s

अब मेसिन रिडेबल भिसा

शम्भु कट्टेल

सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मेसिनले पढ्न सक्ने प्रवेशाज्ञा एमआरभी (मेसिन रिडेबल भिसा) लागू गर्ने तयारी गरेको छ। विदेशीले पनि अब मेसिन रिडेबल नेपाली भिसा पाउने छन्। प्रचलनमा रहेको नेपाली भिसा स्टिकर अत्यन्त न्यून गुणस्तरको छ।

गुणस्तर र सुरक्षाको दृष्टिकोणले भिसा स्टिकर गतिलो नभएकाले गृह मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सुरक्षा मापदण्डअनुसारको नेपाली भिसा स्टिकरलाई अन्तर्राष्ट्रिय स्तरकै मेसिन रिडेबल भिसामा रूपान्तरण गर्ने तयारी गरेको हो। मेसिन रिडेबल भिसा सुरक्षित मानिन्छ। यस्तो भिसा नक्कली बनाउन सकिँदैन। नेपालले जारी गर्ने भिसाको गुणस्तरबारे अन्तर्राष्ट्रिय स्तरमै व्यापक आलोचना हुँदै आएको थियो।
 
नयाँ एमआरभीले नेपाली संस्कृति झल्काउनेछ। अहिलेको भिसा स्टिकरलाई प्रतिस्थापन गर्दै गृहले गैरपर्यटकीय (अध्ययन, विवाह, प्रेस, व्यापारिक, नाता) भिसामा एमआरभी लागु गर्ने तयारी गरेको हो। ‘एमआरभी जारी गर्न आवश्यक तयारी गरिसकेका छौं’, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘अहिले गैरपर्यटकीय भिसाका लागि एमआरभी जारी गर्ने तयारीमा छौं।’
 
विभागले आगामी वर्षदेशि सबै भिसामा एमआरभी लागू गर्ने तयारी गरिरहेको छ। गैरपर्यटकीयपछि पर्यटक भिसावाहकलाई पनि एमआरभी जारी गरिने विभागले जनाएको छ। वैशाखसम्म परीक्षणका रूपमा एमआरभी जारी गर्ने महानिर्देशक पौडेलले बताए। विभागका निर्देशक विष्णुहरि उपाध्यायले ऐन संशोधन हुनसाथ एमआरभी जारी गरिने जानकारी दिए। विभागले अध्यागमन नियमावली संशोधन गर्न गृहमा प्रस्ताव पठाएको छ।
 
प्रस्तावित एमआरभी स्टिकरको आकार ७४ देखि १ सय ५ मिलिमिटरसम्म हुनेछ। भिसामा व्यक्तिको फोटोसहित वैयक्तिक विवरण राखिनेछ। भिसाको सबैभन्दा तल्लो भागमा मेसिन रिडेबल जोन राखिनेछ। जोनमा भिसावाहकको देश, नाम, जन्ममिति, लिंगलगायत विवरण उल्लेख हुनेछ। स्टिकरको पृष्ठभूमि हलुका रातो र निलो हुनेछ। पृष्ठभूमिमा मायादेवी मन्दिर र अशोक स्तम्भ रहने छन्। स्टिकरको माथि दायाँ कुनामा भिसा नम्बर रहनेछ। त्यसमुन्तिर नेपालको निशान छाप रहनेछ। स्टिकरको बायाँतर्फ भिसावाहकको रंगिन तस्बिर रहनेछ। प्रचलित भिसामा फोटो छैन।
 
गृहले एमआरभी कार्यान्वयन गर्न अध्यागमन नियमावली संशोधनको अन्तिम तयारी गरेको छ। प्रचलित भिसा स्टिकर हुलाक टिकट जस्तै छ। स्टिकरमा सजिलै हेरफेर गर्न सकिन्छ। स्टिकरमा भिसावाहकको नामसमेत हुँदैन। यात्रुको राहदानी नम्बर, भिसा जारी र गुज्रिने मिति मात्र हुन्छ। नक्कली भिसा बनाउन सजिलो भएकाले कतिपय विदेशीले नेपाली भिसा स्टिकर किर्ते गर्ने गरेका छन्। गृहले भिसा किर्ते गरी भइरहेका अवाञ्छित गतिविधि रोक्न एमआरभी लागू गर्ने भएको हो।
 
Published On: 14 January 2019 | Annapurna Post

Back to list

;