s

अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न खोजेको गाडी दुर्घटनामा परेका ६ नेपाली डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न खोज्दा भएको सवारी दुर्घटनामा परेका सबै ६ नेपाली जोखिममुक्त रहेका छन् । दुर्घटनाग्रस्त गाडीमा सवार १५ मध्ये ६ नेपाली घाईते भएपनि सबैजना अस्पतालबाट डिस्चार्ज भएका छन् । उक्त दुर्घटनामा ७ जनाको मृत्यु भएको खबर बेलायती संचारमाध्यम डेली मेलले समाचार प्रकाशित गरेको थियो ।

एनआरएनका टर्कीका अध्यक्ष उज्जवल कुमार घिसिङले दुर्घटनामा ६ नेपाली घाइते भएकोमा बिहीबार चारजना र दुर्घटनालगत्तै दुईजना अस्पतालबाट डिस्चार्ज भएको बताए । कान्तिपुरसँग कुराकानी गर्दै उनले भने, ‘घाइतेसँग सर्म्पकमा रहेका व्यक्तिसँग कुराकानी गर्दा उनीहरु सामान्य घाइते मात्रै भएको बुझियो ।’ उनका अनुसार टर्कीबाट अवैध रुपमा ग्रिस छिर्ने खोजेका उनीहरु कसरी त्यहाँसम्म आईपुगे भन्नेबारे आफूहरुले विस्तृतमा बुझिनसकेको बताए ।

डेली मेलले तिव्र गतीमा गुडिरहेको बेला सन्तुलन गुमाएर गाडी दुर्घटना भएको र त्यसमा चार पाकिस्तानी पनि रहेको उल्लेख गरेको थियो । ग्रिस प्रहरीलाई उद्धत गर्दै डेली मेललाई उनीहरु सबैलाई संगठित मानव तस्करले अवैध रुपमा टर्कीबाट ग्रिस छिराउन खोजेको उल्लेख गरेको छ । तिव्र गतिमा हाँकिएको सवारीले नियन्त्रण गुमाएर दुर्घटना भएको पनि समाचारमा उल्लेख छ । 

अवैध रुपमा नेपालीहरु टर्कीबाट ग्रिस छिर्ने घटना विगतका दिनमा पनि सार्वजनिक भएका थिए । अवैध रुपमा ग्रिस छिरेका नेपालीहरुका अनुसार उनीहरुले मानव तस्करलाई ११ देखि १५ लाख रुपैयाँ बुझाएर टर्कीबाट ग्रिस छिर्ने गर्छन् ।

२०७५ साउनमा अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न खोजेका एक नेपालीको समुहमा रहेका नवलपरासी कावासोतीमा नविन तिवारी बिच बाटोबाटै हराएको र सात महिनादेखि परिवारको सर्म्पकमा नरहेको खबर सार्वजनिक भएको थियो ।

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरो स्थापना हुनु अघि महानगरिय प्रहरी अपराध महाशाखामा आर्थिक वर्ष २०७४/७५ मा मात्रै १४ जनाले टर्की जाने भन्दै ठगिएको उजुरी दिएका थिए । ति मध्ये ५ जना टर्की पुगेर भनेजस्तो काम नपाएर बिचल्लीमा परेपछि आफ्नै खर्चमा स्वदेश फर्केका थिए भने दुईजना ग्रिसमा अलपत्र परेका र चारजना टर्कीमा अलपत्र अवस्थामा रहेका थिए । सोही समयमा ३७ जनाले टर्की जाने आश्वासनको पछि लाग्दा आफू ठगिएको भन्दै २ करोड ५० लाख बिगो दाबी गर्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा जाहेरी दर्ता गराएका थिए । 

यो संख्याले अवैध रुपमा टर्की पुग्ने र त्यहाँबाट अवैध रुपमै ग्रिस छिर्ने काममा कति नेपाली फसिरहेका छन् भन्ने बुझाउँछ ।

Published on: 26 November 2021 | Kantipur

Link

Back to list

;