s

अब ई-पासपोर्टमा जान्छौं: उपप्रधानमन्त्री थापा

 
मउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारले ई-पासपोर्टको तयारी अगाडि बढाएको बताएका छन् । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरेको ५ वर्षपछि प्रत्यक्ष दर्ता (लाइभ इन्रोलमेन्ट) प्रणाली उद्घाटन गर्दै थापाले त्यसबारे जानकारी दिएका हुन् ।
 
आफ्नै व्यक्तिगत विवरण नयाँ प्रणालीबाट भरेर उपप्रधानमन्त्री थापाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयबाट नारायणहिटीस्थित राहदानी विभागमा पठाएका थिए । त्यसको २५ मिनेटपछि राहदानी बनाएर ल्याई विभागका महानिर्देशक लोकबहादुर थापाले उपप्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । त्यसअघि आफ्नो राहदानी स्वीकृत भएको सन्देश आफ्नो इमेलमार्फत मन्त्री थापाले पढेर सुनाएका थिए ।
 
विदेशस्थित नियोगहरू र जिल्लाबाट राहदानी वितरणमा भएको ढिलाइको समस्या समाधान गर्नेतर्फ सरकार उन्मुख रहेको उनले बताए । हालसम्म विभागले जिल्लाबाट आउने राहदानी १५ दिन र नियोगहरूबाट आएकालाई १० दिनमा पठाउने गरेको छ ।
 
विश्वभर हस्तलिखित राहदानी नचल्ने तय भएकै दिन सरकारले प्रत्यक्ष दर्ता प्रणाली थालेको हो । जुन, ई-पासपोर्टमा पुग्नुअघिको खुटकिलो भएको एक परराष्ट्र अधिकारीले जानकारी दिए ।
 
५ दिनमै राहदानी
 
दु्रत सेवाअन्तर्गत विभागले ५ दिनमै राहदानी उपलब्ध गराउने भएको छ । हालसम्म करिब ३९ लाख एमआरपी वितरण भइसकेको छ । महानिर्देशक थापाका अनुसार प्रत्यक्ष दर्ता प्रणाली सर्वसाधारणका लागि एक सातापछि खुल्ला गरिने भएको छ । पहिलो चरणमा आवेदनको व्यवस्था खुला राखिए पनि एक महिनापछि हटाइने उनले जानकारी दिए । प्रत्यक्ष दर्ताका लागि विभागमा ९ र नियोगहरूमा ४१ वटा केन्द्र राखिने छन् ।
 
सरकारले उक्त प्रणाली २ वर्षयता लागू गर्ने तयारी गरिरहेको थियो । मलेसिया, साउदी अरब -रियाध र जेद्दा), कुवेत, कतार, यूएई, अमेरिका -वासिङटन डीसी र न्युयोर्क), बेलायत र हङकङमा नयाँ प्रणाली सुरु हुनेछ । नयाँ टेन्डरबाट लागू गर्ने भनिए पनि समय अभाव र पुरानो सम्झौताको उल्झनका कारण अन्तरिम व्यवस्था र परीक्षणका लागि भन्दै ओबर्थरलाई दिइएको हो । सरकारसँग भएको सहमतिअनुसार ओबर्थरले प्रत्यक्ष दर्ताबाट २५ लाख थप राहदानी छाप्ने जिम्मा पाएको छ ।
 
अत्यावश्यक देखिएका पृष्ठ बढाउनेतर्फ भने सरकारले कुनै पहल गरेको छैन । प्राविधिक सहजता मात्र नहेरी हरेक जिल्लामा प्रत्यक्ष दर्ता प्रणाली पुर्‍याउनुपर्ने सुझाव सर्वसाधारणबाट आएको छ । हाल करिब ५० हजार जनासँग मात्र हस्तलिखित राहदानी रहेको विभागले जनाएको छ ।
 
Published on: 24 November 2015 | Kantipur
 

Back to list

;