s

आप्रवासी कामदारलाई आआफ्नै ठाउँमा सुरक्षित रहन आग्रह

काठमाडौँ, वैशाख ९ गते — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा विदेशमा रहेका नेपाली श्रमिकलाई जो जहाँ जे जस्तो अवस्थामा रहे पनि सुरक्षित भएर बस्न आग्रह गरेको छ । विदेशमा समस्यामा परेका नेपाली श्रमिकले विभिन्न देशबाट स्वदेश फर्काउन सरकारलाई आग्रह गरिरहेका बेला श्रम मन्त्रालयले तत्काल स्वदेश र कतिपय श्रम गन्तव्य देशमा बन्दाबन्दी रहेकाले वर्तमान परिस्थितिमा जुन देशमा रहे पनि त्यहीँ सुरक्षित भएर बस्न आग्रह गरेको हो ।
श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले वैदेशिक रोजगारको सिलसिलामा विभिन्न गन्तव्य मुलुकमा रहेका नेपाली नागरिकमा अप्ठ्यारो पर्न गएकोप्रति मन्त्रालय गम्भीर रहेको भन्दै गन्तव्य मुलुकमा सङ्क्रमणबाट सुरक्षित भएर बस्न आग्रह गर्नुभयो ।
सरकारले विदेशमा रहेका नेपालीका निमित्त आवश्यक सहयोग गर्न कूटनीतिक नियोग निरन्तर परिचालन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले विज्ञप्तिमार्फत विभिन्न कारणवश गन्तव्य मुलुकमा बेखर्ची भई खानबस्नको समस्या, भिसा वा काम गर्ने सम्झौताको म्याद सकिएको अथवा तलबलगायतका अन्य विषयमा कुनै गुनासो वा समस्या भएमा सम्बन्धित नेपाली दूतावास, कूटनीतिक नियोग वा आधिकारिक निकायका प्रतिनिधिलाई सम्पर्क राखी आवश्यक सहयोग लिनसमेत आग्रह गर्नुभएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट सुरक्षित हुन विश्वजगत् यतिखेर सङ्घर्षरत छ । यो क्रममा विभिन्न देशमा रोजगार, अध्ययन र भ्रमणका क्रममा रहेका नेपाली बढी प्रभावित बनेका छन् । नेपाल र श्रम गन्तव्य मुलुकमा बन्दाबन्दी भएपछि कैयौँ नेपाली श्रमिक त्यसको प्रत्यक्ष प्रभावमा परेका छन् ।
सबैभन्दा बढी नेपाली रहेका देश खाडी र मलेसियामा कैयौँ नेपालीले सम्बन्धित देशमा विभिन्न समस्या भोग्नुपरेको गुनासो गरेका छन् । जति समस्या परे पनि यथास्थितिमा स्वदेश फर्कन नपाएका कारण कतिपय विदेशमा रहेका नेपालीलाई आफ्नै देश परदेशजस्तै लाग्न थालेको गुनासोसमेत गर्न थालेका छन् ।
खाडी मुलुकमा रहेका श्रमिक भिसा सकिएर नेपाल आउने तयारीमा रहेका र बिदासमेत लिएर नेपाल फर्किने तयारी गरिरहेकाहरू अहिले बढी समस्यामा रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले जनाएको छ । मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीले मन्त्रालयको कल सेन्टरमा फोन सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

Published on: 21 April 2020 | Gorakhapatra

Link

Back to list

;