s

अब प्रत्यक्ष दर्ता प्रणालीबाट राहदानी

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले 'लाइभ इनरोलमेन्ट सिस्टम' (प्रत्यक्ष फारम दर्ता प्रणाली) मार्फत मेसिनले पढ्नसक्ने राहदानी वितरण प्रक्रिया सुरु गरेको छ । सोमबार विभागले लाइभ इनरोलमेन्ट सिस्टमबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नाममा पहिलो कूटनीतिक राहदानी जारी गरेको हो ।
 
मन्त्री थापाले मन्त्रालयमा सोमबार आयोजना गरिएको एक कार्यक्रमबीच उक्त सिस्टम सुरुवात गर्दै राहदानीका लागि फारम भरेका थिए । उनले फारम भरेको पाँच मिनेटमा एमआरपीका लागि स्वीकृत भएको इमेल प्राप्त गरेका थिए भने २० मिनेटजति पछि राहदानी नै उनको हात परेको थियो ।
 
'राहदानी सेवामा हामीले औपचारिक रूपमा लाइभ इनरोलमेन्ट सिस्टम सुरुवात गरेका छौं, नेपालको राहदानी वितरणको इतिहासमा यो महत्वपूर्ण कोसेढुंगा हो,' सिस्टम उद्घाटनपछि मन्त्री थापाले भने, 'यो सिस्टम लागू भएपछि राहदानी वितरणमा सहजता र तीव्रता आउने आशा तथा विश्वास लिएको छु ।'
 
मन्त्री थापाले झैँ सर्वसाधरणले पनि अब मेसिनले पढ्नसक्ने राहदानी (एमआरपी) लाइभ इनरोलमेन्ट सिस्टममार्फत प्राप्त गर्न सक्नेछन् । अहिले यो सुविधा राहदानी विभागबाट मात्र उपलब्ध गरिनेछ । विभागमा मंगलबारबाट नौवटा काउन्टरमार्फत लाइभ इनरोलमेन्ट सिस्टममार्फत फारम बुझाउने र बुझ्ने व्यवस्था मिलाइएको छ ।
 
'मंगलबारबाट राहदानी विभागका ९ वटा स्टेसनबाट नयाँ सिस्टममा राहदानी फारम बुझिने छ । डिसेम्बर पहिलो साताबाट विदेशस्थित १० वटा नेपाली नियोगमा ४१ स्टेसनबाट पनि यो नयाँ सिस्टममार्फत राहदानी फारम बुझिने छ,' राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी गराए ।
 
लाइभ इनरोलमेन्ट सिस्टममार्फत फारम बुझाउन आवश्यक कागजात साथमा लिएर विभाग पुगे हुन्छ । त्यहीं अनलाइनमार्फत उनीहरुको फारम भरिन्छ र सिस्टममा पठाइन्छ । त्यसको पाँच मिनेटभित्र सेवाग्राहीले आफ्नो फारम राहदानीका लागि स्वीकृत भएको सूचना आफ्नो इमेलमा प्राप्त गर्नेछन् । त्यही इमेलका आधारमा केही गल्ती भएको भए सेवाग्राहीले तुरुन्त सच्याउन सक्नेछन् ।
 
लाइभ इनरोलमेन्ट सिस्टम सुरु भएपछि विदेशस्थित नेपाली नियोगमा राहदानीका लागि सेवाग्राहीले बुझाएको फारम नेपाल पठाइरहनु पर्दैन । कम्प्युटर माउसको एक क्लिकको भरमा आवेदन विभागमा आइपुग्नेछ । विभागले विस्तारै यो सुविधा जिल्लामा पनि लैजाने जनाएको छ ।
 
लाइभ इनरोलमेन्ट सिस्टम सुरु भएपछि सेवाग्राहीले द्रूत सेवामार्फत फारम भरेको पाँच दिनमा राहदानी प्राप्त गर्न सक्नेछन् । यसअघि द्रूतसेवामार्फत फारम भरेको सात दिनमा राहदानी पाउने गर्थे । यस्तै, अब जिल्लामा राहदानीका लागि आवेदन दिने सेवाग्राहीले १० दिनभित्र राहदानी पाउने विभागले जनाएको छ, पहिला यसका लागि १५ दिन लाग्ने गथ्र्यो । विदेशस्थित नेपाली नियोगबाट आवेदन दिनेको फारम भरेको पाँच दिनमा राहदानी बनेर जाने विभागले बतायो ।
 
Published on: 24 November 2015 | Nagarik
 

Back to list

;