s

आरन चलाएर दैनिक २ हजार आम्दानी

अछाम — मंगलसेन नगरपालिका–४ डुंग्राका तारा विश्वकर्मा १३ वर्षको उमेरमै रोजगारीको खोजीमा भारतका विभिन्न सहर पुगे । जीवनको ऊर्जाशील समय बिताएका भारततिर बिताएका ४५ वर्षीय उनी अचेल भने आफ्नै ठाउँमा पुर्ख्यौली पेसा अपनाएर दैनिक दुई हजार रुपैयाँ आम्दानी गरिरहेका छन् ।

गत वर्ष सदरमुकाम मंगलसेनमा थालेको आरन व्यवसायमा श्रीमती झुमाले सघाउँदै आएकी छन् ।

घरपरिवारको झमेलाबाट मुक्त हुन उनी डुंग्रा टोलबाट मंगलसेन बजारमा सरे । सुरुमा ज्याला मजदुरी गरेर कोठाभाडा र श्रीमान्–श्रीमतीसहित एक छोराको खर्च जुटाउन थालेका उनी परम्परागत व्यवसायबाट राम्रै कमाइ हुन थालेपछि दर्ता गरेरै आरन चलाउन थालेका हुन् । ‘ठूलै लगानी गरेर बजारमा व्यवसाय गर्ने सोच थिएन । गुजारा चलाउन समस्या थियो,’ ताराले भने, ‘बजारमा पुरानो घर पाएपछि ४ वटा बाख्रा पनि घरबाट ल्याएर आएका थियौं । जसोतसो गुजारा चलाउनु पर्ला भन्ने सोचेको थिए । मंगलसेन वरिपरि खेतिपाती गर्ने धेरै देखेँ । तर आरन चलाउने कोही देखिनँ ।’ त्यसैले आफूसँग भएका सामानलाई प्रयोग गरेर आरन चलाउन सुरु गरेको उनले बताए ।

आरन व्यवसाय सुरु गर्दा बजार क्षेत्रका धेरैले अचम्म मानेको उनले सुनाए । कतिले त उनलाई गाउँबाट बजारमा आएर पनि पुर्ख्यौली काम छाड्न नसकेको भन्दै होच्याउनेसमेत गरे । तर उनी विचलित भएनन् । ‘कि त पढेलेखेको भए जागिर पाउँथेँ, अन्य काम गर्थेँ । आफूसँग अरु केही सीप छैन । जे सीप थियो त्यही काम सुरु गरेँ,’ ताराले भने, ‘विश्वकर्मा समुदायले मात्रै आरन चलाउने परम्परा थियो । यो त हाम्रो पहिचान पनि हो नि । काम गर्नलाई अप्ठ्यारो मान्नु हुँदैन ।’

उनका अनुसार पहिले घरायसी औजार बनाइदिएबापत अन्न लिने चलन थियो । कसले कुन–कुन परिवारको आरनको काम गर्ने भनेर समेत छुट्याउने गरिन्थ्यो । त्यसरी चलेको आरन व्यवसाय अहिले ज्याला नगदमै लिने गरिएको छ । ‘अहिले कुटो, हँसिया धार लगाएको ३० रुपैयाँ, बन्चरो, खुँडा, तरबार धार लगाउँदा एक सय रुपैयाँ लिन्छु । खुकुरी, हँसिया, खुँडा पनि बनाउछु,’ उनले भने,‘सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन्; सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ ।’

आरन चलाएरै दैनिक १५ सयदेखि २ हजार रुपैयाँ आम्दानी भइरहेको उनले बताए । उनका ग्राहक मंगलसेनभित्रका मात्रै छैनन् । पञ्चदेवल विनायक, कमलबजार, ढकारी र तुर्माखाँदबाट अन्य कामको सिलसिलामा सदरमुकाम आइरहनेहरू पनि उनकै आरनमा बनाएका घरेलु औजार लैजाने गर्छन् ।

ताराले आरन व्यवसाय सुरु गरेको थाहा पाएपछि उनकोमा ग्राहक बन्दै आएका कमलबजार नगरपालिका–६ का दिलबहादुर शाहीले आफूलाई पनि सहज भएको बताए । ‘हामीजस्ता धेरै परिवारको मुख्य पेसा अहिले पनि कृषि नै हो । गाउँमा खेतबारीका लागि औजार बनाइदिने मान्छे अहिले पाइँदैनन्,’ उनले भने, ‘नयाँ पुस्ताले पुर्खाले गरेको पेसामा चासो दिँदैनन् । अन्य समुदायलाई यसबारे ज्ञानै छैन ।’ मंगलसेनमा व्यावसायिक रुपमै आरनको काम गर्दा धेरै किसानलाई राहत पुगेको उनले बताए ।

Published on: 21 July 2023 | Kantipur

Link

Back to list

;