s

अब अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति पनि कोषमा

सरकारले बुधबारदेखि औपचारिक रूपमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने व्यवस्थाको सुरुवात गर्ने भएको छ । कोषमा आबद्ध हुन चाहने यस्ता श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम कोषमा योगदान गर्नुपर्नेछ । जसमध्ये ११ प्रतिशत रकम श्रमिक आफैँले व्यहोर्नुपर्नेछ भने ९ दशमलव ३७ प्रतिशत रकम सरकारले थप गर्नेछ । तर, स्वरोजगार व्यक्तिले भने न्यूनतम पारिश्रमिकको ३१ प्रतिशत रकम योगदान गर्नुपर्नेछ ।

ऐनबमोजिम कोषले स्थानीय निकायसँगको समन्वयमा योजना सञ्चालन गरिने कोषका सहायक प्रवक्ता रोहितराज रेग्मीले बताए । सुरुवातमा नमुनाका रूपमा केही स्थानीय निकायबाट कार्यक्रमको सुरुवात गरिनेछ । ‘केही स्थानीय निकाय पाइपलाइनमा छन् । उनीहरूसँग छलफलपछि क्रमिक रूपमा स्थानीय निकायबाट कार्यक्रम सुरु गरिनेछ,’ उनले भने ।

श्रमिकका लागि के–के छन् सुविधा ?

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अनौपचारिक क्षेत्रमा श्रमिक तथा स्वरोजगार व्यक्तिले कोषले सञ्चालन गरेको सबै खालको सुविधामा सहभागी हुन पाउनेछन् । कोषले जारी गरेको निर्देशिकाअनुसार योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा, वृद्ध अवस्था सुरक्षा योजनामा सहभागी हुन पाउनेछन् ।

निर्देशिकाअनुसार अनौपचारिक क्षेत्रका श्रमिकले कोषमा भुक्तानी गरेको योगदान रकममध्ये १० दशमलव ३७ प्रतिशत रकम औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजनामा जम्मा गर्नेछ । बाँकी १० प्रतिशत रकम वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा गर्नेछ ।

तर, स्वरोजगारमा रहेका व्यक्तिले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकदेखि अधिकतम यसको तीन गुणासम्म रकमको ३१ प्रतिशतले योगदान गर्न सक्नेछन् । त्यस्तो रकम कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १ दशमलव ४० प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनाका लागि २८ दशमलव ३३ प्रतिशत विनियोजन गर्नेछ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता दुर्घटनामा परी अस्पतालमा उपचार गर्दा लागेको उपचार खर्चको अधिकतम सात लाख रुपैयाँ उपचार खर्च कोषले भुक्तानी गर्नेछ । दुर्घटनाको कारण अस्थायी पूर्ण अक्षमता भएमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम मासिक रूपमा योगदानकर्ता काममा फर्कन सक्ने अवस्था नभएसम्म प्रदान गरिनेछ ।

साथै, दुर्घटनाका कारण स्थायी अक्षमता भएमा योगदानकर्ताको अक्षमताको अनुपातमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकमलाई शतप्रतिशत मानी अक्षमता प्रतिशतका आधारमा जीवनकालभर निवृत्तिभरण सुविधाबापत मासिक रूपमा कोषले रकम भुक्तानी गर्नेछ । स्थायी पूर्ण अक्षमता भएमा योगदानकर्ताले न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम मासिक रूपमा जीवित रहुन्जेल कोषले भुक्तानी गर्नेछ ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत भने योगदानकर्ताको मृत्यु भएमा पति वा पत्नीले न्यूनतम आधारभूत पारिश्रमिकको र स्वरोजगार श्रमिकका लागि औसत पारिश्रमिकको ४० प्रतिशतका दरले निजलाई जीवनभर निवृत्तिभरण प्रदान गरिनेछ । योगदानकर्ताको अठार वर्ष उमेर पूरा नभएका सन्ततिले शैक्षिकवृत्तिबापत न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा पाउनेछन् ।

निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ता ६० वर्ष भएपछि निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने योगलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनकालभर निवृत्तिरभण भुक्तानी गर्नेछ । तर, योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा हकवालाले एकमुष्ट रकम प्राप्त गर्नेछ । योगदानकर्ताले निवृत्तिभरण पाउन सुरु गरेपछि मृत्यु भएमा योगदानकर्ताको पति वा पत्नीले निवृत्तिभरण रकमको ५० प्रतिशत रकम जीवनकालभर प्राप्त गर्नेछन् ।

ऋण, सापटी तथा छुटको पनि सुविधा

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिले ऋण, सापटी तथा छुटको समेत सुविधा पाउनेछन् । योगदानकर्ताले ६ महिनाभन्दा बढी अवधिको योगदान रकम एकमुष्ट भुक्तानी गरेमा १० प्रतिशत छुट हुनेछ ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजनाबमोजिम प्रदान गर्ने सुविधामा लगातार तीन वर्षसम्म दाबी नगर्ने योगदानकर्तालाई निवृत्तिभरण योजनामा समावेश हुने गरी निवेदन दिएमा त्यस्ता योजनामा जम्मा भएको रकमको २० प्रतिशत छुट रकम निवृत्तिभरण योजनामा हस्तान्तरण गरिनेछ । सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि श्रमिक र स्वरोजगारमा रहेमा व्यक्तिले घटना घटेको भन्दा अघिको १२ महिनामा कम्तीमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्नेछ ।

Published on: 12 July 2023 | Naya Patrika

Link

Back to list

;