s

‘आशैआशमा कटिरहेका छन् सनैयामा दिनहरु’

होम कार्की

काठमाडौँ — सधैं दिन एकनासको हुँदैन भन्थे, दिल भट्टराईलाई अहिले त्यस्तै लाग्छ । दैनिक १२ घण्टा काममा खटिने भट्टराई यतिखेर खाटमा पल्टिरहेको छन् । उनी गाडी मर्मत गर्ने कम्पनीमा काम गर्थे । ग्यारेजमा सधैं भीडभाड हुन्थ्यो ।

‘कतारमा बसेको एकदशक भयो। बिहान उठेदेखि बेलुकासम्म काममै हुन्थें। हाम्रो शरीर मेसिन जस्तो भइसकेको थियो,’ सनैयास्थित सडक नम्बर १६ मा कार्यरत भट्टराईले भने, ‘अहिले क्याम्पबाट बाहिर निस्कन नपाएको १० दिन भयो। यो कहिलेसम्म हुन्छ? केही थाहा छैन।’

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनको लागि मार्च १७ देखि कतारी प्रशासनले उनी बसेको स्थानलाई सिल गरिदियो। कोहीपनि बाहिर निस्कन पाएका छैनन्। ‘ग्यारेजभित्र ४० जना कामदार छन्। कामविहीन भएपछि दिन काट्नै मुस्किल हुँदो रहेछ। धेरै बस्दा पनि ढाड दुख्छ। मोवाइल कति चलाउने? भित्रबाहिर गर्ने ठाउँ छैन। माथि छतमा गएर हेर्दा सनैया पुरै मानव विहीन देखिन्छ,’ उनले भने, ‘कोही पनि क्याम्प बाहिर निस्किएका छैनन्।’

हरेक क्याम्पको नजिक जसो सामान बेचबिखन गर्ने बकला (किराना पसल) छ। बकला पनि बिहान ९ बजेदेखि एकदुई घण्टा मात्रै खुल्छ। बकलामा पहिलेजस्तो सामान पाउन छाडेको छ। ‘हरियोसाग सब्जी नदेखेको एकहप्ता भइसक्यो। यसरी पुरै लक हुन्छ भन्ने थाहा पनि पाइएन,’ उनले भने, ‘बिहान उठ्दा पुरै सनैयाको गल्ली गल्लीमा प्रहरी तैनाथ भइसकेको थियो। बकलामा चिकेनहरु पाइन्छ। किलोमा आलु किन्न पाइँदैन। थोरैथोरै किन्न पाइन्छ।’

उनीहरुलाई कम्पनी आफैंले खाना खुवाउने व्यवस्था गरेको छैन। आफैंले सबै जोहो गर्नुपर्छ। ‘हाम्रो कम्पनीमा सबैको छुट्टाछुट्टै भान्सा छ। मधेसका साथीहरु एक्लाएक्लै पकाएर खान्छन्। हामी ४/५ जनाको मेस छ,’ उनले भने, ‘अहिलेसम्म पहिला किनेर राखेको चामल दालले नै दिन कटिरहेको छ।’

दाङका रणबहादुर केशीको कम्पनीले भने खानाको प्रबन्ध मिलाएको छ। उनी बस्ने क्याम्पमा झन्डै ३ सय जना कामदार बस्छन्। ‘क्याम्पको गेटमा ताल्चा छ। कसैलाई सामान किन्न भित्र बाहिर गर्नुपर्दैन। कम्पनीले मेसको खाना खुवाउँछ। बाहिरतिर अरु क्याम्पका साथीहरु भने एक्लैएक्लै बकला हिँडिरहेको देखिन्छन्,’ उनले भने, ‘हरेक क्याम्पभित्र छिर्ने बाटोमा प्रहरीको गाडी २४ घण्टा नै पहरा दिइरहेको छ। सीआईडीको गाडी जतिखेर पनि घुमिरहेको हुन्छ। डिपोर्ट हुने डरले हामी त बाहिर निस्कदैनौं।’

उनले स्वास्थ्यको तापक्रम नाप्न कम्पनीबाट नियमित नर्स आउने बताए।

प्राय क्याम्पहरु १०/१५ मिटरको दूरीमा राखिएको छ। सबैको आ–आफ्नो गेट छ। ‘हाम्रो क्याम्प परिसरमा झन्डै ५ हजार कामदार होला। कसैलाई गेटबाट बाहिर निस्किन दिइएको छैन। एउटा कोठाबाट अर्को कोठामा जाँदै दिन बितिरहेको छ। तर अधिकांस साथीहरु एउटा कोठाबाट अर्को कोठामा नहिँड्न भन्छन्,’ धनुषाका महेश्वर रायले भने, ‘यो आफ्नै सुरक्षाको लागि हो। आफैं सचेत हुनुपर्ने समय हो। यसलाई अन्यथा लिनुपर्ने अवस्था छैन।’

नियमित काम गर्नुपर्ने उनीहरु तलब पाउने कि नपाउने भन्नेमा भने चिन्तित छन्। ‘कतार सरकारले त तलब काट्न नपाउने भनेको सुन्छु। कम्पनीले अब के गर्छ,’ उनले भने, ‘अहिले चाँही हामीलाई स्वास्थ्य परीक्षण नै गरिदिए हुन्थ्यो भन्ने लागेको छ।’

उनले खानाको अभाव भएपनि सरकार वा दूतावाससँग आशा गर्नुको विकल्प नरहेको वताए। कतारले लकडाउनमा राखिएको सनैयाको सडक नम्बर १ देखि ३२ भित्र रहेका कामदारलाई खानाको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ। यो क्षेत्रमा मात्रै झन्डै ५० हजार नेपाली रहेका छन्। नेपालीसहित सबै आप्रवासी कामदारलाई खाद्यान्य र औषधिजन्य सामग्री उपलब्ध गराउनका लागि दोहा बैंकले २० लाख रियाल (करि‍ब ६ करोड रुपैयाँ) कतार च्यारिटीलाई प्रदान गरेको छ।

कतार च्यारिटी मार्फत कामदारलाई खाद्यान्न उपलब्ध गराइनेछ। गैरआवासीय नेपाली संघ, कतारले खानाको अभाव भएमा सूचना दिन अनुरोध गरेको अध्यक्ष मुक्तदा मुसलमानले बताए। ‘पछिल्ला हप्तादेखि क्वारेन्टाइनमा परेका नेपाली कामदारले खानाको अभाब वा अन्य केही समस्या भएको सुचना पाएमा हामीले कतारी निकायसग समन्वय गर्नेछौं,’ उनले भने।

तनहुँका राजु डुम्रे आफुहरु पहिलेकै जस्तो दिनको प्रतिक्षामा बसिरहेको बताए। ‘सनैयामा जुन चहलपहल थियो। त्यो अहिले छैन। अहिले त खाली ज्यान जोगाउने अभियानमा छौं। साथीभाइसँग टाडिएर बसेका छौं,’ उनले भने, ‘बिहान ४ बजेदेखि नै डिउटी जान क्याम्पबाट निस्किन्थें। बेलुका घाम अस्ताएपछि क्याम्प फर्किन्थें। दिनभरको थकाइले आरामले निद्रा लाग्थ्यो। मानसिक तनाव थिएन। म त पहिलेकै सनैयाको आशामा बसिरहेको छु।’

Published on: 27 March 2020 | Kantipur

Link

Back to list

;