s

अब कामदारलाई आर्थिक भार नपर्नेगरी मात्रै मलेसिया पठाइने

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले कामका लागि मलेसिया जाने नेपालीलाई कुनै आर्थिक भार नपर्नेगरी प्रक्रिया अघि बढाइएको बताएका छन्।
मलेसिया जानका लागि प्रक्रिया रोकिएका बेला मन्त्री बिष्टले नयाँ ढंगले कामदार पठाइने बताएका हुन्।
 
वैदेशिक रोजगार व्यवसायीसँग भएको भेटवार्ताका क्रममा उनले मलेसियामा नेपाली कामदार पठाउने सन्दर्भमा अनाधिकृत पैसा उठाउँदै आएका विभिन्न संस्था खारेज भइसकेकाले ती संस्थामा फेरि ठोक्किने गरि कामदारलाई नपठाइने स्पष्ट पारे। स्वास्थ्य परीक्षणका नाममा ती संस्था फेरि ब्युँतनेगरी कुनै गतिविधि नहुने उनले बताए। सबै प्रक्रिया पुरा गरि अन्तिम स्वीकृति लिन मात्रै बाँकी रहेका कामदारहरुको विवरण ल्याउन व्यवसायीलाई आग्रह गर्दै उनले अध्ययन गरी उपयुक्त निर्णय लिइने बताए।
 
अबैध रुपमा कामदारमाथि ठगी गरिरहेकाहरुको छानवीन जारी रहेको र सबैलाई कानूनी दायरामा ल्याइने उनले बताए। ‘ठगीमा संलग्न हुनेहरुको थप प्रमाणहरु जुट्दैछन, ति सबैलाई कानूनी दायरामा ल्याउँछौँ’ विष्टले भने। मलेसियामा नयाँ तवरले कामदार पठाउने विषयमा परराष्ट्रमार्फत कुटनितीक पहल भइरहेको उनले बताए। ‘मलेसियाको रोजगारी अब नयाँ ढंगले कामदारलाई थप आर्थिक भार नपर्ने गरी मात्रै खुल्ला हुनेछ, यसमा सकारात्मक कुराकानी भैरहेको छ’ उनले भने।
 
म्यानपावर व्यवसायीलाई पनि निश्चित मापदण्ड भित्र बस्न आग्रह गरे। ‘यो पेसा व्यवस्थित, मर्यादित र सम्मानित बनोस भन्ने राज्यको चाहाना हो, तर सुधार भएको छैन तपाईहरु पनि सुध्रिनुहोस्, नत्र कारबाही गर्ने विषयमा सरकार पछि हट्दैन’ उनले भने।
 
अहिले जस्तो धेरै संख्यामा म्यानपावर कम्पनी आवश्यक नरहेकाले धरौटी रकम बढाई मापदण्डहरुमा पनि फेरबदल हुने उनले बताए। ति मापदण्डमा अटाउनेहरु मात्रै व्यवसायका लागि योग्य हुने मन्त्री विष्टको भनाइ छ। सो अवसरमा उनले वैदेशिक रोजगार ऐन संशोधनको तयारीमा मन्त्रालय लागेको जानकारी दिए।
 
Published on: 8 July 2018 | Setopati

Back to list

;