s

आन्दोलनमा उत्रिए मजदुर, काम ठप्प

बाबुराम देवकोटा

कुसुमटार (सिन्धुली), साउन १६ गते । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका मजदुर आन्दोलनमा उत्रिएका छन् ।

कमलामाई नगरपालिका–२, कुसुमटारमा सुरुङ मार्गको प्रवेशद्वार निर्माणमा संलग्न छ सयभन्दा बढी मजदुर, ठेकेदार, चिनियाँ कम्पनीका कर्मचारीले दुव्र्यवहार गरेको भन्दै दुई दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।

मजदुरले सुरुङ मार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)सँग जिल्ला दररेटअनुसारको ज्याला पाउनुपर्ने, कामदारमाथिको अभद्र व्यवहार रोक्नुपर्ने, ओभरटाइमको रकम डेढी हुनुपर्नेलगायतका माग राखेका छन् ।

मजदुरले रात्रिकालीन कामको भत्ताको व्यवस्था हुनुपर्ने, काममा विभेद हुनु नहुने, पुरानो कामदार हुँदाहुँदै नयाँ राख्न नपाउने, मजदुरलाई शुद्ध खानेपानीको व्यवस्था, दिउँसो खाजा खाने समय दिनुपर्ने, प्राथमिक उपचार र दुर्घटना बीमाको व्यवस्था हुनुपर्नेलगायत १२ सूत्रीय मागसहितको पत्र कोभेकलाई बुझाइएका छन् ।

सुरुङ मार्गको प्रवेशद्वार निर्माणमा संलग्न कमलामाई नगरपालिका–१ का मजदुर सुब्बासिं घिसिङले हालै चिनियाँ कम्पनीका कर्मचारीले नेपाली मजदुरलाई कुटपिट गरेको बताउनुभयो । उहाँका अनुसार अहिले आठ घण्टा काम गरेबापत अर्धदक्ष मजदुरले दैनिक ५८० र दक्ष मजदुरले ७५० रुपियाँ पाएका छन् । जिल्ला दररेटमा अर्धदक्ष मजदुरको ज्याला आठ सय रुपियाँ र दक्ष मजदुरको ज्याला एक हजार रुपियाँ रहेको छ ।

अर्का मजदुर प्रकाश अधिकारीले भन्नुभयो, “हामीलाई अहिले जिल्ला दरभन्दा कम दैनिक ज्याला ५८० रुपियाँ दिएको छ । एउटा लेबरले ५८० कमाएर खाना खाँदा, अन्य खर्च हुन्छ त्यो कटाउँदा कति नै बस्छ र ?”

यसअघि गत पुस महिनामा मजदुरले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । त्यति बेला सुरुङ प्रवेश मार्गको काम सुरु गरेपछि जिल्ला दररेटअनुसारको ज्याला दिने सहमति भए पनि अहिले ५० मिटर सुरुङ तयार भएर थप सुरुङ खन्नका लागि टीबीएम मेसिन जडान भइरहँदा पनि ज्याला नबढाएकाले आन्दोलनमा उत्रन बाध्य भएको जनाएका छन् । माग पूरा नभएसम्म काम ठप्प पारेर आन्दोलनमा उत्रने मजदुरको भनाइ छ ।

मजदुरले माग सुनुवाइका लागि शनिबार चिनियाँ कम्पनीका कर्मचारीलाई बेचिङ प्लान्टको कार्यालयमा तालाबन्दी गरी थुनेका थिए । पछि प्रहरीले ताला फोरेर ती कर्मचारीलाई बाहिर निकालेको छ ।

चिनियाँ कम्पनी कोभेकका जनसम्पर्क अधिकृत जनक विकले मजदुरलाई दैनिक ज्यालादारीमा नभई मासिक ज्यालादारीमा काममा लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक जना मजदुरको पारिश्रमिक मासिक न्यूनतम १५ हजार रुपियाँ हुनुपर्छ भन्ने नेपाल सरकारको मापदण्ड छ । ५८० रुपियाँमा काम गर्ने मजदुरले काम गरेको दिनको बोनससहित गर्दा मासिक १७ हजार रुपियाँभन्दा बढी पुग्छ ।”

आन्दोलनरत मजदुरले उठाएको मागको विषयमा नेपाल टे«ड युनियन कांग्रेस सिन्धुलीले चिनियाँ कम्पनीका कर्मचारीलाई भेटेर ध्यानाकर्षण गराएको छ । टे«ड युनियन कांग्रेस सिन्धुलीका अध्यक्ष श्यामहरि अधिकारीले मजदुरले उठाएका जायज माग छिटो पूरा गरिनुपर्ने र मजदुरको श्रम शोषण हुन नहुने बताउनुभयो ।

यता सुनकोसी–मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले पहिलो चरणमा मजदुर र चिनियाँ कम्पनीबीच छलफल गरी निकास खोजिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरूबीच छलफल हुँदा निकास निस्किएन भने आयोजनाले अग्रसरता लिन्छ ।”

सुनकोसी–मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपियाँमा उक्त कम्पनीले लिएको छ ।

आयोजनाका अनुसार निर्माण आर्थिक वर्ष २०७७/७८ बाट सुरु भई आव २०८२/८३ सम्ममा सक्ने लक्ष्य छ । १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर हेडबाट पानी झारेर ३१ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाको उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउनेछ । आयोजना निर्माण गर्न ४६ अर्ब १९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

Published on: 2 August 2022 | Gorkhapatra

Link

Back to list

;