s

अवैध रूपमा अमेरिका पठाउने एजेन्ट पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अवैध रूपमा अमेरिका पठाउने एजेन्ट गोमा जीसीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले दाङको घोराहीबाट पक्राउ गरेको छ । गत चैतमा अवैध रूपमा अमेरिका जान हिँडेका ८ नेपालीसहित १८ जना कोलम्बियाको निकोक्लीबाट कपुरगाना जाने क्रममा डुंगा दुर्घटनामा परेका थिए । 

दुर्घटना भएको स्थान कोभेनास कोस्ट गार्डका एक सैनिकले हराएका भनिएका कसैको सूचना नमिलेको कान्तिपुरलाई बताए । गोमाका श्रीमान् टोपबहादुर जीसीले दाङ घोराहीका एन्जल बुढामगर, रेशम मगर र हेमराज अधिकारीलाई अमेरिका लैजान हिँडाएका थिए । टोपबहादुर २०७३ फागुनमा दाङ तुलसीपुरका नरेन्द्र बस्नेतलाई अमेरिका लैजान ७५ लाख ९७ हजार रुपैयाँ लिएको आरोपमा पक्राउ परेका थिए । 

२०७६ जेठ २७ गते प्रहरीले उनलाई मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधमा मुद्दा चलाएको थियो । उनलाई २०७६ असार ५ गते काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दियो । थुनामुक्त भएलगत्तै उनले अवैध रूपमा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । प्रहरी स्रोतका अनुसार हाल युक्रेन रहेका टोपबहादुरले अमेरिका जान हिँडेकाबाट रकम बुझ्ने काममा श्रीमतीलाई लगाएका थिए ।

Published on: 16 July 2021 | Kantipur

Link

Back to list

;