s

आम्दानी गुमेपछि मिर्गौला रोगी भोकभोकै

फातिमा बानु

काठमाडौँ — ज्याला मजदुरी गरी जीवन निर्वाह गरिरहेका मिर्गौला रोगी लकडाउनले काम रोकिँदा भोकभोकै परेका छन्। मिर्गौला डायलसिसका लागि विभिन्न जिल्लाबाट राजधानीमा कोठा लिएर बस्दै आएका यस्ता बिरामी घर फर्कन सकेका छैनन्। काम नभएपछि उनीहरूलाई यहाँ बसेर दुईछाक टार्न पनि धौधौ छ।

यस्तै एक पात्र हुन्– सुनसरीका २७ वर्षीय बुद्ध विश्वकर्मा। 

तीन वर्षअघि उनको मिर्गौलाले काम गर्न छाड्यो, उपचारका लागि घर छाडेर आए। अहिले उनी भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपणबाट साताको दुईपटक मिर्गौला डायलसिस गरिरहेका छन्। 

अस्पताल नजिक कोठा लिएर बस्ने उनी सडकमा नाङ्लो पसल राखेर जीविकोपार्जन गर्थे। लकडाउनका कारण पसल बन्द भयो। केही दिन त उनले त्यही नाङ्लोका चाउचाउ र बिस्कुट खाएर भोक मेटे। ‘पसलबाट दालभातको काम हुन्थ्यो,’ उनले भने, ‘अब त खानलाई केही छैन, घरमा कोही छैन, कसैले पठाउने स्थिति पनि छैन।’ उनी बसेको टोलमा केही मजदुरले राहत पाए। स्थानीयवासी नभएको भन्दै वडाले राहत नदिएको उनले बताए। उनी हाल अस्पतालको क्यान्टिनमा उधारो खाना खाइरहेका छन्। ‘माग्न जाऊँ कसैले दिँदैन, हामीजस्ता गरिबलाई ऋण त झन् कसले पत्याउने?’ उनले भने, ‘रोगले भन्दा भोकले मर्छु जस्तो लाग्यो।’

केन्द्रबाट अहिले एक सय ५१ जनाको नियमित मिर्गौला डायलसिस भइरहेको छ। ज्याला मजदुरी रोकिएपछि ती सबै भोकै बस्न बाध्य भएको मिर्गौलापीडित संघका अध्यक्ष बलराम सुवेदीले बताए। ‘घर गए भने यस्ता बिरामी डायलसिस गर्न नपाएर एक हप्तामै मर्छन्,’ उनले भने, ‘यहाँ भोकै बसेर कतिन्जेल बाँच्लान् खै।’

सिन्धुपाल्चोककी गीता सुनारले पनि श्रीमान्‌को उपचारका लागि ५ वर्षअघि घर छाडिन्। केन्द्रबाटै उनको मिर्गौला डायलसिस भइरहेको छ। इँटा, बालुवा बोकेर उनले कोठा भाडा तिर्ने, खाने खर्च निकाल्ने गरिरहेकी थिइन्। लकडाउनका कारण उनको काम रोकियो। बचत पनि केही नभएकाले बिरामी र आफू भोकै बस्नुपरेको बताइन्। ‘केही दिन सहयोग मागेँ,’ उनले भनिन्, ‘५ वर्ष जसोतसो बचाएँ, अब कुनै उपाय लागेन।’ खर्च अभावकै कारण उनले श्रीमान्‌को उपचारमा आवश्यक रगतसमेत किन्न नसकेको बताइन्। वडामा राहत लिन जाँदा घरमै ल्याइदिन्छु भनेर फर्काएको उनको गुनासो छ। 

महोत्तरीका उचित चौधरी पनि तीन वर्षअघि डायलसिसका लागि राजधानी आए। गाउँको अस्पतालमा पालो नपाएपछि उनी भक्तपुर आएका थिए। अस्पताल नजिकै कोठा लिएर बस्छन्। श्रीमतीले पानीपुरी र चटपटे बेचेर घर धान्थिन्, छोरी पढाउँथिन्। उनी पनि सकेको बेलामा श्रीमतीलाई सघाउँथे। लकडाउनपछि उनको यो काम रोकियो। अहिले भोकै बस्नुपर्ने स्थिति आयो। ‘घरभाडा पनि मागिरहेको छ, तिर्नलाई २ हजार पनि छैन,’ उनले भने, ‘राहत दिन कसैले वास्ता गरेन, पैंचो पनि कति माग्नु।’ सातामा दुईपटक डायलसिस नगरे उनको ज्यान तलमाथि पर्छ। उपचारका लागि भोकै भए पनि अस्पताल आउजाउ गरिरहेको उनले बताए। 

५ वर्षदेखि मिर्गौलाको डायलसिस गरिरहेका २५ वर्षीय रामजी तामाङलाई पनि लकडाउनले उस्तै पीडित बनाएको छ। उपचारका लागि उदयपुरको गढी गाउँपालिकादेखि परिवारसहित उनी राजधानी आए। आमाबुवाले ज्याला मजदुरी गर्थे। अस्पतालमा नि:शुल्क उपचार पाए पनि लकडाउनका कारण उनी भोकै बस्नुपर्ने अवस्था छ। ‘वडाबाट राहत लिनका लागि घरबेटीले भनिदिनुपर्ने रहेछ। भाडा नतिरेको भनेर घरबेटीले सिफारिस पनि दिएनन्,’ उनले भने, ‘लकडाउन थपिन्छ रे, हामी त खान नपाई मर्छौं होला।’

मिर्गौलापीडितले खानै नपाउने स्थिति आएपछि संघले वडा र नगरपालिकामा सहयोग मागिरहेको छ। घरबेटीको सिफारिसबिना ती निकायले राहत दिनै नमानेको संघका अध्यक्ष सुवेदीले बताए। ‘कोरोनाले त मार्छ कि मार्दैन थाहा छैन,’ उनले भने, ‘यस्तै अवस्था रह्यो भने भोकले चाहिँ मरिन्छ होला।’

Published on: 27 April 2020 | Kantipur

Link

Back to list

;