s

आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन् — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को आदेश जारी नभएसम्मका लागि अमेरिकामा आप्रवासीमाथि रोक लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सोमबार बिहान ट्वीट गर्दै आप्रवासी नागरिकमाथि अस्थायी रूपमा प्रतिबन्ध लगाउने आदेशमा आफूले चाँडै हस्ताक्षर गर्ने जनाए । कोरोना भाइरसको संकटका कारण अमेरिकामा बढेको बेरोजगारीलगायत समस्याका कारण ट्रम्पले यस्तो कदम चाल्न लागेका हुन् ।

‘अदृश्य दुस्मनको आक्रमणपछिको असहज अवस्थालाई ध्यानमा राख्दै र हाम्रा महान् अमेरिकाका नागरिकको रोजगारी बचाउनका लागि अमेरिकामा अन्य देशमा नागरिकको बसोबासमाथि रोक लगाउने अस्थायी कार्यकारी आदेशमाथि हस्ताक्षर गर्दै छु,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् ।

आप्रवासीमाथि रोक लगाउने मापददण्ड तथा प्रक्रियाबारे भने राष्ट्रपतिले प्रस्ट पारेका छैनन् । उनको योजनाबाट कुन कुन प्रक्रियामा असर पुग्ने र राष्ट्रपतिले त्यसो गर्न सक्ने वा नसक्नेबारे भने अन्योल छ ।

आलोचकहरूले ट्रम्पको पछिल्लो घोषणालाई कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई कारण देखाएर आप्रवासनप्रति कडा कदम चालिन लागिएको जनाएका छन् । राष्ट्रपतिमा निर्वाचित भएदेखि नै ट्रम्पले आप्रवासीप्रति अनुदार नीति अख्तियार गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले अमेरिकामा कोभिड–१९ को महामारी अत्य उन्मुख भएको दाबी गरेलगत्तै ट्रम्पले यस्तो घोषणा गरेका हुन् । भाइरसको संक्रमण थप फैलन नदिन विभिन्न राज्यले लगाएका प्रतिबन्धका कारण अमेरिकी अर्थतन्त्रमाथि निकै ठूलो प्रभाव परेको जनाइएको छ ।

अमेरिकामा कोभिड–१९ का कारण विगत केही सातामा २ करोड मानिसले रोजगारी गुमाएको दाबी गरिएको छ । संघीय सरकारका अनुसार कम्तीमा एक करोड मानिसले बेरोजगारी सुविधाका लागि आवेदन दिइसकेका छन् ।

अमेरिका कोभिड–१९ का कारण विश्वमै सबैभन्दा बढी प्रभावित देश हो । जोन हप्किन्स विश्वविद्यलायका अनुसार मंगलबार साँझसम्म अमेरिकामा ४२ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । करिब ७ लाख ९० हजारमा यसको संक्रमण पुष्टि भइसकेको छ । झन्डै ७३ हजार निको भएका छन् ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपतिले अस्थायी रूपमा नयाँ ग्रिनकार्ड जारी गर्न रोक लगाउन सक्नेछन् । त्यसैगरी, उनले कामदार भिसा तत्कालका लागि स्थगित गर्न सक्छन् । जानकारहरूका अनुसार राष्ट्रपतिले विदेशीलाई अमेरिकामा बस्न र काम गर्नका लागि निश्चित अवधिसम्म रोक लगाउन सक्ने घोषणा गर्नेछन् ।

कोभिड १९ को कारण देखाउँदै अमेरिकाले गत महिनादेखि नै आप्रवासनलगायत लगभग सबै प्रकारका भिसा प्रक्रिया बन्द गरिसकेको छ । त्यसैगरी, चीन तथा बढी प्रभावित युरोपेली देशबाट भ्रमणमा समेत रोक लगाइएको थियो तर विद्यार्थी, स्थायी कामदार र व्यवसायीका लागि भने प्रवेश अनुमति दिँदै आइएको थियो ।

त्यसैगरी, अमेरिकाले क्यानडा र मेक्सिकोसँगका सीमा अत्यावश्यक सेवाका लागि बाहेक मे महिनाको मध्यसम्म बन्द राख्ने सहमति गरिसकेको छ । हालैका साताहरूमा आपत्कालीन अधिकारको उपयोग गर्दै अमेरिकाले मेक्सिको सीमा क्षेत्रबाट आएका हजारौं आप्रवासीलाई निष्कासन गरिसकेको छ ।

सन् २०१९ मा करिब १० लाख मानिसले कानुनसम्मत तरिकाले अमेरिकामा स्थायी बसोबास अनुमति पाएका थिए । तीमध्ये अधिकांश मेक्सिको, चीन, भारत, डोमिनिकन रिपब्लिक, फिलिपिन्स र क्युबाका थिए ।

तीमध्ये ४ लाख ५९ हजार जना त्यसै वर्ष अमेरिका प्रवेश गरेका थिए भने बाँकी केही वर्षदेखि विभिन्न हैसियतमा बस्दै आएका थिए । त्यसैगरी, कंगो, म्यान्मार, युक्रेन, इरिट्रिया, अफगानिस्तान र सिरियाबाट अमेरिका पुगेका ३० हजार शरणार्थीले पनि स्थायी बसोबास अनुमति पाएका थिए ।

राष्ट्रपतिको पछिल्लो घोषणाको विपक्षी दल डेमोक्रयाटिकका कतिपय नेताले आलोचना गरेका छन् । क्यानिफोर्नियका सिनेटर कमला हयारिसले कोभिड–१९ को महामारीलाई ट्रम्पले आप्रवासनविरोधी आफ्नो अडान कार्यान्वयन गर्ने मौकाका रूपमा लिएको बताइन् । त्यसैगरी, डेमोक्रयाटिकका तर्फबाट यसअघि राष्ट्रपतिको उम्मेदवार रहेकी एमी क्लोबुचरले पनि निर्णयको भत्र्सना गरेकी छन् ।

सत्तारूढ दल रिपब्लिकनका अधिकांश नेताले भने ट्रम्पको कदमको समर्थन गरेका छन् । एरिजोना राज्यका तर्फबाट कंग्रेस प्रतिनिधि पल गोसारले राष्ट्रपतिको बचाउ गर्दै अमेरिकीले रोजगारी नपाएसम्म अरूलाई रोक्नु निकै उत्तम हुने बताएका छन् ।

अमेरिकामा के भइरहेको छ ?

राष्ट्रपति ट्रम्पले प्रतिबन्धका कारण अर्थतन्त्र खस्केको तथा लाखौं मासिनले रोजगारी गुमाएका भन्दै तत्काल हटाउने पक्षमा छन् तर अधिकांश राज्यका गर्भनरहरूले त्यसमा असहमति जनाउँदै आएका छन् ।

विपक्षी दल डेमोक्रयाटिकका गर्भनरहरूले ह्वाइटहाउसले मानिसहरूलाई घरमै बस्न आग्रह गर्नुपर्ने माग गरेका छन् । कपितय राज्यमा लकडाउन अन्त्यको माग गर्दै विरोध प्रदर्शनहरूसमेत भएका छन् । राष्ट्रपति ट्रम्पले नैतिक समर्थन रहेको जनाएपछि त्यस्ता प्रदर्शनहरू झन् बढेका जनाइएको छ । उनले लकडाउन अन्त्यका लागि गभर्नरलाई निर्देशन दिइसकिएको र चरणबद्ध रूपमा प्रतिबन्ध हट्ने बताउँदै आएका छन् ।

सोमबारको नियमित पत्रकार सम्मेलनमा ट्रम्पले गभर्नरको प्रतिबन्ध तथा सामाजिक दूरी कायम राख्नुपर्ने घोषणाको विरोधमा उत्रेका मानिस महान् भएको बताए । ‘उनीहरूको जीवन उनीहरूबाटै अलग गरिएको थियो । ती सबै देशलाई माया गर्नेहरू हुन्, जो काममा फर्कन चाहन्छन्,’ उनले भने ।

साउथ क्यारोलिनाले खुद्रा पसल तथा डिपार्टमेन्ट स्टोर खोल्न अनुमति दिएको बीबीसीले जनाएको छ । त्यसैगरी, टेनेस्सीले अधिकांश व्यवसाय मे १ देखि खुला गर्ने जनाएको छ । जर्जियाका गर्भनरले जिम, सैलुन, पार्लर, ट्याटु केन्द्र शुक्रबारदेखि खोल्न दिने घोषणा गरेका छन् । त्यसैगरी सिनेमा हल, रेस्टुराँ तथा अन्य व्यवसाय पनि अर्को सातादेखि खुला हुने जनाइएको छ । यी तीनवटै राज्यमा रिपब्लिकन गभर्नर छन् ।

Published on: 21 April 2020 | Kantipur

Link

Back to list

;