s

आन्दोलनकाे तयारीमा जलविद्युत् आयोजनाका कामदार

भीम चापागाईं

इलाम नगरपालिका–५ पुवाखोलास्थित पुवाखोला–१ जलविद्युत् आयोजनामा कार्यरत कामदारले कम्पनीले लामो समयदेखि तलब नदिएपछि आन्दोलनको तयारी गरेका छन्। उनीहरूले कम्पनीले तलब नदिँदा हातमुख जोर्नै समस्या हुन थालेपछि वडा र जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएका छन्। 

कम्पनीले यहाँ कार्यरत २२ कामदारको सबै सेवा–सुविधा जोड्दा करिब २२ महिनाको तलब दिन बाँकी छ। उनीहरूले तलब दिलाइदिन माग गर्दै ७ दिनको अल्टिमेटमसहित इलाम नगरपालिका ५ नम्बर वडा र प्रशासनमा गत वैशाख २७ मा उजुरी दिएका थिए। उजुरीको म्याद सकिँदासम्म कुनै प्रतिक्रिया नआएपछि कामदारले आन्दोलन तयारी गरेका हुन्। आयोजनाको इन्टेकमा कार्यरत दिलीप घिमिरेले आइतबार (आज) बैठक गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए। ‘हामीले दिएको उजुरीमा सुनुवाई भएन,’ उनले आइतबार भने, ‘आज बैठक बसेर आफूहरूले गरिरहेको काम रोक्नेसम्मका कार्यक्रमको तयारी गर्दैछौं।’ 

यहाँ कार्यरत कतिपय कामदारले आयोजना निर्माण हुँदा जग्गासमेत उपलब्ध गराएका थिए। ‘गाउँमा विकास आयोजना निर्माण हुने हर्षले सस्तो दाममै जग्गा दियौं, कम्पनीले जग्गा दिने व्यक्तिलाई काममा लगाइदिने सहमतिअनुसार नै काम गरिरहेका छौं,’ उनले भने, ‘सुरुमा नियमित तलब आयो। तर, आयोजनाले जब विद्युत् उत्पादन थाल्यो, हाम्रो तलब दिन ढिलो–ढिलो गर्दै अहिले त दिनै पो छाड्यो।’ 

अहिले यहाँका कामदारको नियमित तलब नै करिब १४ महिनादेखिको बाँकी छ। दसैं, अन्य बिदालगायतका सबै सुविधा जोड्दा २२ महिनाको तलब आउन बाँकी रहेको उनीहरू बताउँछन्। ‘तलब माग्दा कम्पनीका व्यक्तिले हाम्रो फोन उठाउँदैनन्,’ घिमिरेले भने, ‘हामीलाई आयोजना निर्माण सुरु हुँदैदेखि नियुक्तिपत्र दिइएन, काम लगाएर तलब चाहिँ दिइएको थियो। अहिले त कम्पनीले राखेका कामदार नै होइनन् पो भन्न थालिएको रे।’ 

आयोजनाको सुरक्षा गार्डका रूपमा कार्यरत गणेश श्रेष्ठले यहाँ काम गरेको ४ वर्ष बित्यो। उनको १३ महिनाको तलब र अन्य सुविधा पाउन बाँकी छ। ‘गत असोज र माघमा २÷२ महिनाको तलब आयो,’ श्रेष्ठले भने, ‘तर, त्यसभन्दा अघि र यताको सबै तलब÷सुविधा बाँकी छ।’ उनले कम्पनीले सुरुमा हाताहाती तलब दिने गरेपनि पछिल्लो समय बैंकमार्फत् दिन थालेको बताए। ‘धेरै महिनापछि १÷२ महिनाको मात्रै तलब दिँदा कहिलेदेखि कहिलेसम्मको बाँकी छ भन्ने नै पत्तो पाउन छाडिसकियो,’ उनले भने। 

१३ महिनादेखि तलब नपाएपछि अर्का कामदार सूर्य घिमिरे चाहिँ आफूले गरिआएको काम नै छाड्न बाध्य भएका छन्। ‘तलब माग्दा तिमीहरू हाम्रो कर्मचारी नै होइन भन्नेजस्ता जवाफ आउन थालेपछि आन्दोलनमा उत्रिनुको विकल्प भएन,’ उनले भने, ‘आयोजनाका लागि हामीले नै जग्गा दियौं, हामीले नै काम गरेर आयोजना यो अवस्थामा आयो तर हामीलाई अहिले बेवास्ता गरियो।’ 

आयोजनाका प्रबन्ध निर्देशक कदम केसीले कम्पनी संकटग्रस्त भएकाले कामदारलाई तलब दिन लामो समय लागिरहेको बताए। पटक–पटक मेसिन बिग्रिने समस्याले पनि आयोजनालाई ठूलो क्षति भइरहेको उनको भनाइ छ। ‘तर, कामदारले दाबी गरेअनुसार त्यत्रो लामो समयदेखिकै तलब चाहिँ बाँकी छैन,’ केसीले भने, ‘कम्पनीले काम नै नलगाएका कतिपय कामदारसमेत आफैं हाजिर गरेर तलब मागिरहेका छन्।’ ४ मेगावाटको आयोजनाले अहिले १ मेगावाटमात्रै उत्पादन दिएकाले पनि कम्पनीलाई खर्च धान्न गाह«ो परेको उनको भनाइ छ। कामदारले आफ्नै कम्पनीमा गुनासो नगरी अन्य निकायतिर गएको भन्दै केसीले कामदारसँग छलफल गरेर समस्या समाधान गरिने बताए। 

पुवाखोला–१ हाइड्रो पावर लिमिटेडले ७८ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गरेको हो। २०७१ चैतमा निर्माण सुरु आयोजनाले २०७४ असोजमा उत्पादन थालेको थियो।

Published on: 17 May 2020 | Nagarik

Link

Back to list

;