s

आसामका कोठीमा नेपाली युवतीको तस्करी

नेपाली युवतीहरूलाई भारतको आसाम राज्यमा सञ्चालित कोठीमा लगेर बिक्री हुने गरेको खुलेको छ । आसामको कछर जिल्लाको सिल्चर भन्ने ठाउँमा लगेर नेपाली युवतीलाई बिक्री गर्ने एक अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिकाकी ३० वर्षीया एलिना खत्रीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार एक पीडितलाई गत वर्ष २४ कात्तिकमा नुवाकोटबाट काठमाडौं लैजाने भन्दै आसाम लगिएको थियो । खानेकुरामा बेहोस हुने औषधि मिसाएर बेहोस बनाई आसाम पुर्‍याइएको पीडितले बताएकी छिन् । माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा पीडित किशोरीको हालै उद्धार भएको थियो । नेपाल आएपछि पीडितले प्रहरीमा उजुरी दिएकी हुन् ।

मानव तस्करी प्रकरणमा भारतीय नागरिकसहित ६ जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनीहरूले धेरै नेपाली युवतीलाई त्यहाँ पुर्‍याएको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेकी एलिनामाथि यसअघि पनि मानव बेचबिखन मुद्दा दायर भइसकेको छ । गत पुसमा उनी झापामा पक्राउ परेकोमा अदालतको आदेशले एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेकी थिइन् । उनका श्रीमान् भारतीय नागरिक अजित साह पनि मानव बेचबिखन मुद्दामै झापाको कारागारमा छन् ।

Published on: 16 May 2023 | Naya Patrika

Link

Back to list

;