s

आन्दोलनमा जाने चिया श्रमिकको चेतावनी

राधा खनाल 

झापा : हरियो चियाको मूल्य इतिहासकै उच्चविन्दुमा पुगे पनि मजदुरका समस्या भने उस्तै छन्। पूर्व सहमतिअनुसार ज्याला नपाएको भन्दै झापाका चिया श्रमिकले आफ्ना मागप्रति गम्भिर र जिम्मेवार हुन सरकार र चिया मालिकलाई आग्रह गरेका छन्। मजदुर नेताले ऐनमा तोकेअनुसार ज्याला नदिए पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।

 

बिर्तामोडमा नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको केन्द्रीय समितिले शनिबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने जनाएको छ।

श्रम ऐनअनुसार ०७५ साउनदेखि ०७६ वैशाख ३० सम्मको वृद्घि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला केही बगान मालिकले अझै भुक्तानी नगरेको श्रमिकको गुनासो छ। रकमका लागि बगान मालिकसँग पटकपटक आग्रह गर्दासमेत भुक्तानी नपाएको चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताए।

संयुक्त पत्रकार सम्मेलनमार्पmत श्रम ऐन २०७४, श्रम नियमावली २०७५ मा भएको पारि श्रमिक, उत्पादन, सञ्चयकोष, सार्वजनिक विदा, बिरामी विदा, घर विदा, प्रसुति विदा, क्रिया विदा, चाडपर्व खर्चलगायत व्यवस्था गरी सामाजिक सुरक्षाकोषमा सूचीकृत गर्न आग्रह गरे।

‘कोभिड–१९ को कारण सबै क्षेत्र धरापमा भए पनि चिया क्षेत्र भने इतिहासकै स्वर्णिम अवस्थामा पुगेको छ’, अखिल नेपाल ट्रेड युनियन प्रदेश १ इन्चार्ज भूपाल सापकोटाले बताए। तयारी चिया प्रतिकिलो भारु दुई सय रुपैयाँमा बिक्री भइरहेको छ। गत वर्ष यही सिजनमा हरियो चियापत्ती प्रतिकिलो २० रुपैयाँ र तयारी चिया भारु ८५ मा बिक्री भएको थियो।

कोरोना संक्रमणको जोखिमबीच श्रमिक बगान तथा कारखानामा काम गर्न बाध्य भएको अखिल नेपाल चिया मजदुर संघकी सिता सापकोटाले बताइन्। कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको मापदण्डअनुसार आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको उनले गुनासो गरिन्।

जिल्लामा स्थायी र अस्थायी गरेर २५ हजार चिया मजदुर कार्यरत छन्। चिया श्रमिकको वृद्घि भएको रकम एक जना श्रमिकले करिब २५ हजार रुपैयाँसम्म भुक्तानी पाउनुपर्नेछ। ‘तर, सहमतिअनुसार कुनै पनि बगान मालिकले श्रमिकलाई भुक्तानी दिएका छैनन्’, श्रमिक संघकै अर्का नेता नेत्रप्रसाद दाहालले भने।

चिया श्रमिकले गत वर्ष श्रम ऐन कार्यान्वयनको माग गर्दै ४४ दिनसम्म चिया क्षेत्र नै ठप्प पारेर आन्दोलन गरेका थिए। ०७६ वैशाख ३० मा चिया उद्योगीले ऐन कार्यान्वयन गर्ने सहमति जनाएपछि आन्दोलन टुंगिएको थियो। उक्त सहमतिमा ०७५ साउनदेखि ०७६ वैशाख ३० सम्मको ऐनअनुसार वृद्घि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला बगान मालिकले श्रमिकलाई ०७६ चैत मसान्तभित्र भुक्तानी दिने उल्लेख छ।

क्याप्सन ः झापाको बिर्तामोडमा मंगलबार चिया श्रमिक संघले गरेको संयुक्त पत्रकार सम्मेलन।

Published on: 28 August 2020 | Annapurna Post

Link

Back to list

;