s

अवैध रसियाली नागरिको भिसा शुल्क मिनाहा

शम्भु कट्टेल

शुल्क मिनाहाका लागि रसियाली दूतावासले कूटनीतिक लबिङ गरेको थियो

नेपालस्थित रसियाली दूतावासको आग्रहमा सरकारले अवैध रूपमा नेपाल बस्दै आएका चार रसियाली नागरिकको प्रवेशाज्ञा र विलम्ब शुल्क मिनाहा गरेको छ । अवैध रूपमा बसेका उनीहरूले भिसा र विलम्ब शुल्कबापतको रकम तिर्न नसक्ने जनाउँदै रसियाली दूतावासले मिनाहा गर्न कूटनीतिक लबिङ गरेको थियो ।

सन् २०१६ मा भारतबाट स्थलमार्ग हुँदै नेपाल छिरेका एकै परिवारका तीन र नेपालमा जन्मिएका अर्का एक गरी चार जना रसियाली नागरिकको भिसा र विलम्ब शुल्क मिनाहा गरेको हो । नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर)ले यसअघि नै ४७ पाकिस्तानी, १९ सोमालियाली, ५ बंगलादेशी र १ जना म्यान्मारी गरी ७२ जना अवैध आप्रवासीको भिसा, विलम्ब शुल्क र जरिवाना मिनाहा गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ ।

पोखरामा मजदुरी गर्दै बसेका चार रसियालीसँग सामान्य गुजारा गर्नेसमेत पैसा नभएपछि सरकारले भिसा शुल्क मिनाहा गरेको हो । रसियाली नागरिक दिमित्री खामोभ, उनकी पत्नी भेलरिया र उनीहरूका छोरा बोग्दान सन् २०१६ अप्रिल १२ मा नेपाल छिरेका थिए । अर्का छोरा भने नेपालमा जन्मिएका हुन् । नेपालस्थित रसियाली दूतावासले उनीहरूको भिसा शुल्क मिनाहा गर्न भन्दै परराष्ट्र र गृह मन्त्रालयमा पत्राचार गरेको थियो । विदेशीहरूको अनुगमन नगर्दा कहाँ, कति विदेशी के गर्दै बसेका छन् भन्ने तथ्यांक स्वयं सरकारसँग पनि छैन ।

विदेशीहरूको अनुगमन गर्न सरकारी संयन्त्र उदासीन बन्दा अवैध रूपले नेपाल बस्दै आएका विदेशीको संख्या बढदो छ । गृह मन्त्रालयले विदेशी नागरिक अनुगमन निर्देशिका बनाएको त छ । तर कार्यान्वयन भएको छैन ।रसियाली दूतावासले उनीहरूको भिसाशुल्क मिनाहा गर्न सरकारलाई अनुरोध गरेको अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए । ‘शुल्क मिनाहा गर्न सरकारलाई पत्राचार गरेपछि हामीले सिफारिस गरेका हौं’, उनले भने । रसिया, उज्वेकिस्तान, केन्यालगायत अफ्रिकी मुलुकका नागरिक अवैध रूपमा नेपाल बस्दै आएका थिए ।

सन २०१६ को अप्रिलमा बेलहिया नाकाबाट ९० दिनको भिसा लिएर रसियाली एक दम्पति र उनका एक छोरा नेपाल प्रवेश गरेका थिए । नेपाल बसाइका क्रममा उनीहरूबाट अर्का एक छोरा जन्मिएका थिए ।

मन्त्रिपरिषले ओभर स्टेबापतको झन्डै नौ लाख र विलम्ब शुल्क मिनाहा गरेको हो । यससँगै नेपालस्थित रसियाली दूतावासले चारै जनाको ट्राभल डकुमेन्ट बनाइदिएको छ । उनीहरू लामो समयदेखि पोखरामा लुकिछिपी बस्दै आएका थिए ।

Published on: 14 February 2019 । Annapurna Post

Back to list

;