s

अवैध श्रमिकको उद्धार गर्न कोष बनाइने

गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छुट्टै कोष स्थापना गर्ने भएको छ । श्रममन्त्री डोलप्रसाद अर्यालले शनिबार सुर्खेतमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।

हालको व्यवस्थाअनुसार मन्त्रालयले श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै उद्धार गर्दै आएको छ । विदेशमा जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको कोषमार्फत जोखिममा परेका श्रमिकको उद्धार गरिँदै आएको छ । तर, गैरकानुनी रूपमा गएका श्रमिकलाई उद्धार गर्ने कोष भने सरकारसँग छैन । ‘गैरकानुनी रूपमा गएका श्रमिक पनि नेपाली नागरिक नै हुन् । उनीहरूको उद्धार गर्नु सरकारको दायित्व हो । त्यसैले छुट्टै कोषको व्यवस्था गर्नका लागि आगामी बजेटमा व्यवस्था गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेका छौँ,’ उनले भने ।

त्यस्तै, वैदेशिक रोजगारीका नाममा ठगिएमा तुरुन्तै सम्बन्धित निकायमा उजुरी गर्न श्रममन्त्री अर्यालले आग्रह गरेका छन् । ‘वैदेशिक रोजगारीका नाममा ठगिएमा वैदेशिक रोजगार विभागमा तुरुन्तै उजुरी दिनुहोस् । त्यो सम्भव भएन भने पनि हाम्रो सचिवालयमा ठगी गरेको संस्था वा व्यक्तिको विवरण टिपाउनुहोस्,’ उनले भने । ठगी गर्ने व्यक्ति वा संस्थालाई निर्मम भएर कारबाही गरिनेछ । छलफलमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले मन्त्रालयले अगामी दिनमा श्रमिकलाई अनिवार्य रूपमा सीप तालिमको व्यवस्था गरिने, रोजगार बंैक स्थापना गरिने, भारतमा जाने श्रमिकको तथ्यांक संकलन गरिने जानकारी दिए ।

Published on: 20 May 2024 | Naya Patrika

Link

Back to list

;