछि जम्मा २ घार मौरी बचेछ। ‘मैले त केही मेसो पाईन, उद्धार गर्न आएकाहरुले दुई घार मौरी जोगिएछ भनेर ल्याईदिएका थिए,’ यामबहादुर भने।  

यता बाढी पहिरोले घरबास नै उठाएर सुकुम्बासी बनाएपछि प्रेमकुमारी घर फर्कन बेचैन् भईन्। तीन वर्षका लागि भिजा लगाएर गएकी उनी तत्काल फर्कन अवस्था थिएन। साउने खोलाबाट विस्थापित भएको उनको परिवार गलकोट नगरपालिका-१० पाण्डवखानीको ढुङ्गीलमा गएर अरुकै घरमा बस्न थाले। यामबहादुरले त्यहाँ पनि मौरी पालन गर्न थाले। बाढी पहिरोबाट जोगिएको दुई घार मौरीलाई १५/२० घार पुर्‍याए। घरधनीसंग कुरा नमिलेपछि त्यहाँ मौरी पालेर बस्ने वातावरण भएन। तीन वर्षको अवधी पूरा भएपछि प्रेमकुमारी साउदीबाट फर्किईन्। ‘साउदीमा तीन वर्ष बस्दा १२/१५ लाख रुपैयाँ त कमाएँ होला, तर सबै सावाँ ब्याज तिर्दा ठिक्क भयो, ऋण सकिएपछि मलाई त्यो ठाउँमा फर्केर जान मन लागेन। मरे बा-आमासंगै मर्छु बाँच यही संगै बाँच्छु भनेर यही बस्ने निधो गरें,’ प्रेमकुमारी भन्छिन्। 

त्यसपछि प्रेमकुमारीले बा-आमालाई लिएर गलकोट नगरपालिका-९ मल्मको छिसमा लिएर आईन्। ऋणधन गरेर सानो झुप्रो र केही जग्गा लिईन्। अनि सुरु भयो उनको व्यवसायीक मौरी पालन यात्रा। सुरुमा बाबाले पालेको मौरीमा लगानी गरिन्। २५ हजार रुपैयाँ लगानी गरेर ३० घार मौरी बनाईन्। व्यवसायिक रुपमा मौरी पालन गर्ने योजनाका साथ टीका व्यवसायीक माहुरी पालन पालन फार्म दर्ता गरिन्। पहिले देखि नै मौरीसंग घुलमिल भएका कारण उनलाई मौरीपालनका लागि तालिम लिनु परेन। उनको बुबाको काठमाडौं स्थित गण्डकी बी कन्सर्न मौरीपालन फार्ममा उनको बुबाले चिनेको व्यक्ति थिए। त्यही गएर एक हप्ताजति मौरीलाई गर्नुपर्ने स्याहार सुसारको बारेमा सिकिन्। 

अहिले उनलाई मौरीका लागि आवश्यक सबै स्याहार सम्भार गर्न आउँछ। मौरीको घार फुटाउने देखि मह काढ्ने काम आफैले गर्छिन्। उनी भन्छिन्,‘सबैभन्दा ठूलो कुरा त अभाव नै रहेछ, अभावले काम गर्न सिकाउने रहेछ, म पनि हुनेखाने परिवारमा जन्मेको भए यति सजिलै काम सिक्दिन थिएँ होला।’ अहिले उनीसंग १५० घार मौरी छन्। महका माग उच्च छ। ‘महको माग धान्नै गाह्रो भएको छ, पुर्‍याउन सकिरहेका छैनौं,’ उनले भनिन्,‘घारसहित मौरी पनि विक्री गर्ने गरेका छौं। अहिले घार फुटाउने सिजन सुरु भएको छ।’  

प्रेमकुमारीको व्यवसायिक मौरीपालन यात्रा अगाडि बढ्दै गर्दा गलकोट नगरपालिकाले दायित्व संस्थासंग मिलेर एक वर्ष अगाडिदेखि रिप परियोजना अन्तर्गत नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रम ञ्चालन गर्‍यो। गलकोट नगरपालिका क्षेत्रभित्रका उत्कृष्ट उद्यमी छनोट गर्ने उक्त कार्यक्रममा प्रेमकुमारी पनि सहभागी बनिन्। उनी सहभागी मात्र बनिन् सर्वोत्कृष्ट पनि बनिन्। ‘हामी त काम गथ्यौं तर हिसाब किताब राख्दैनथ्यौं, यो कार्यक्रममा सहभागी भएपछि मैले सबै कुराको लेखाजोखा राख्न थालेकी छु,’ प्रेमकुमारी भन्छिन्,‘खर्च आम्दानी मात्र होईन। जोखिम बहन गर्नका लागि आवश्यक कोष निर्माण गर्ने कुरा पनि सिकियो। सबैभन्दा राम्रो कुरा त नेतृत्व क्षमता विकास भयो। मैले बोल्नै जान्दिन थिएँ, अहिले बोल्न सक्ने भएकी छु।’  

यसै वर्षमा उनले १५० मौरीलाई दुई सय ५० घार पुर्‍याउने लक्ष्य राखेकी छिन्। ‘अहिले मौरीको माउ धेरै राम्रो भएको छ, यो समयमा घार नछुट्याई हुन्न,’ उनले भनिन्,‘केही घार विक्री गर्छु, यहाँ आफैले पनि सय घार थप्ने योजना बनाएको छु। २५० घार पुर्‍याउँछु।’ मौरीका सबै काम प्रेमकुमारीले सम्हालेपछि यामबहादुरले घार बनाउने काम गर्छन्। घार सहितको मौरीको गोला विक्री गर्दा साढे ९ देखि १० हजार रुपैयाँ मूल्य छ। अहिले प्रेमकुमारीको सफलता देखेर उनीसंग काम सिक्न चाहानेहरु पनि धेरै आउन थालेका छन्।

‘हामी पनि सिक्छौं भनेर महिला दिदी बहिनीहरु आउनुहुन्छ, समूहमा आउनुस् भनेर मैले निःशुल्क सिकाउने पनि गरेकी छु,’ प्रेमकुमारीले भनिन्। उत्कृष्ट उद्यमी छनोटसंगै गलकोट नगरपालिकासंगको सहकार्यमा सञ्चालित कार्यक्रम सकिए पनि उद्यमीहरुलाई उत्प्रेरित गर्न कुनै न कुनै कार्यक्रमसंग जोडिराख्ने दायित्व लुम्बिनी प्रमुख कमल थापा बताउँछन्। ‘अहिलेलाई हाम्रो कार्यक्रम सकियो, कार्यक्रम सकिए पनि उद्यमी महिलाहरुलाई बजारसंग जोड्ने र उहाँहरुको व्यवसाय विस्तारमा हामीसंगै हुन्छौं,’ थापाले भने।  

गलकोट नगर क्षेत्रभित्रका महिला उद्यमीहरुलाई व्यवसायिक बनाउन र नयाँलाई पनि उत्प्रेरित गर्न कार्यक्रम सञ्चालन गरिएको गलकोट नगर उपप्रमुख रेनुका काउचाले बताईन्। ‘अहिले युवाहरु सबै विदेश जाने चलन छ, यहाँको आर्थिक विकासको पाटो ठप्प भएपछि महिला उद्यमीहरुलाई व्यवसायिक बनाउने र नयाँलाई पनि प्रोत्साहन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भनिन्,‘अहिले महिला दिदी बहिनीहरुको हिम्मत र आँट बढेको देख्दा खुसी लागेको छ।’ गलकोट नगरपालिको उक्त कार्यक्रम सम्पन्न गर्नका लागि करिब २८ लाख रपैयाँ खर्च गरेको छ।

Pubished on: 19 April 2022 | Nagarik

Link

Back to list

;