s

अकमाको म्याद सकिएकाले चाँडो सम्पर्क गर्न दूतावासको आग्रह

मुकुन्द गैरे

काठमाडौं,वैशाख २३ गते । साउदी स्थित नेपाली राजदूतावासले अकमाको म्याद सकिएका, नवीकरण नगरिएका नेपालीलाई दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

दूतावासले ५ महिना भन्दा लामो समय सम्म अकमा नबनाएका नेपालीलाई सम्पर्क गर्न अनुरोध गरेको हो ।

विभिन्न कारणले गैरकानूनी हैसियतमा पुगेका नेपालीको संख्या दैनिक बढ्दै गएको दूतावासले जानकारी गराएको छ ।

साथै भगौडा भएका तर कुनै केस नलागेका नेपाली पनि त्यतिकै मात्रमा रहेको बताइएको छ ।

उक्त अवस्थामा रहेका नेपालीले राजदूतावासको टेलिफोन नम्वरमा प्राथमिकतासाथ आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, पुरानो इकामा नम्वर, बोर्डर नम्वर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम जस्ता विवरणहरु टिपाउन दूतावासको अनुरोध छ ।

महिला, अशक्त विरामी भई नियमित औषधी सेवन गरिरहेका, दुर्घटनामा परी घाइते भएको अवस्थामा रहेकाहरुले समेत प्राथमिकताका साथ आफ्नो विवरण राजदूतावासमा टिपाउन सक्ने छन् ।

समस्या टिपाउदा टेलिफोन वा ह्वाट्स्एप वा इमेल कुनै एक माध्यमबाट मात्र टिपाउन सकिने दूतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

हिजो (सोमबार) सम्म साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार ६ सय ५६ पुगेको छ । हिजो थप १६ सय ४५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४ हजार ४ सय ७६ जना निको भएका छन् ।

हिजो ८ जना सहित जम्मा १ सय ९१ जना संक्रमितको मृत्यु भएको छ ।

आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकोले सावधानीका लागि साउदी सरकारले अनुरोध गरेको छ ।

नेपाली नागरिकहरुमा संक्रमण भएको हकमा जानकारी दिन साउदी सरकारलाई अनुरोध गरिएकोमा सरकारले क्षेत्रगत हिसाबले जानकारी उपलव्ध गराउने भएको दूतावासले बताएको छ ।

Published on: 5 May 2020 | Gorkhapatra

Link

Back to list

;