s

आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न लागिपरेको छु : मन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागिपरेको बताएका छन् । 

मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरूबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे । नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारी संगठनद्वारा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

मन्त्री श्रेष्ठले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीको समस्या समाधान हुने गरी उनीहरूको सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि आफूले काम गरिरहेको बताएका थिए । 

‘कर्मचारी समायोजनबाट उत्पन्न समस्या सरकारले समाधान गर्नका लागि तपाईहरूसँग हातेमालो गर्नेछ । त्यस्तै संघीयतालाई प्रशासनिक रुपमा व्यवस्थापन गर्न सरकारले शीघ्र संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलगायत अस्थायी, करार, ज्यालादारी कर्मचारीको समस्यालाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धताका लागि पनि मेरो तर्फबाट हाम्रो मन्त्रालय गम्भीर भएर लागि परेको छ । यसको नेतृत्वको पनि यो संगठनलाई लिन म आग्रह गर्न चाहन्छु,' मन्त्री श्रेष्ठले भने ।

यस अवसरमा मन्त्री श्रेष्ठले कर्मचारीहरूको समायोजनपछि उत्पन्न समस्या समाधान गर्नेलगायत कामका लागि सरकारले छिट्टै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको पनि बताएका थिए ।

Published on: 31 January 2022 | Kantipur

Link

Back to list

;