s

अब विदेशीलाई कडा निगरानी

शम्भु कट्टेल

विभिन्न उद्देश्यले नेपाल छिरेका विदेशी नागरिकको प्रवेश, उपस्थिति, प्रस्थानलगायत गतिविधिलाई गृह मन्त्रालयले गम्भीर निगरानी गर्ने भएको छ। विदेशी अनुगमन निर्देशिका पारित भएसँगै नेपालमा बस्ने विदेशीको गतिविधि निगरानी गर्ने र आवश्यक परे खराब आचरणका विदेशीलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयलाई बाटो खुलेको छ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७४’ स्वीकृत गरेका छन्। यससँगै नेपालमा विभिन्न उद्देश्यले आफ्ना गतिविधि सञ्चालन गर्दै आएका विदेशी नागरिकमाथि कडा निगरानी हुने भएको हो। अध्यागमन विभागका महानिर्देशक संयोजक रहेको निर्देशिका कार्यान्वयन समितिले शंकास्पद विदेशीको अनुगमन गर्ने र त्यस्ता विदेशी नागरिकलाई तत्काल नियन्त्रणमा लिन सक्नेछ। विभागका महादिर्नेशकले अध्यागमन अधिकृतको संयोजकत्वमा सुरक्षा निकायका अधिकारीलाई समेत सम्मिलित गराई जुनसुकै बेला जुनसुकै स्थानमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी र शंका लागे उनीहरूलाई नियन्त्रणसमेत गर्न सक्ने प्रावधान निर्देशिकामा उल्लेख छ।
 
निर्देशिकाले आवश्यक परे बिनासूचना शंकास्पद स्थलको अनुगमन र त्यसको अनुसन्धान गर्ने अधिकारसमेत दिएको छ। नेपालमा गैरकानुनी रूपमा बस्दै आएका विदेशीको यकिन तथ्यांक छैन। त्यस्ता विदेशी ठूलो संख्यामा नेपालमा रहेको आशंका गरिएको छ। विदेशीको नेपाल प्रवेश, उपस्थितिलाई व्यवस्थित एवं नियन्त्रण गर्न गृह मन्त्रालयले निर्देशिका कार्यान्वयनमा ल्याएको हो। विदेशीको अनुगमन गर्न बनेको निर्देशिका गृह मन्त्रालयले पारित गरेको अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले बताए। ‘नेपालमा रहँदा यहाँको प्रचलित अध्यागमन ऐन, नियमका परिधिभित्र रही बस्नुपर्ने विषयमा विदेशीलाई अझ बढी जिम्मेवार र जवाफदेही बनाउनुपर्ने आवश्यकता छ’, उनले भने।
 
नेपालमा बसेका अधिकांश विदेशी नागरिकले प्रवेशाज्ञा (भिसा) अनुसारको काम नगरेको, भिसाको म्याद गुज्रिएपछि समेत नेपालमा बसेको र कतिपय व्यक्ति धर्मप्रचारमा समेत संलग्न भएकाले उनीहरूलाई नियमन गर्न गृह मन्त्रालयले निर्देशिका ल्याएको हो। विदेशी नागरिक अनुगमन गर्दा शान्ति, सुव्यवस्था, सुरक्षा, सिमानाको रक्षा र कानुनको शासनलाई प्राथमिकतामा राखेर अनुगमन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। निर्देशिका कार्यान्वयनमा आएसँगै गैरकानुनी एवं भिसाको दुरुपयोग गरी बस्दै आएका विदेशीको नेपाल बसाइ कठिन हुने भएको छ। कतिपय विदेशी नागरिक गैरकानुनी गतिविधमा समेत संलग्न हुँदै आएको पाइएको छ।
 
कुनै पनि विदेशी नागरिकका गतिविधिमाथि शंका लागे निवास र उनीहरूले सञ्चालन गरेका संघसंस्थामा प्रवेश गर्ने, छापा मार्ने र सोधपुछसमेत गर्ने अधिकार निर्देशिकाले दिएको छ। अनुगमनका क्रममा कसैले बाधा सिर्जना गर्न खोजे वा असहयोग गरे त्यस्ता व्यक्तिलाई समेत तत्काल पक्राउ परी कानुनबमोजिम कारबाही गर्न सकिने व्यवस्था छ।
 
अनुगमनका क्रममा पक्राउ परेका विदशीबारे नेपालस्थित सम्बन्धित मुलुकको नियोगमा तत्काल जानकारी गराइनेछ। निर्देशिकाले खानतलासी पुर्जी, खानतलासी तथा बरामदी मुचुल्का एवं थुनुवा पुर्जीसमेत दिने व्यवस्था गरेको छ। विदेशी नागरिक अनुमगनका लागि केन्द्रीय तहमा गृहमन्त्रीको अध्यक्षतामा विदेशी नागरिक अनुगमन केन्द्रीय निर्देशक समिति बनेको छ। उक्त समितिमा गृह मन्त्रालय हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य, गृहसचिव, अर्थसचिव, पर्यटन सचिव, उद्योग सचिव, श्रम सचिव, परराष्ट्र सचिव, तीनवटै सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सदस्य रहनेछन्। अध्यागमन विभागका महानिर्देशक भने उक्त समितिको सदस्य सचिव रहनेछन्।
 
केन्द्रीय निर्देशन समिति मातहतमा गृहसचिवको संयोजकत्वमा केन्द्रीय अनुगमन समन्वय समिति र जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अध्यामगन जिल्ला समन्वय समिति रहनेछन्। केन्द्रीय समन्वय समितिको प्रत्यक्ष निर्देशनमा रहने गरी अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा नौ सदस्यीय कार्यान्वयन समिति रहनेछ।
 
Published on: 24 May 2018 | Annapurna Post

Back to list

;