s

‘आफ्नै गाउँ फर्की आएँ’

दसैं नजिकिएसँगै धनगढीस्थित बसपार्कमा यात्रुको चहलपहल बढेको छ  । बसपार्कमा दैनिक ४ सय गाडी ओहोरदोहोर गर्छन  ।

दसैं नजिकिएसँगै धनगढीस्थित बसपार्कमा यात्रुको चहलपहल बढेको छ । बसपार्कमा दैनिक ४ सय गाडी ओहोरदोहोर गर्छन । प्राय: सबै गाडीमा यात्रुको चाप छ । काठमाडौंबाट मात्रै दैनिक १५ बस धनगढीका लागि छुट्छन् । पोखरा र विराटनगर लगायत अन्य सहरबाट पनि दैनिक ५/७ गाडीले यात्रु झार्छन् । धनगढीबाटै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्ला जाने यात्रुको पनि उस्तै चाप छ ।

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा प्रदेश राजधानी धनगढीबाट दैनिक ५०/६० गाडीमा यात्रु बाहिरिने गरेका छन् । ‘अध्ययन, रोजगारी र पुख्र्याैली घरमा दसैं मनाउन जानेहरू यहाँबाट बाहिरिने गरेका छन्,’ धनगढी बसपार्कमा होटल व्यवसाय गर्ने भानबहादुर साउँदले भने, ‘यो बसपार्कमा भीडभाड हुने समय हो ।’

धनगढी बसपार्कबाट चाडबाडको बेला बाहिरिने भीडमा भारतबाट घर फर्कनेहरूको सख्या धेरै हुने उनी बताउँछन् । बसपार्कमा भेटिएका अछाम चौखुट्टेका जोन खड्काले आफू दसैं मनाउन घर फर्किन लागेपनि धनगढीबाट अछामको टिकट पाउन मुस्किल भएको बताए । ‘टिकटका पनि दलालको बिगबिगी छ,’ उनले भने, ‘काउन्टरबाटै टिकट पाउन समस्या छ ।’ थुप्रै यात्रु सिटका लागि दलालबाट टिकट किन्नु परेको बताउँछन ।

सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले धनगढी बसपार्कबाट दैनिक ४ सय गाडी ओहोरदोहोर भइरहेको बताए । उनका अनुसार यहाबाट देशका विभिन्न भागमा दैनिक २ सय गाडी छुट्ने गरेका छन ।

भित्रिनेको संख्या पनि बाक्लो रहेको उनले बताए । सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्ला तथा काठमाडौं, पोखरा र पूर्वी तराईका लागि बस छुट्ने गरेका छन । ‘दसैंको यो समयमा रुटमा चल्नेभन्दा बढी बस सञ्चालनमा ल्याएका छौं,’ अध्यक्ष सापकोटाले भने, ‘सबै रुटमा बस थपिएका छन् ।

काठमाडौं र प्रदेशको पहाडी जिल्लामा धेरै बस थपेका छौं ।’ काठमाडौंमा रुटका अतिरिक्त १० वटा बसहरू थपिएका छन् । यस्तै पहाडी रुटमा पनि ५ देखि १० वटा बस थपेको उनले जानकारी दिए ।

‘यतिबेला बसपार्कमा भीडभाडको समय हो,’ उनले भने, ‘यात्रुहरूले विभिन्न खालले दु:ख पाउन सक्छन् ।’ उनले सुरक्षित यात्रा र टिकटको लागि बस समितिले आफनो तरिकाबाट केही काम गरेको बताए । सुदूरपश्चिम बस ब्यवसायी समितिको टिकट काउन्टरबाट सहज टिकट पाउन अग्रिम बुकिङ खुला राखिएको छ । यात्रीहरूलाई सहयोग गर्न बसपार्कमा छुट्टै नागरिक सहायता डेस्कसमेत स्थापना गरिएको छ ।

‘यात्रुले टिकटलगायत यात्रामा झेल्नु परेको समस्या यात्रुले डेस्कमा राख्न सक्छन,’ उनले भने, ‘यात्रुको सुझावलाई ‘क्विक रिस्पोन्स’ गर्छाै ।’ उनले दलालबाट टिकट यात्रुले किन्नु नपरोस् भनेर नै अग्रिम बुकिंग र नागरिक सहायता डेस्क राख्नु परेको बताए । क्षेत्रिय ट्राफिक प्रहरीले पनि दशैको बेला यात्रा सुरक्षित पार्ने काम गरिरहेको जनाएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरीका इन्चार्ज एंव प्रहरी उपरीक्षक केदार रजौरेले राति र दिवा चेकजाँच, प्रदेशका १२ ठाउँमा यात्रु सहायता कक्ष, र रिफ्रेस सेन्टर, लामो रुटका सवारी साधनमा २ जना चालकको अनिर्वायता, चालक र सहचालकलाई प्रशिक्षण र बसका यात्रुलाई सुरक्षित यात्रा गर्दा अपनाउनु पर्ने सावधानीका लागि पर्चा /पम्पलेट दिने काम गरिरहेको बताए । एसपी रजौरेले यसअघि समितिहरूका पदाधिकारीसँग पनि सुरक्षित यात्राका बारेमा छलफल गरेको जनाए ।

Published on: 10 October 2018 | Kantipur

Back to list

;