s

आठ वर्षमा साढे ५७ लाख एमआरपी वितरण

टेकराज थामी

आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् । सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१ राहदानी वितरण भएको राहादानी विभागले जनाएको छ । विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत पुरुष छन् । ४६ लाख ३३ हजार नौ सय ६५ पुरुष र ११ लाख ६ हजार नौ सय ८० महिलाले एमआरपी लिएका छन् । यस्तै, अन्य परिचय खुलाएर एमआरपी लिनेको संख्या २६ मात्रै छ ।

राहदानी विभागका सूचना अधिकृत तीर्थराज अर्यालले जनवरीसम्म वितरण भएको एमआरपीमा पुरुषको संख्या धेरै रहेको बताए । ‘वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या बढी भएकाले यसो भएको हुन सक्छ । तर, आधिकारिक कारण खोजी भएको छैन,’ अर्यालले भने ।

आठ वर्षमा एमआरपी

पुरुष : ४६,३३,९६५

महिला : ११,०६,९८०

अन्य : २६

जम्मा : ५७,४०,९७१

जिल्लाबाट धेरै वितरण

नेपालमा राहदानी वितरणबारे अनुसन्धान गरेको फ्याक्टस् रिसर्च एन्ड एनाइटिक्सको तथ्यांकअनुसार धेरै एमआरपी जिल्लाबाटै वितरण भएका छन् । जिल्लाबाट मात्रै २८ लाख नौ हजार सात सय २४ एमआरपी वितरण भएका छन् । यो कुल एमआरपी संख्याको ४८.९४ प्रतिशत हो । जिल्लाबाट एमआरपी वितरण गर्न भने २०११ बाट सुरु भएको हो । सुरुआतबाटै वितरण गरिएको राहदानी विभागबाट २२ लाख ४६ हजार दुई सय १२ एमआरपी वितरण भएका छन् । यो कुल संख्याको यो ३९.१२ प्रतिशत हो । २०११ बाटै वितरण सुरु भएको विदेशस्थित कूटनीतिक नियोगबाट ६ लाख ८५ हजार ३५ अर्थात् ११.९३ प्रतिशत एमआरपी वितरण भएको छ ।

 काठमाडौंबाट धेरै वितरण

राहदानी विभागले २०११ देखि २०१९ को जनवरीसम्ममा मुलुकको सबै जिल्लाबाट २८ लाख नौ हजार सात सय २४ एमआरपी वितरण गरेको छ । जसमा सबैभन्दा धेरै काठमाडौंबाट जारी भएका छन् । तथ्यांकअनुसार सात वर्षमा काठमाडौंबाट मात्रै दुई लाख १० हजार चार सय ८२ एमआरपी जारी भएका छन् । यस्तै, झापाबाट एक लाख ६२ हजार पाँच सय १६ र मोरङबाट एक लाख ३१ हजार ७९ एमआरपी वितरण भएका छन् ।

चौथोमा रूपन्देहीबाट एक लाख १९ हजार दुई सय ६६, चितवनबाट एक लाख सात हजार पाँच सय ७७, नवलपरासीबाट ९८ हजार आठ सय ४२, कास्कीबाट ८४ हजार ९२, ललितपुरबाट ६९ हजार सात सय ८२, कपिलबस्तुबाट ६२ हजार सात सय ६५ र काभ्रेबाट ६७ हजार ६ सय पाँच एमआरपी वितरण भएका छन् ।

 सबैभन्दा कम डोल्पाबाट

विभागको तथ्यांकअनुसार सबैभन्दा कम एमआरपी डोल्पाबाट वितरण भएका छन् । नौ वर्षमा डोल्पाबाट ११ जनाले मात्रै एमआरपी लिएका छन् । कालिकोटबाट ७५ एमआरपी वितरण भएको छ । यस्तै, मुगुबाट एक सय चार, हुम्लाबाट एक सय ६४, मनाङबाट तीन सय १९, जाजरकोटबाट तीन सय ३३, बाजुराबाट सात साय ६ एमआरपी वितरण भएका छन् ।

त्यस्तै, सोही अवधिमा बझाङबाट एक हजार चार सय सात, जुम्लाबाट एक हजार चार सय ९९ र दार्चुलाबाट एक हजार ६ सय ८३ एमआरपी जारी भएका छन् । राहदानी वितरणको संख्या तलमाथि हुनुमा जनसंख्या कारक रहेको राहदानी विभागका सूचना अधिकृत अर्यालले बताए । ‘जहाँ जनसंख्या धेरै छ, त्यहाँ धेरै राहदानी वितरण भएका छन् । जहाँ कम छ, त्यहाँ कम नै वितरण भएका छन्,’ उनले भने ।

 ४६०० रातो पासपोर्ट वितरण

सरकारले कूटनीतिक नियोगमा काम गर्ने र विशिष्ट व्यक्तिका लागि रातो पासपोर्ट वितरण गर्छ । आठ वर्षमा मुलुकभर रातो पासपोर्ट चार हजार ६ सय जारी भएका छन् । कार्यालय प्रयोजनका लागि सरकारले नीलो रङको पासपोर्ट पनि जारी गर्छ । यो पासपोर्ट हालसम्म १५ हजार आठ सय ८९ वटा जारी भएका छन् । पर्यटकका लागि एक हजार पाँच सय ११ यात्रा अनुमतिपत्र जारी गरिएको छ ।

रोजगार र शिक्षाका लागि बिदेसिने क्रम बढ्दो

मनीष झा

सिइओ, फ्याक्ट्स नेपाल

१० वर्षमा जारी भएका एमआरपीको तथ्यांक विश्लेषण गर्दा सहर र शिक्षित भनिएका ठाउँका मानिसले धेरै पासपोर्ट लिएको देखिन्छ । यसले के देखाउँछ भने, रोजगार र शिक्षा हासिल गर्ने उद्देश्यले विदेश जाने क्रम बढ्दो छ । अर्को, घुम्ने संस्कृतिको पनि विकास भएको देखिन्छ । घुम्नका लागि नेपाली विश्वका विभिन्न स्थानमा जाने गरेको तथ्यांक विश्लेषणबाट देखिन्छ ।

Published on: 1 April 2019 | Nayapatrika

Back to list

;