s

अब ‘वैधानिकीकरण श्रम स्वीकृति’

वैदेशिक रोजगारीका क्रममा विभिन्न भिसामा विदेश पुगेका नेपाली युवाका लागि सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट अब ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गरिने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०८१ संशोधन गर्दै अन्य प्रकृतिका भिसामा विदेश गएर सोही मुलुकमा रोजगारीका लागि भिसा पाएका श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिन लागेको हो।

सन् २०२४ मे ३१ सम्म रोजगारीका लागि भिसा प्राप्त गरी सम्बन्धित मुलुकस्थित नेपाली कूटनीतिक नियोगमा आवेदन गरेका श्रमिकलाई सम्बन्धित नियोगले वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्न सक्छ।

नेपालमा श्रम स्वीकृति नलिई भिजिट भिसा र अध्ययनका निम्ति विभिन्न देश पुगेका तथा यावत् कारणले श्रम स्वीकृति नलिई विभिन्न मुलुकमा पुगेका नेपाली श्रमिकले काम गरिरहेका छन्। त्यसरी गएका नेपालीले श्रम गरिरहेका भए पनि वैदेशिक रोजगार कार्यालयले दिने श्रम स्वीकृति तथ्यांकमा समावेश छैनन्।

तसर्थ, यसरी वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपाली श्रमिकलाई अब वैधानिकीकरण श्रम स्वीकृति पाउने व्यवस्थालाई मन्त्रालयले सहजीकरण बनाएको हो। यस्तो श्रम स्वीकृति माग गर्दा श्रमिकले स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमको प्रमाण पेस गर्नुपर्दैन।

श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेस गरेमा श्रम स्वीकृति प्रदान गर्न अख्तियारी पाएका मन्त्रालयअन्तर्गत कार्यालय वा निकायबाट वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिने छ।

अफगानिस्तानमा जाने श्रमिकहरूको हकमा भने नेपाल सरकारको मन्त्रिपरिषद्को २०७३ असोज २० को निर्णयबमोजिम हुनेछ। साथै सप्लाएर कम्पनीको सिफारिसपत्र कार्यालय वा विभागको इमेलमा आउनुपर्ने छ। तर, नेपाल सरकारले वैदेशिक रोजगारमा जान खुला नगरेको मुलुक र पेसाको हकमा यो व्यवस्था लागु हुने छैन।

वैधानिकीकरण श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिनुपूर्व अनलाइन प्रणालीमा सम्बन्धित व्यक्तिको फोटो खिचिने वा औंठाछापमध्ये कुनै एक वा दुवै लिइने छ।

श्रम स्वीकृति प्रदान गरिने जुन निकाय वा कार्यालयमा कामदारको फोटो खिचिएको र जैविक विवरण लिइएको हो। श्रमिकले वैधानिकीकरण श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीमा सोही निकाय वा कार्यालय मात्र छनोट गरी आवेदन दिनुपर्ने छ।

यसअघि ‘अन्य प्रकृतिका भिसामा गई वैदेशिक रोजगारीबाट फर्केका कामदारको श्रम स्वीकृति’ शीर्षकमा यस्तो खालको श्रम स्वीकृति प्रदान गरिन्थ्यो। तर, यस्तो खालको श्रम स्वीकृति लिन श्रमिक नेपाल नै आएको हुनुपर्ने व्यवस्था थियो। साथै श्रमिकले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो।

त्यस्तै, नेपालबाट पहिला श्रम स्वीकृति लिई कुनै पनि देशमा वैदेशिक रोजगारीमा गएको व्यक्ति बिचमा अर्को देशमा श्रम स्वीकृति लिई गएकामा पुनः पहिले श्रम स्वीकृति लिई गएको देशमा भिसा प्राप्त गरी रोजगारीका लागि जान चाहेमा भिसा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था हटाइएको छ।

पहिलाकै मुलुकमा जान चाहेमा सम्बन्धित मुलुकसँगको श्रम सम्झौता र ई–भिसाको आधारमा पुनः श्रम स्वीकृति दिन सकिने व्यवस्था गरेको छ। यसअघि भने यस्तो व्यवस्था थिएन।

त्यस्तै, व्यक्तिगत श्रम स्वीकृतिमा प्रमाणीकरण सुरु गर्ने र निर्णय गर्ने जिम्मा कम्प्युटर अपरेटर, नायब सुब्बा, भाषा अनुवादक, शाखा अधिकृत र अधिकृतलाई जिम्मा दिइएको छ। जसले भिसाको प्रकृति, जारी मिति, अन्तिम मितिको रुजु गर्नेछन्।

साथै नेपाली वा अंग्र्रेजी भाषा अनुवाद गर्ने, बायोमेट्रिक नभएको हकमा फिंगर प्रिन्ट स्क्यान गर्नेछन्। यसअघिको व्यवस्थाअनुसार दुईवटा तहबाट श्रम स्वीकृति प्रमाणीकरण गर्ने व्यवस्था थियो। कम्प्युटर अपरेटर, नायब सुब्बा र भाषा अनुवादकले कागजपत्र रुजु गर्ने र शाखा अधिकृतले श्रम स्वीकृति प्रमाणित गर्ने व्यवस्था थियो।

त्यस्तै, मन्त्रालयले कार्यविधि संशोधन गर्दै पुनः श्रम स्वीकृति माग गर्दा यसअघि श्रम स्वीकृति भएको निस्सा पेस गर्नु नपर्ने व्यवस्था गरेको छ। श्रम स्वीकृति माग गर्दा यसअघि श्रम स्वीकृति भएको निस्सा पेस गर्नु नपर्ने व्यवस्था गरेको छ।

अनलाइन प्रणालीबाट श्रम स्वीकृति प्रदान गर्दा अनलाइन प्रणालीमा प्रविष्ट भएका सम्पूर्ण सूचनाको आधिकारिकता सम्बन्धमा प्रणालीमा विवरण प्रविष्ट गर्ने सम्बन्धित व्यक्ति वा संस्था नै पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ।

प्रयोगकर्ताले गलत सूचना (कागजात) प्रविष्ट गरेको कारणले हुन जाने समस्या तथा कानुनी कारबाहीको भागीदार सम्बन्धित संस्था वा व्यक्ति नै हुनेछन्।

श्रम स्वीकृतिको माग गर्दा सम्बन्धित व्यक्ति वा संस्थाले प्रणालीमा प्रविष्ट नगरी अन्य व्यक्ति वा संस्थालाई प्रविष्ट गर्न लगाएको अवस्थामा विवरण प्रविष्ट गर्ने दोस्रो व्यक्ति वा संस्थाले आफैं वा विवरण प्रविष्ट गर्नुपर्ने व्यक्ति वा संस्थाको अनुरोधमा रद्द भइसकेका भिसालाई वैध भिसा बनाई वा अन्य प्रकारको भिसालाई गैरकानुनी रूपमा कामदार भिसामा परिवर्तन गरी वा अन्य व्यक्तिको कागजात सच्चाइ आफैं जस्तो हुने गरी गलत सूचना वा कागजात प्रविष्ट गरेमा अन्य व्यक्ति वा संस्थाको विवरण प्रविष्ट गर्ने दोस्रो व्यक्ति वा संस्थालाई समेत मतियारका रूपमा प्रचलित कानुनबमोजिम सजाय व्यवस्था छ।

Published on: 15 May 2024 | Nagarik

Link

Back to list

;