s

आप्रवासी कामदारलाई खाद्यान्‍न उपलब्ध गराउन दोहा बैंकले दियो २० लाख रियाल

होम कार्की

काठमाडौँ — कतारस्थित दोहा बैंकले सनैया क्षेत्रमा निगरानीमा राखिएका नेपालीसहित झन्डै ५० हजार आप्रवासी कामदारलाई खाद्यान्न र औषधिजन्य सामग्री उपलब्ध गराउनका लागि २० लाख रियाल (करिब ६ करोड रुपैयाँ) कतार च्यारिटीलाई प्रदान गरेको छ । कतार च्यारिटीमार्फत कामदारलाई खाद्यान्न  उपलब्ध गराइनेछ ।

उच्चस्तरीय संकट व्यवस्थापन समितिले कामदारलाई खाद्यान्न अभाव हुन नदिने निर्णय गरेपछि दोहा बैंकले यो सहयोग उपलब्ध गराएको हो । सनैयाको सडक नम्बर १ देखि ३२ सम्म भित्र रहेका कामदारको आवतजावत पूर्ण रुपमा रोक लगाइएको छ । त्यसभित्र स–साना कम्पनीहरुका क्याम्पसमेत रहेका छन् । ती कम्पनीले कामदारलाई आवश्यक खाद्यान्न उपलब्ध गराउन सकेका छैनन् ।

‘सबै कम्पनीहरुले कामदारलाई खाना उपलब्ध गराएको छैन । कतिपय कामदार आफैले खाद्यान्न जुटाउनुपर्छ’, सनैयामा रहेका झापाका उमेश चौहानले इकान्तिपुरलाई भने,‘साना पसलहरुमा सबै सामान पाइँदैन । हरियो सागसब्जीहरुको अभाव देखिन थालेको छ ।’

कतारले गत मार्च १७ बाट कामदारलाई आवतजावत गर्न रोक लगाएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि कतार सरकारले त्यस क्षेत्रलाई जोखिम क्षेत्रको रुपमा पहिचान गरेको हो । नेपाली दूतावासले पनि खाद्यान्नको अभाव भएमा कतारी संयन्त्र वा दूतावासमा खबर गर्नका लागि आग्रह गर्दै आएको छ ।

Published on: 26 March 2020 | Kantipur

Link

Back to list

;