s

आप्रवासी कामदारका दुःख : ‘सामान्य कुरा नबुझ्दा धेरै ठगियौँ’

कास्की — सामाजिक विकास मन्त्रालयमा आप्रवासी श्रमिक दिवसको आवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी तारा गुरुङले वैदेशिक रोजगारीमा जो कोहीले पनि पुर्‍याइदिन्छु भन्दै ठग्ने गरेको बताइन् । नेपाल सरकारले वैदेशिक रोजगारसम्बन्धी कानुन बनाए पनि स्वदेश तथा विदेशमै ठगिने संख्या बढ्दो रहेको उनको भनाइ थियो ।

‘म्यानपावरको ठगी उस्तै छ,’ उनले भनिन्, ‘जाने व्यक्तिले केही बुझेको हुँदैनन् । म्यानपावरले जे बोल भन्यो त्यही बोलिएको हुन्छ ।’ वैदेशिक रोजगारीमा लैजाने भन्दै ठग्ने व्यक्तिलाई हदैसम्मको सजाय हुनुपर्ने उनको माग थियो । सरकारले सीपबिनै श्रमिक बाहिर पठाउँदा समस्या देखिएको उनको भनाइ छ । लामो समय उनी वैदेशिक रोजगारीपछि स्वदेश फर्किएकी हुन् ।

पोखरा महानगरपालिका–४ की वडा सदस्य रजनी परियारले वैदेशिक यात्रामा पुगेका श्रमिकले दुर्घटना हुँदा श्रम सम्झौता गरेबापत पाउने रकम पनि दाबी गर्न नसक्ने गरेको सुनाइन् । उनले आफ्नो बिमाबारे नेपाली अनभिज्ञ हुने बताउँदै भनिन्, ‘त्यसैमा पनि दलालले ठगीदिन्छ । विदेश जाँदा श्रम अनिवार्य गर्नुपर्छ । दुर्घटना भएमा क्षतिपूर्तिको माग गर्न पाइन्छ भन्ने विषयमा पनि जानकारी छैन ।’ कतिपय श्रमिकले आफ्नो बिमाको पोलिसी नम्बर पनि थाहा नपाएको उनले बताइन् । उनका श्रीमान् पनि रोजगारीको सिलसिलामा देशबाहिर छन् ।

कास्कीको मादी गाउँपालिकाका खेमराज सापकोटाले वैदेशिक रोजगारीको सिलसिलामा भोगेका समस्या सुनाए । उनले रोजगारीको सिलसिलामा ६ वर्ष बहराइनमा बिताएको बताउदै विगत कोट्याए, ‘त्यो सयम दुई नराम्रा दुर्घटनाका साक्षी भएँ । जुन घटनाले मलाई अझै पनि पिरोल्छ ।’ मासिक ४०–४५ हजार रुपैयाँ कमाउन बहराइन पुगेका उनले सहकर्मीको कार्यस्थलमै मृत्यु हुँदा पैसा र ज्ञानकै अभावले शव पठाउन ६ महिना लागेको सापकोटा सम्झिए । बहराइनमा पुगेर बिमा नगर्दा ती मृतकका परिवारले क्षतिपूर्ति पाउन नसकेको सापकोटाले बताए । ‘उनीहरूसँग पनि पैसा रहेनछ, हामीसँग पनि थिएन,’ उनले भने, ‘पैसा उठाएर ६ महिनापछि शव नेपाल पठाएका थियौँ ।’

त्यस घटनापछि भारतका एक व्यक्तिको मृत्यु हुँदा परिवारले ५५ लाख रुपैयाँ पाएको र शव पनि सजिलै पठाएको घटना सुनाउँदै सापकोटाले भने, ‘नेपालबाट जाने अधिकांश श्रमिकको अवस्था यस्तै छ ।’ श्रम कार्यालय पोखराका प्रमुख सुरेश ढकालले वैदेशिक रोजगारीमा जाने संख्यामध्ये गण्डकी प्रदेश पनि उच्च रहेको बताउँदै ठगीका मुद्दा पनि बढ्दो क्रममा रहेको बताएका थिए । उनले गण्डकी प्रदेशमा नै १७ हजार ३ सय न्यूनतम पारिश्रमिक नपाउने ८० प्रतिशत रहेको तथ्यांक सुनाए । सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत श्रमिक संगठनका अध्यक्ष विष्णुहरि भुगाइले कोरियाको उदाहरण दिँदै वैदेशिक यात्रामा जानेहरुलाई जिटुजीमार्फत पठाउँदा श्रमिक सुरक्षित हुने बताएका छन् । भाषा सिकेकै भरमा पनि अन्य देशमा भन्दा कोरिया जाने नेपाली सुरक्षित रहेको उनको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेलले नेपालमा बढी ठगी धन्दा म्यानपावरमा रहेको बताउँदै यसलाई सुधार गर्न नसकिएको दुःखेसो पोखे । जिटुजीमार्फत मात्र कामदार पठाउनुपर्ने कुरामा सरकारको जोड हुनुपर्ने उनको भनाइ छ ।

नेपालबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा जानेको संख्या ७१ लाख नाघिसकेको छ । हाल दैनिक सरदर २ हजार २ सय जना वैदेशिक रोजगार जाने गरको तथ्यांक छ । सामीका अनुसार गत आर्थिक वर्षमा गण्डकी प्रदेशबाट ९९ हजार ८ सय ३ जना वैदेशिक रोजगारमा गए । जसमध्ये महिला ८ हजार ३ सय ५७ जना छन् । गण्डकीका एघार जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जाबाट गएका छन् भने, तनहुँ, बाग्लुङ रहेका छन् । यसका लागि गण्डकी प्रदेश सरकारले श्रम तथा रोजगार नीति २०७८ कार्यान्वयनमा ल्याएको छ ।

Published on: 25 December 2023 | Kantipur

Link

Back to list

;