s

अब सातै प्रदेशबाट श्रम स्वीकृति

आइतबारदेखि सातवटै प्रदेशबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंमा केन्द्रित सेवालाई विकेन्द्रीकरण गर्दै लाने नीति लिएसँगै आइतबारबाट सबै प्रदेशबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा प्रदान गर्न थालिएको छ।

यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट आइतबारदेखि श्रम स्वीकृति दिन थालेको मन्त्रालयले जनाएको छ। यी कार्यालयमा श्रम स्वीकृति मात्रै हुँदै आए पनि आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि दिन थालिएको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।

उनका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समयअघिदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा दिँदै आइएको छ।

श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने व्यवस्था लागु भइसकेको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए। आइतबार विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट पनि सबै किसिमका श्रम स्वीकृति पाइने व्यवस्था हुन थालेपछि सबै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने परिस्थिति बनेको हो।

मन्त्रालयले केही दिनअघि श्रम स्वीकृति लिन भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्यालाई हटाउँदै अनलाइनमार्फत नै सबै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको जानकारी दिएर श्रम कार्यालयहरूबाट सहज रूपमा सेवा लिन अनुरोध गरेको थियो।

कम्प्युटर प्रणालीबाट नै निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली भएकाले समयमै आवेदन नदिने र अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुँदै आएको थियो। त्यसैले श्रम स्वीकृतिका लागि समयमै अनलाइन आवेदन दिएर बिनाझन्झट सेवा लिन मन्त्रालय अनुरोध गरेको हो। पछिल्लो समय श्रम मन्त्रालय र मातहतका निकायबाट प्रदान हुने सेवालाई छिटो र सरल रूपमा लिन मिल्ने गरी अनलाइन प्रणालीको विकास गरिएको जनाइएको छ।

Published on: 9 January 2023 | Nagarik

Link

Back to list

;