s

अब बुटवल र जनकपुरबाट पनि श्रम स्वीकृति

भगवती पाण्डे

वैदेशिक रोजगारको लागि श्रम स्वीकृत लिन काठमाडौं जानुपर्ने झन्झटिलोको अन्त्य भएको छ। वैदेशिक रोजगारको लागि स्वीकृती लिन काठमाडौंबाहेक अन्यत्र सेवा नहुँदा हप्तौ खर्चिएर काठमाडौं धाउनुपर्ने बाध्यता थियो ।

तर सरकारले आईतबारबाट यो कामका लागि बुटवलसँगै जनकपुरमा सेवा सञ्चालन गरेर यस्तो झन्झटिलोको अन्त्य गरेको हो। सरकारले बुटवल ६ चाँदबारीमा श्रम तथा रोजगार कार्यालय स्थापना गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप चापागाईँले नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा श्रम व्यवसायजन्य सुरक्षा विभाग रोजगार कार्यालयको बुटवलमा उद्घाटन गरि यस्तो सेवाको शुरुवात गरेका हुन् ।
 
बुटबल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर बस्ने विरबहादुर माझीको पासपोर्ट नं ०८३५९९३७  मा मलेसियाको लागि श्रम स्वीकृत दिएको छाप हानेर महानिर्देशक चापागाईले सेवाको शुरुवात गरेका थिए। महानिर्देशक चापागाईले श्रम तथा रोजगार मन्त्रालयले यो कार्यालयलाई उच्च प्राथमिकतासाथ अगाडि बढाएको बताए।
 
श्रम मन्त्रालयबाट प्रदान गर्ने सबै सेवालाई सहज रुपमा कसरी सेवाग्राहीसामू पुर्‍याउन सकिन्छ भन्ने उद्देश्यले अगाडि बढेको उनले बताए। ‘श्रम कार्यालयबाट दिईने सेवा कसरी तलभन्दा तल सेवाग्राही सामु पुर्‍याउन सकिन्छ भन्ने उद्देश्यले हामीले सात वटै प्रदेशबाट सेवा दिने योजनाका साथ काम गरेका छौ,’ उनले भने ।
 
पहिलो चरणमा जनकपुर र बुटवलबाट श्रम स्वीकृतीको काम अगाडि बढाएको उनले बताए। सरकारले स्वीकृत गरेका जुनसुकै देशमा जानेहरुको लागि यो कार्यालयबाट श्रम स्वीकृत दिइने छ । महानिर्देशक चापागाईँले अहिले एकपटक श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गईसकेको र फर्किएर नेपाल आई फेरि जान चाहनेलाई पुनः स्वीकृती दिने काम शुरु भएको र विस्तारै नयाँ जान चाहनेहरुलाई पनि स्वीकृति दिने गरी सेवा विस्तार गर्ने बताए ।
 
बुटवलस्थीत कार्यालयबाट प्रदेशका १२ वटै जिल्लाबासीले मात्र नभई नेपालका जुनसुकै जिल्लाका व्यक्तिले पनि यो कार्यालयबाट सेवा लिन सक्नेछन्। बुटवलबाट दैनिक २ सय युवा श्रम स्वीकृति नविकरण गर्न आउने अनुमान गरिएको छ। त्यसका लागि कार्यालयमा मानवीय तथा भौतिक व्यवस्थापन समेत थपिएको छ। यसअघि १० जनाको स्वीकृति रहे पनि जम्मा ६ जना कर्मचारी कार्यरत रहेकोमा अहिले १४ जनाको दरबन्दी स्वीकृत गरी कर्मचारी पठाईएको छ।
 
कार्यालय प्रमुख उमेश शर्माले सेवा शुरु भएपछि यसक्षेत्रका हज्जारौं युवाहरु लाभान्वित हुने र सेवालाई कसरी सहज र प्रभावकारी बनाउन सकिन्छ भन्ने किसिमले काम गर्ने बताए । उनले अहिले खटाईएका सबै कर्मचारी आईनपुगेकोले एक महिना भित्रमा श्रम स्वीकृति सम्बन्धी सबै कामका साथै व्यक्तिगत रुपमा विदेश जाँदा चाहिने अनुमति दिने व्यवस्था पनि यहीँबाटै हुने बताए ।
 
यसअघि श्रम कार्यालयले श्रमको आन्तरिक काम, कारखानाको काम, ट्रेड युनियनको काम, बाल श्रमको अनुगमन लगायतका काम मात्रै गर्दै आएको थियो भने वैदेशिक रोजगार विभागको काम पनि थपिएको छ।
 
Published on: 31 December 2018 । Setopati

Back to list

;