s

अब तालिम नलिने कामदार विदेश जान नपाउने !

सरकारले वैदेशिक रोजगारीमा जाँदा तालिम नलिनेलाई श्रम स्वीकृति नदिने तयारी गरेको छ । वैदेशिक रोजगारीमा जानेलाई एक हप्ताको तालिम अनिवार्य गर्ने तयारी थालेको छ । कम्तीमा एक हप्ताको सीपमूलक तालिम लिएका व्यक्ति मात्रै वैदेशिक रोजगारीमा जानका लागि योग्य बन्ने भन्दै त्यसै अनुसारको तयारी थालिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
 
वैदेशिक रोजगार विभागका निर्देशक रघुराज काफ्लेले अबको एक वर्षभित्र अनिवार्य तालिम लिएकालाई मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीककृति दिने तयारी थालिएको बताए । सकेसम्म एक महिना नभए कम्तीमा एक हप्ता तालिम लिएकाले मात्रै विदेश जान पाउने गरी बोर्डले नीतिगत व्यवस्था गर्न लागेको हो । उनले एक महिना वा सोभन्दा कम समयको छोटो तालिम, एक महिनाभन्दा बढी र तीन महिनाभन्दा कम समयको मध्यम तालिम र तीन महिनाभन्दा बढी समयको लामो अवधिमा गरी तीन तहको तालिमको प्रस्ताव गरिएको जानकारी दिए ।
 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले तयार पारी हालै श्रम तथा रोजगार मन्त्रालयले पारित गरेको ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम सञ्चालन कायविधि’ अनुरुप अब तालिमका कार्यक्रम अघि बढाइनेछ । यही प्रावधान अनुसार तालिम नलिएकाको हकमा अबको एक वर्षपछि श्रम स्वीकृति नदिने नीति ल्याउन लागिएको हो । रोजगारीका लागि गएका अन्य देशका कामदारले आवश्यक सीप सिकेर आउने गरेको तर नेपालबाट जाने कामदारहरुसँग सीप नहुने भएकै कारण अन्य देशका नागरिकको तुलनामा नेपाली कामदारले जोखिमयुक्त र अरूले छोडेका काम गर्नु परिरहेको छ ।
 
नेपालमा शिक्षा मन्त्रालय अन्तर्गतका प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी), श्रम मन्त्रालय अन्तर्गत व्यावसायिक तालिम केन्द्रबाट विभिन्न सीपमूलक तालिम दिने गरिए पनि ती तालिम वैदेशिक रोजगारीलाई लक्षित गरिएका छैनन् ।
 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र सुरक्षित आप्रवास परियोजना (सामी)ले वैदेशिक रोजगारलाई नै लक्षित गर्दै विभिन्न तालिम दिने गरेका छन् । तर नेपालबाट विदेश जाने संख्याको तुलनामा त्यो तालिम पाउनेको संख्या निकै कम छ ।
 
बोर्डले अहिलेसम्म २० हजार जनालाई निःशुल्क तालिम दिएको कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिऐ । यो वर्ष पनि थप १० हजार जनालाई सीपमूलक तालिम दिने गरी प्रस्ताव आह्वान गरिसकेको उनले जानकारी दिए । यस्तै सामीले वैदेशिक रोजगारीलाई नै लक्षित गर्दै पछिल्लो पाँच वर्षमा आठ हजार जनालाई तालिम दिइसकेको सामीका टिम लिडर सीता घिमिरेले जानकारी दिइन् ।
 
सामीले विभिन्न इन्स्टिच्यूटहरु मार्फत कुक, वेटर÷वेट्रेस, हाउसकिपिङ, सरसफाई, कफी मेकर, फ्रन्ट अफिस लगायतका क्षेत्र, निर्माण क्षेत्र अन्तर्गत मेसन, स्काफोल्डिङ, आल्मुनियम फेब्रिकेटर, वेल्डिङ, फर्निचर एण्ड फर्निसिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, सटरिङ कार्पेन्टर, स्टिल फिक्सर, हाउसपेन्टिङ, कार्पेन्टर, हाउस वायरिङ लगायतको तालिम दिने गरेका छन् । यस्तै तालिम वैदेशिक रोजगारीमा जानेहरुलाई निःशुल्क दिइन्छ ।
 
Published on: 13 April 2018 | Madhyanha

Back to list

;