s

आमाले दोस्रो बिहे गरेपछि छोरीको बिचल्ली

राजेन्द्र कार्की 

जाजरकोट भेरी नगरपालिका १ रावतगाँउकी एक महिलाले तीन वर्षीयछोरीलाई छोडेर दोस्रो विवाह गरेपछि छोरीको विचल्ली भएको छ । चार वर्षअघि सँगै मर्ने सँगै बाँच्ने कसम खाएर स्थानीय रोशन खत्रीसँग विवाह बन्धनमा बाँधिएकी भवानी राना खत्रीले दोस्रो विवाह गरेपछि छोरीको विचल्ली भएको हो । ‘नातिनी आमा आमा भनेर रोइरहेकी छ । खान पनि खादिनँ ।

यसलाई कसरी सम्हालौं’,हजुर आमा धनी खत्रीले गहभरि आँसु पादै भनिन्, ‘त्यही श्रीमती र छोरीको भविष्यको लागि छोेराले खाडीमा पसिना बगाइरहेको छ । यता निर्दयी आमाले दूधे नाबालकलाई छोडेर गई ।’
 
भवानीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षदेखि कतारमा छन् । यही मौका छोपी उनले तीन दिनअघि स्थानीय गणेश विश्वकर्मासँग दोस्रो विवाह गरेकी हुन् । अर्काकी श्रीमती भगाउने गणेश र श्रीमान् तथा छोरीलाई छाडेर जाने भवानी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार श्रीमान् विदेश भएको मौका छोपी अवैध सम्बन्ध राख्दै आएकी उनले पोल खुल्ने डरले नाबालक छोरीलाई समेत चटक्कै छोडेर गएकी हुन । रोशनकी आमा धनी खत्रीले विवाह गर्दा लागेको खर्च, छोराले विदेशबाट पठाएको रकम, औषधि उपचारलगायत भएको खर्च गरी १० लाख रुपैया क्षतिपूर्ति माग गदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उनले क्षतिपूर्तिका साथै कानुनी कारवाहीको माग गरेकी छन् तर जिल्ला प्रहरी कार्यालयमै स्थानीयले केही रकम लिएर मिलापत्र गर्न दबाब दिइरहेको पीडित पक्षको गुनासो छ ।
 
Published on: 7 April 2018 | Annapurna Post

Back to list

;