s

आठ नेपाली चेलीको उद्धार

Mahesh Acharya

खाडी मुलुक जोर्डनमा काम गराउन भारत हुँदै लग्न लागिएका ८ नेपाली युवतीलाई नयाँदिल्लीबाट उद्धार गरिएको छ । दिल्ली पहाडगन्जस्थित एक होटलमा बिहीबार राति छापा मारी दिल्ली प्रहरी र यहाँस्थित हेल्प नेपाली मिसनले उद्धार गरेका हुन् । काभ्रे, झापा, प्यूठान र ओखलढुंगाका ती युवती २० देखि २४ वर्षका छन् । तीमध्ये ५ जना विवाहित हुन् ।

नेपाली दूतावासमा शुक्रबार आएका पीडितले काठमाडौं बस्ने प्यूठानका समीर मियाँले पहाडगन्जस्थित होटलमा ल्याएर अर्का दलाल जोर्डनी नागरिक फायेस नसर सबाहबुलिजको जिम्मा लगाएको बताए । केहीले ललितपुर हात्तीवन बस्ने राजु भन्ने तेजबहादुर श्रेष्ठ र वीरेन्द्र खनालमार्फत आफूहरू जोर्डन जान लागेको जनाए । जोर्डनी नागरिकसँगै अन्य दुई भारतीय दलालले होटलमा केहीलाई यौन दुव्र्यवहार प्रयास गरेपछि एक युवती, नेपालीले सञ्चालन गरेको नजिकैको क्याफेमा भागेर पुगेकी थिइन् । त्यस क्याफेका सञ्चालकले हेल्प नेपाली मिसनलाई युवतीको अवस्थाबारे खबर गरिदिएका थिए ।

उक्त संस्थाले खबर गर्नासाथ प्रहरी युवती राखिएको होटलमा पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा दलालहरूले युवतीलाई अर्काे होटल सारिसकेका थिए । उनीहरूलाई सारेको होटलमा प्रहरीले छापा मारी जोर्डनीसहित ती भारतीयलाईर् पक्राउ गरेको मिसन अध्यक्ष कवि कार्कीले जनाए । भारतीय नागरिकको नाम खुल्न सकेको छैन । पक्राउ परेका तीनै जनालाई कारबाही गर्नुपर्ने माग गर्दा पनि प्रहरीले उनीहरूलाई लेनदेनपछि छाडिदिएको आरोप पीडितको छ । पीडितहरूलाई जोर्डनमा हाउस मेडमा काम लगाइदिने र १५ देखि १८ हजार रुपैयाँ मासिक तलब हुने आश्वासन दिएका थिए । सामान्य लेखपढसमेत नजान्नेदेखि एसएलसी गरेका तीमध्ये केहीले यसअघि लेबनन र कुवेतमा काम गरेका थिए । केहीले त जोर्डन जान लागेको घरमा समेत नभनेको बताए । उद्धार गरिएमा केहीले कमाइ नगरी र्फकनुपर्दाको दुःखेसो पोखे ।

नेपाली महिला कामदारका लागि जोर्डन खुला नरहेको जानकारी आफूहरूलाई नभएको र प्रशस्त पैसा कमाउने आशामा त्यता जान लागेको उनीहरूले बताए । आफ्नै श्रीमान् र नातेदारले बाध्य पारी अवैध रूपमा काम गर्न पठाएको दुःखेसो पनि केहीले पोखे । आठ युवतीमध्ये दुईले दलाललाई ३२ हजार र २२ हजार छुट्टाछुट्टै दिएको बताए ।

नेपाली महिला भारतीय बाटो हुँदै दिनहुँ अवैध रूपमा खाडी पुग्ने गरेका छन् ।

Published on: 28 May 2011 | Kantipur

Back to list

;