s

अवैध कामदारलाई युएईमा ३ महिने आममाफीको सुविधा

युएई सरकारद्वारा १ अगस्टदेखि ३१ अक्टोबरसम्म आममाफीको व्यवस्था
 
संयुक्त अरब इमिरेट्स (युएर्ई) सरकारले आफ्नो मुलुकमा गैरकानुनी हैसियतमा काम गरिरहेका विदेशी नागरिकलाई ३ महिनाका लागि आममाफीको मौका दिएको छ । युएईमै वैध रूपमा काम गर्न चाहने र स्वदेश फर्किन चाहने दुवै किसिमका विदेशी नागरिकलाई लक्षित गर्दै त्यहाँको सरकारले १ अगस्टदेखि ३१ अक्टोबरसम्म आममाफीको व्यवस्था गरेको हो । त्यससँगै युएईमा रहेको नेपाली दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै गैरकानुनी हैसियतमा रहेका आफ्ना नागरिकलाई यथाशीघ्र आममाफीको प्रक्रियामा सहभागी हुन अनुरोधसमेत गरेको छ ।
 
युएईमै बस्न  चाहनेलाई राहदानी
 
राहदानी नभएकाहरूले युएईमै काम खोजेर बस्न चाहेमा राहदानीका लागि आवेदन दिनुपर्ने हुन्छ । आवेदन दिँदा पुरानो राहदानीको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, राहदानी हराएको भए प्रहरी रिपोर्टसहित त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिनुपर्ने हुन्छ । दूतावासका अनुसार राहदानी नवीकरणका लागि २ सय दिराम, नयाँ बनाउनुपर्ने भएमा ४ सय दिराम र नाबालिकको राहदानी बनाउनुपरेमा १ सय दिराम  शुल्क लाग्छ ।
 
स्वदेश फर्किन चाहे  ट्राभल डकुमेन्ट
 
राहदानी नभएका नेपालीले स्वदेश फर्किन चाहेमा ट्राभल डकुमेन्ट बनाउनुपर्ने हुन्छ । ट्राभल डकुमेन्टका लागि पुरानो राहदानी भए पुग्नेछ । तोकिएको अवधिमा स्वदेश फर्किन चाहने नेपालीले निःशुल्क रूपमा ट्राभल डकुमेन्ट बनाउन सक्नेछन् ।
 
यसरी लाभ लिन सकिन्छ
 
निर्धारित अवधिमा आममाफीको सुविधा लिन चाहनेहरूलाई त्यहाँको अध्यागमन नियमअनुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुनेछ । इमिग्रेसेनको जरिवाना तिर्नुपर्ने छैन । भिसाको अवधि सकिएर म्यादभन्दा बढी बसेका (ओभर स्टे) र कम्पनी छोडेर भागेका व्यक्तिले त्यस्तो सुविधा  लिन सक्नेछन् ।
 
सामान्यतया गैरकानुनी हैसियतमा रहेका विदेशीलाई त्यहाँको सरकारले पुनः युएई आउन नपाउने प्रतिबन्धसमेत लगाउने गर्छ । तर, आममाफीमा जान चाहने विदेशीले सम्भावित प्रतिबन्धबाट समेत छुटकारा पाउनेछन् । युएईमा गैरकानुनी हैसियतमा रहेका नेपालीले वैधानिक रूपमै त्यहाँ काम गर्न सक्ने विकल्पसमेत दिइएको छ ।
 
त्यसका लागि ५ सय दिराम शुल्कसहित आवेदन दिएर नयाँ काम खोज्न ६ महिने अस्थायी भिसा दिने बताइएको छ । त्यस्तो भिसाको अवधि सकिनै लाग्दासमेत काम नपाएमा १० दिनअगावै नेपाल फर्किनुपर्ने हुन्छ । यद्यपि, युएईमै वैध रूपमा बस्नका लागि म्याद नसकिएको राहदानी अनिवार्य हुन्छ । कामको खोजीमा रहेकाहरूले त्यहाँको मानव संसाधन तथा इमिरताइजेसन मन्त्रालयको वेबसाइटमा भर्चुअल जब मार्केटमा दर्ता  गर्नसमेत सक्नेछन् ।
 
कहाँ सम्पर्क गर्ने
 
आममाफीको सुविधा लिन चाहनेहरूले पछिल्लो भिसा जारी भएको इमिरेट्समा रहेको ‘एम्नेस्टी सर्भिस सेन्टर’मा सम्पर्क गर्नुपर्ने हुन्छ । आबुधाबीका लागि साहमा इमिग्रेसन कार्यालय, अल ऐन इमिग्रेसन र आबुधाबीको पश्चिमी क्षेत्रका लागि अल गार्बिया इमिग्रेसन कार्यालय तोकिएको छ । त्यस्तै, दुबईका लागि अल अबिरमा रहेको इमिग्रेसन कार्यालय र अन्य इमिरेट्सका लागि भिसा लागेको इमिरेट्सको मुख्य इमिग्रेसन कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।
 
Published on: 2 August 2018 | Naya Patrika

Back to list

;