s

अन्तर्राष्ट्रिय रेडक्रस भन्छ- 'भुटानको जेल निरीक्षण गर्न असम्भव’

शरणार्थी बेपत्ता प्रकरण

एकाएक सम्पर्कहीन बनेको घरमूली छोरो लोकनाथ आचार्य भुटानको सैन्य जेलमा थुनिएको खबर दुई महिनापछि पाएदेखि ८२ वर्षीय बाबु देवीचरणको आँसु कहिल्यै थामिएन । आँसुको अति बहावले देब्रे आँखाको जाली फाटेपछि उनी यतिखेर देख्न नसक्ने भएका छन् ।

'छोरो जेलमुक्त होस् र फर्केर आओस् भनेर आज रुद्रीचण्डी पूजा गराउँदै छौं,' अघिल्लो आइतबार झापा, बेलडाँगी शिविरको सेक्टर-ई-३ मा भेटिएकी ८१ वर्षीया खिनामाया (देवीचरणकी श्रीमती) ले भनिन्, '२३ वर्षदेखि शिविरमा बस्दै आएको हाम्रो परिवारमा यस्तो विपत्ति आइपर्‍यो, विपत्तिबाट पार पाउन रुद्रीचण्डी पाठ गराउँदै छौं ।' दाहिने आँखामा फुलो परेर पहिलेदेखि नदेख्ने र अर्को आँखा पनि काम नलाग्ने भएपछि देवीचरणले अरूको सहारामा घर भित्रबाहिर गर्नुपर्ने भएको छ ।

भुटानको गेलेपु, दानाबारीबाट जिउज्यान जोगाउन आफ्ना बाबुआमा साथमा लिएर सन् १९९२ मा पूर्वी नेपाल आइपुगेका लोकनाथ शिविरको जनगणना र दर्ता दुवैमा सूचीकृत छन् । भुटानी अधिकारवादी संस्था ह्युमन राइट्स अर्गनाइजेसन अफ भुटान (हुरोब) सम्बद्ध ५१ वर्षीय आचार्य गत असोज २७ देखि शरणार्थी शिविरबाट निस्किएका र भारतको पश्चिम बंगालस्थित मालबजारबाट सादा पोसाकधारी तीन अपरिचितको घेरामा परेर थिम्पु लगिएको सूचना बाहिर आइसकेको छ । थिम्पुबाट वाङीफोदाङ जिल्लाको रबुना जेलमा आचार्यलाई राखिएको खबर पनि परिवारले पाएका छन् ।

'हामी अमेरिका पुनर्वास जाने भनेर तयारी गरिरहेका थियौं,' लोकनाथकी छोरी सिर्जनाले भनिन् । सिर्जना पनि आफ्ना बाबु बेपत्ता भएपछि कालिम्पोङमा कलेज पढाइ छाडेर दुई महिनाअघि बेलडाँगी शिविर फर्केकी छन् । उनका अनुसार २००९ को नोभेम्बर १० मै आचार्य परिवारलाई अमेरिका लैजाने भनेर प्रक्रियाका निम्ति राष्ट्रसंघीय शरणार्थी आयोगले तस्बिर लगिसकेको छ ।

यो गैरन्यायिक र मानव अधिकार विरोधी घटनाक्रमबारे लोकनाथकी श्रीमती देवीमायाले भुटानी प्रधानमन्त्री छिरिङ तोग्वे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री सुशील कोइरालासहित अधिकारवादी राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ/संगठनलाई 'श्रीमान्को सकुशल रिहाइ'का निम्ति पहल गरिदिन अनुरोध पत्र पठाइसकेकी छन् । उनले पठाएको पत्रका आधारमा भुटान मामिलासमेत हेर्ने भारतको दिल्लीस्थित अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) कार्यालयले भने 'भुटान भित्रका जेलमा गएर निरीक्षण गर्ने स्थिति नरहेको' भन्दै लोकनाथको यथास्थिति पहिल्याउन उपयुक्त उपाय अवलम्बन गरिने जनाएको छ ।

आईसीआरसीकी सुरक्षा संयोजक मारिया इलेना सिसोलिनीले 'दुर्भाग्यवश भुटानभित्र गएर जेल निरीक्षण गर्ने अवस्था नरहेकाले आचार्य परिवारले आग्रह गरेझैं लोकनाथको स्थिति पहिचानमा अरू उपयुक्त विकल्प खोजिने' जनाएकी छन् । तर, यो विकल्पबारे भने आईसीआरसीले केही बताएको छैन । शरणार्थी शिविरमा दर्ता रहेका र तेस्रो देशमा बसोबासमा जान इच्छुक भुटानी शरणार्थी लोकनाथको बेपत्ता स्थितिबारे शरणार्थी आयोग, आप्रवासन संगठन, एमनेस्टी इन्टरनेसनललगायत संगठनमा जानकारी दिए पनि कतैबाट पहल हुन सकेको छैन ।

Published on: 29 December 2014 | Kantipur

Back to list

;