s

अब वैदेशिक रोजगार कार्यालयमा लाइन बस्नु नपर्ने

वैदेशिक रोजगार कार्यालय ताहाचलबाट सेवा लिन अब लाइन बस्नु नपर्ने भएको छ । कार्यालयले आइतबारदेखि लागू हुने गरी अनलाइन टोकनमार्फत सेवा दिने तयारी गरेको छ।वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले आइतबारदेखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीबाट सेवा प्रवाह गरिने जानकारी दिए ।

सरकारले असोज १५ गतेदेखि उक्त सेवा सुरु गरेपनि ताहाचलबाट उक्त सेवा सुरु हुन सकेको थिएन । सूचना प्रणाली अन्तर्गत सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग लागयतका सेवा एकैद्वारबाट पाउने छन् ।

आइतबारदेखि सेवाग्राहीले अनलाइन सिष्टममार्फत टोकन नम्बर(सिरियल नम्बर) र मिति पाउने छन्, त्यसैका आधारमा सेवाग्राही आएमा भीड लाग्ने छैन’ उनले भने । यस्तो सेवाका लागि सेवाग्राही आफैले फारम भर्न सक्ने छन् । कार्यलयबाहिर रहेका बिमा कम्पनीमार्फत पनि सेवा सक्ने छन् । सेवाग्राहीले फारम स्कानिङ गरेर आफ्नो युजर र आइडीबाट अनलाइन सिष्टममा अपलोड गर्नुपर्ने छ ।

कार्यालयले एकदिनमा ९ सयदेखि ९ सय ५० जनासम्मलाई सजिलै सेवा दिन सक्ने जनाएको छ । यस्तो व्यवस्थाले सेवाग्राहीलाई भोक, तिर्खा केही नभनी लाइन बस्न झन्झटबाट मुक्त गर्नेछ । यतिमात्र नभई विचौलिया र कर्मचारीको मिलोमतो पनि निराकरण हुने कार्यालय प्रमुख खतिवडाले जानकारी दिए । कार्यालयले बिहीबारदेखि परिसरभित्र  पिउने पानीको व्यवस्था गरेको छ भने बस्ने बेन्च पनि थपेको छ । त्यस्तै घामपानीबाट बच्नका लागि सेड निर्माणको अन्तिम तयारी भइहरको खतिवडाले जानकारी दिए ।

पछिल्लो समयमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राहीको अत्याधिक भीड बढेको छ । चाडपर्व मानेर विदेश फर्कने कामदारका कारण कार्यालयमा भीड लागेको हो ।सेवाग्राहीले सास्ती पाएका कारण आइतबारदेखि पूर्णरुपमा अनलाइन सिष्टमबाट सेवा दिन थालिएको खतिवडाले जानकारी दिए।

सरकारले छिट्टै परिसरभित्र क्यान्टिन चलाउने व्यवस्था गर्न लागेको छ । ‘क्यान्टिन चलाउन केही समय लाग्न सक्छ, सानो स्केलमा क्यान्टिन चलाएर सम्भव छैन’ उनले भने ।

वैदेशिक रोजगार विभागले कात्तिक २७ गतदेखि सम्बन्धित नेपाली नियोगबाट प्रमाणित भई आएपछि मात्र श्रम स्वीकृति प्रदान गर्ने गरेकाले पछिल्लो समय धेरै सेवाग्राही अलमलमा परेका छन्।

सरकारले छिट्टै सातप्रदेशबाट वैदेशिक रोजगारसम्बन्धी सेवा दिने तयारी थालेको छ । प्रदेशबाटै सेवा दिन थालेपछि सेवाग्राहीको संख्या घट्ने र सहज तरिकाले सेवा दिन सकिने खतिवडाले जानकारी दिए ।

Published on: 30 November 2018 | Annapurna Post

Back to list

;