s

अवैध बिदेसिने महिला रोक्दै फर्केकाहरू

अवैध रूपमा भारतीय बाटो हुँदै वैदेशिक रोजगारीमा जाने र दु:ख पाउने महिलाको संख्या बढ्दै गएपछि रुपन्देहीका महिलाले त्यसलाई रोक्न अभियान थालेका छन् । खाडी मुलुकमा रोजगारी गरेर फर्केकाले अभियान चलाएका हुन् । अभियान सक्रिय बनाउन उनीहरूले सुरक्षित आप्रवासन महिला सरोकार केन्द्र नामक संस्था गठन गरेका छन् । 

जसमा वैदेशिक रोजगारीबाट फर्केका करिब ६ सय महिला आबद्ध छन् । केन्द्र अध्यक्ष ज्ञानीसरा रानाले आफू जाने ठाउँको न्यूनतम जानकारी पनि हासिल नगरी दलालमार्फत अवैध रूपमा विदेश जाँदा आफूले पाएको दु:ख अरूलेे भोग्न नपरोस् भनेर अभियान थालेको बताइन् । 'दलालले रोजगारीका लागि कुन देशमा लैजाने, के काममा लैजाने, कति समयका लागि लैजाने, कुन बाटो लैजाने भन्नेसम्म जानकारी नदिई गाउँका चेली खुरुखुरु खाडी मुलुकमा पुर्‍याउने र रकम आफूले कुम्ल्याउने गरेका छन्,' अध्यक्ष रानाले भनिन्, 'उनीहरूको यो जालमा हाम्रा दिदीबैनी नपरून् र परेका पनि छुटून् भन्ने हाम्रो चाहना हो ।' 

महिलाले १५ गाविसमा घरदैलो गरेर सुरक्षित वैदेशिक रोजगारीबारे सिकाउने गरेका छन् । यसका लागि उनीहरूलाई विभिन्न परियोजनाले सहयोग गरेका छन् । उनीहरूलाई आप्रवासी कानुन र वैदेशिक रोजगार अधिकारबारे प्रशिक्षण दिइएको छ । यस आधारमा विदेशबाट फर्केका महिला विदेश जान चाहने गाउँका जोकोही महिलालाई भेट्ने, कहाँ, किन जाने र कोसँग जाने पत्ता लगाएर पठाउने काम गर्छन् । कहिले सडक नाटक त कहिले छलफल चलाउँछन् । गाउँबाट कुनै युवती वैदेशिक रोजगारीमा जाँदै छे भन्ने थाहा पाएपछि यो समूह घरमा पुग्ने गरेको छ । त्यस्ती युवती र उनका अभिभावक तथा परिवारका सदस्यलाई कारण सोध्ने गरेका छन् । कारण पत्ता लागेपछि कुन देशमा जाने, किन जाने र कसरी, कोसँग जाने भनेर सोधपुछ गर्छन् । 

सोधपुछमा दलालमार्फत अवैध रूपमा जान लागेको भए व्यक्ति स्वयम्लाई तथा घरपरिवारलाई भनेर रोक्ने गरेका छन् । 'यत्तिले पनि नपुगे गाउँका अगुवालाई भनेर उनीहरूलाई सम्झाउने, दलाललाई पक्राउ गर्ने र सचेत पार्ने गरेका छौं,' मधौलियामा अभियान चलाएकी केन्द्रकी उपाध्यक्ष चन्द्रा थापाले भनिन् । वैध तरिकाले जानेलाई रोजगारीका चुनौती र समस्याबारे सिकाउने र भरसक स्वदेशमा बस्न प्रेरित गर्छन् । केन्द्रकी कोषाध्यक्ष धना पराजुलीले महिलालाई वैदेशिक रोजगारीमा जानुपूर्व सम्भावित चुनौती र सम्भावनाबारे सिकाउँदा विदेशको सट्टा स्वदेशमा श्रम गर्ने महिला बढेकोे बताइन् । 

रोजगारीमा गएर रकम नलिई र्फकने र दु:ख पाएर घर र्फकने महिला पुन: घरपरिवार र समाजबाट पनि अपहेलनामा पर्ने जिल्लामा धेरै छन् । समस्या हुन नदिन आप्रवासन केन्द्रका महिलाहरूले विदेशबाट बिचल्लीमा परेर आएकालाई घरसमाजमा पुन: स्थापित गर्न पनि सहयोग गरेका छन् । उनीहरूको सहयोगबाट चालु आर्थिक वर्षको महिनामा मात्रै दललामार्फत भारतीय बाटो हुँदै खाडी जान हिंडेका ५१ युवती रोकिएको तथ्यांक छ । विदेशमा बिचल्लीमा परेर फर्केका १५ महिला घरपरिवारमा पुन: स्थापित भइसकेका छन् । जिल्लाका कति महिला खाडी मुलुकमा छन् ? तथ्यांक छैन । कम पढाइ भए पनि पुग्ने, धेरै रकम नलाग्ने घरायसी कामकाजका लागि सीप नचाहिने भन्दै कुनै सीप र प्रशिक्षणबिनै यहाँका महिलाहरू खाडी मुलुकमा रोजगारीका लागि जाने गरेका छन् । नेपालबाट र स्वीकृति प्राप्त संस्थाबाट जाँदा धेरै रकम खर्च हुने भन्दै खाडी मुलुकमा जाने धेरै महिला भारतीय बाटो हुँदै दलालमार्फत जाने गरेका छन् । 

Published on: 15 December 2014 | Kantipur

Back to list

;