s

अवैध रुपमा बसिरहेका ८ नेपालीलाई अमेरिकाले स्वदेश फर्कायो

अमेरिकाले अवैध रूपमा आफ्नो देशभित्र बसोबास गरिरहेका आठ नेपाली नागरिकलाई ‘डिपोर्ट’ गर्दै विमान चार्टर गरेर नेपाल पुर्‍याइदिएको छ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमालले बिहीवार अमेरिकी चार्टर्ड जहाजले उनीहरूलाई काठमाडौं छाडेर गएको जानकारी दिए।

‘उनीहरूलाई पहिले पक्राउ गरेर कैदमा राखेर र त्यसपछि डिपोर्ट गरेर नेपाल पठाएको देखिन्छ,’ हमालले भने,‘सम्भवतः उनीहरू अवैध बाटो हुँदै अमेरिका छिरेका थिए।’ अमेरिकी चार्टर्ड विमानले उनीहरूलाई बिहीवार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेर गएको उनले बताए।

विश्वका विपन्न देशहरूबाट अवैध रुपमा पानमाको जंगल हुँदै मेक्सिको भएर अमेरिका छिर्ने ‘तल्लो बाटो’ प्रयोग हुँदैआएको छ। डिपोर्ट गरिएका यी आठजना नेपाली पनि त्यही बाटो भएर अमेरिका छिरेको आशंका गरिएको छ।

मानव तस्करहरूले पछिल्लो समय नेपाली नागरिकलाई काठमाडौंबाट दिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पु¥याउने गरेका छन्। जसमा ३० देखि ६० लाखसम्म लिने गरेका अधिकारीहरू बताउँछन्।

यसअघि पनि नेपालबाट यही बाटो अवैध रुपमा अमेरिका छिरेका नागरिक डिपोर्ट हुँदैआएका घटनाहरू छन्।

Published on: 26 February 2024 | Nagarik

Link

Back to list

;