s

औद्योगिक क्षेत्रका मजदुरमा फैलिँदै संक्रमण

अमर खड्का

सुनसरीको औद्योगिक कोरिडोर क्षेत्र दुहवी उद्योगमा काम गर्ने मजदुरमा एकपछि अर्को गर्दै कोरोना संक्रमण पुष्टि हुने क्रम बढेको छ। दुहवीमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएपछि केही मजदुरको पिसिआर परीक्षण गर्दा १० जनाको पोजेटिभ पुष्टि भएको हो। दुहवी स्वास्थ्य शाखाका अनुसार प्रिमियर स्टिल उद्योग प्रालिमा सात, पूर्वाञ्चल डेस्टिलरी उद्योग प्रालिमा दुई र अन्नपूर्ण जुत्ता चप्पल उद्योगमा एकजनामा कोरोना पुष्टि भएको छ। 

उद्योगका मजदुरमा कोरोना पोजेटिभ भएपछि अन्पूर्ण जुत्ता चप्पल उद्योग प्रालि, अन्नपूर्ण रवर उद्योग प्रालि र अन्नपूर्ण स्लिपर उद्योग प्रालि अर्को निर्र्णय नहुन्जेलसम्मका लागि बन्द गर्ने निर्णय वडा नंं. ८ कार्यालयले गरेको छ। उद्योग प्रशासनलाई अरू मजदुरको पिसिआर परीक्षण गर्न र उद्योगमा सेनिटाइज गर्न पनि वडा कार्यालयले पत्रचार गरेको छ। यस्तै, प्रिमियर स्टिल उद्योग र पूर्वाञ्चल डेस्टिलरी उद्योग पनि ७२ घण्टा सिल गरी संक्रमित मजदुरको सम्पर्कमा रहेका थपको पिसिआर परीक्षण गर्ने र उद्योगमा सेनिटाइज गर्ने निर्णय भएको दुहवी नगरपालिका प्रमुख वेद गच्छदारले बताए। 

‘केही मजदुरको नमुना परीक्षण गर्दा कोरोना पुष्टि भएपछि अब थप मजदुरको उद्योगले नै पिसिआर गर्न भनेका छांै,’ मेयर गच्छदारले भने, ‘उद्योगले नगरे नगरपालिकाले नै गर्ने तयारी गरेका छौं।’ यसअघि पनि दुहवी क्षेत्रका उद्योगमा तीन मजदुरलाई कोरोना पुष्टि भएको थियो। अहिलेसम्म उद्योगका मजदुर मात्र दुहवी क्षेत्रमा १३ जना पुगेका छन्। 

सुनसरीका नाम चलेका उद्योग अरिहन्त मल्टिफाइवर्स, अरिहन्त पोलिप्याक, सनराइज पेपर मिल, एसियन थाइफुड, अन्नपूर्ण जुत्ता चप्पल उद्योग, पशुपति पेन्ट्स, पशुपति वायर, ओम प्लाइउडलगायतका ठूला तथा साना गरी ७५ उद्योग छन्। यी उद्योगमा कोरोना महामारीपछि थुप्रै मजदुर कटौती गरे पनि कम्तीमा १२ हजार अहिले पनि कार्यरत छन्।

Published on: 22 August 2020 | Nagarik

Link

Back to list

;