s

अवैध बाटोबाट अमेरिका : पाँच वर्षमा २०० नेपाली डिपोर्ट

१ जेठ, काठमाडौं । दाङ घोराहीका हेमन्त (परिवर्तित नाम) ०८० वैशाखमा अमेरिका पुग्न अवैध बाटो पछ्याए । एजेन्टलाई करिब ५० लाख रुपैयाँ बुझाएर भारतको दिल्ली–अजरबैजान–टर्की–पेरु–कोलम्बिया–पानामा–ग्वाटेमाला–मेक्सिको हुँदै ०८० वैशाखमा अमेरिका छिरे । ६ महिना लगाएर अमेरिका पुगेका उनले शरणार्थीका लागि निवदेन दिए । तर अमेरिकाले उनको मुद्दा अस्वीकार गर्‍यो र ०८० असोज ८ गते नेपाल फर्काइदियो । त्यसरी डिपोर्ट भएर फर्कनेमा उनीसँगै अरु ५ जना नेपाली पनि थिए ।

****
मानव तस्करलाई मोटो रकम बुझाएर सल्यानका हिमाल (परिवर्तित नाम) पनि अवैध बाटोबाट अमेरिका पुगे । एजेन्टले अमेरिका पठाइदिने भनेर उनलाई दुबई–टर्की–स्पेन–कोलम्बिया–पेरु–पानामा हुँदै मेक्सिको पुर्‍यायो । यसरी झण्डै ६ महिनाको यात्रामा प्रहरीको आँखा छल्दै उनी अन्ततः ०८० असोजमा अमेरिका पुग्न सफल भए । यसबीच उनले झण्डै ६५ लाख खर्चिसकेका थिए ।

अमेरिकी अध्यागमन प्रहरीले उनलाई सीमाबाट पक्राउ गरी डिटेन्सन (हिरासत)मा राखेको थियो । उनले आफू शरणार्थीका रुपमा बस्न पाउनुपर्ने भन्दै निवेदन हालेका थिए । तर अमेरिकाको अदालतले उनलाई शरणार्थीको मान्यता दिन अस्वीकार गर्दै डिपोर्ट गर्न (स्वदेश फर्काउन) आदेश दियो । ०८० चैत २५ मा उनलाई अमेरिकाले नेपाल फर्काइदियो । मोटो रकम खर्चिएर महिनौंको जोखिमपूर्ण यात्रा गरेका उनको अमेरिका सपना अधुरै रह्यो ।

****

गाउँबाट अमेरिका जाने लहरको पछि लागेका रुकुम पूर्वका सतिश (परिवर्तित नाम) पनि अमेरिका जाने लहलहैमा लागे । तर उनको त्यो सपना पुरा हुनै पाएन । ०८० असारमा घरबाट निस्केका उनी झण्डै ८ महिना लगाएर अवैध बाटोबाट अमेरिका त पुगे । तर उनी पनि डिपोर्टमा परे । ०८० चैतमा उनी स्वदेश फिर्ता भए । अमेरिका पुग्न भनेर उनले पटक–पटक गरी एजेन्टलाई ८५ लाख बुझाइसकेका थिए । अनेक जोखिम मोल्दै मुस्किलले अमेरिका छिरेका उनीसँग घर फर्किंदा ऋणको भारीमात्र थियो ।

अमेरिकाबाट नेपालीहरु डिपोर्ट भएका यी घटना अपवाद होइनन् । ०८० फागुनमा मात्रै भारत, दुबई– ब्राजिल, कोलम्बिया, पानामा, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिरेका ८ जना नेपालीलाई अमेरिका सरकारले एकैचोटी डिपोर्ट गरेको थियो । अमेरिकाले चार्टर्ड विमान मार्फत उनीहरुलाई नेपाल फर्काएको थियो ।

संगठित मानव तस्करको आडमा नेपालबाट अवैध बाटोबाट अमेरिका जाने क्रम रोकिएको छैन । त्यसको रेकर्ड भने कतै छैन ।

अवैधमार्गबाट गएर डिपोर्ट हुने नेपालीको रेकर्ड भने अध्यागमन विभाग र मानव बेचबेखिन अनुसन्धान ब्युरोले राख्दै आएको छ । ब्युरोको तथ्यांकमा मात्रै पछिल्लो पाँच वर्षमा २०० नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।

आर्थिक वर्ष ०७५/७६ मा ४५, ०७६/७७ मा ८३, ०७७/७८ मा ३०, ०७८/७९ मा १३, ०७९/८० मा ७, ०८०/८१ मा २० जना गरी १९८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको ब्युरोको तथ्यांक छ ।

अमेरिकाले अवैध बाटोबाट पुगेकाहरुमात्र नभएर आपराधिक गतिविधिमा संलग्न भएकाहरुलाई पनि डिपोर्ट गर्छ । तर यसरी डिपोर्ट हुनेमा अधिकांश अवैध रुपमा अमेरिका गएर फर्कनेहरु भएको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्र बताउँछन् । संगठित मानव तस्करको सहयोगमा नेपालीहरु अवैध मार्गबाट अमेरिका पुग्ने गरेको उनले सुनाए ।

उनका अनुसार तस्कहरुले अवैधमार्गबाट अमेरिका पुर्‍याउन भारत–युएई–टर्की–स्पेन–ब्राजिल–पेरु–इक्वेडर–कोलम्बिया–पानामा–कोष्टारिका–निकारागुआ–होण्डुरस–ग्वाटेमाला–मेक्सिको रुट प्रयोग गर्दै आएका छन् ।

अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्दा अमेरिकाको सीमा क्षेत्रबाट पक्राउ परेकाहरु डिटेन्सनमा (हिरासत) राखिन्छन् । हिरासतमै रहेकाहरु शरणार्थीका रुपमा आफूहरु बस्न पाउनुपर्ने भन्दै निवेदन लिएर अदालत जान्छन्, तर निवेदन दिएका सबैले शरणार्थीको हैसियत पाउँदैनन् । शरणार्थी मुद्दा जित्न नसकेकालाई अमेरिकाले स्वदेश फर्काइदिने गर्छ ।

एजेन्टविरुद्ध बोल्न चाहँदैनन् पीडित

अमेरिका पुग्ने सपनाका लागि नेपालीहरुले मोटो रकम खर्चिने गरेको पाइएको छ । ब्युरोका प्रहरी उपरीक्षक मिश्रका अनुसार अमेरिका पुग्न नेपालीहरुले प्रतिव्यक्ति ३० लाखदेखि करिब १ करोड रुपैयाँसम्म एजेन्टलाई बुझाउने गरेका छन् ।

‘एजेन्ट अनुसार फरक–फरक रकम बुझाएर गएको देखिन्छ, कसैले १ करोडसम्म पनि बुझाएका छन्,’ एसपी मिश्र भन्छन्, ‘यसक्रममा विभिन्न अनौपचारिक स्रोतबाट पनि रकम बाहिरिने गरेको छ ।’

यसरी अवैध बाटो अमेरिका गएर डिपोर्ट भएका र आधा बाटोबाटै फर्किएकाहरु भने एजेन्टविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी नपरेको प्रहरी बताउँछ ।

‘असफल भएर फर्केकाहरुले नै पठाउने एजेन्ट र आर्थिक क्षतिबारे खुलाउन चाहँदैनन्’ मिश्र भन्छन्, ‘पीडित नै मुख खोल्न नचाहेपछि मानव तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन समस्या हुन्छ ।’

Published on: 14 May 2024 | Onlinekhabar

Link

Back to list

;