s

आमाहरू पर्खंदै झ्यालैमा

तुफान न्यौपाने

महेन्द्रनगर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९, लम्गाउँकी सीतादेवी बुढाले घरअगाडिको बाटोतर्फ आँखा ओछ्याउन थालेको १८ वर्ष भइसक्यो, तर अल्लारे उमेरमै भारत गएका छोरा रंगबहादुर कहिले आउने हुन्, ठेगान छैन । २२ वर्षको उमेरमा भारत पसेका छोरा अहिले ४० वर्षका भइसके भन्ने हिसाब गरेर आमा अनौठो मान्छिन्, तर यही दर्मियानमा आफू पनि ४३ वर्षबाट ६१ वर्षकी भएँ भन्ने उनले भुसुक्कै बिर्सिएकी छन् ।

२०६१ मंसिर १३ को एकाबिहानै घर छाड्दा रंगबहादुरले भनेका थिए, ‘चिन्ता नगर आमै, पाँच सालमै आइजाउँला ।’ भारतबाट मान्छेहरू वर्ष दिनमा ओहोरदोहोर गर्छन् । तर रंगबहादुरले ‘पाँच सालमै आइजाउँला’ भनेका थिए । किनकि त्यो बेला देश माओवादी द्वन्द्वको उत्कर्षमा थियो । गाउँका युवालाई माओवादीले लग्थे र बूढाबूढीलाई सुरक्षाकर्मीले सताउँथे । देशमा संकटकाल लागेको र युवाहरूको भागाभाग भएको त्यो बेला छोरा परदेश लागेकामा आमाको मनमा शान्ति पलाएको थियो । तर, देशको राजनीतिमा अनेक घुम्ती आउँदा पनि आफ्नो आँगनमा छोरा नफर्कंदा सीतादेवीको मन अशान्त छ ।

 

१४ वर्षकै उमेरमा पनि भागेर भारत पुगेका रंगबहादुर यसैगरी कुनै खोजखबरबिना हराएका थिए, ६ वर्षपछि टुप्लुक्क आँगनमा झुल्किएपछि आमाको प्राण फर्किएको थियो । त्यसैले अहिले पनि छोरा कुनै खबर नगरी आइपुग्छन् कि भन्ने उनलाई लागिरहन्छ । ‘भारत त मुलुकै ठूलो छ भन्छन्, कसैका छोरा त हराएको ४० वर्षपछि पनि फर्किए भन्ने खबर सुन्छु, के मेरै छोरो हराएको हरायै हुने होला त ?,’ आफैं अत्तालिएर फेरि भन्छिन्, ‘हाम्रै छिमेकमा मलेसिया पुगेको अर्को महिना ज्यान गएका मान्छेको लास भोलि आउँदै छ । परदेश गएका छोरालाई के पर्छ, के पर्छ ?’

दुई वर्षअघिसम्म सीतादेवीलाई श्रीमान् शेरबहादुरको साथ थियो । क्यान्सरपीडित उनलाई बचाउन जेठा छोरा तुलबहादुर (४५) ले ऋण गरेर नेपालगन्जको सुशील कोइराला क्यान्सर अस्पतालदेखि भरतपुरको बीपी अस्पतालसम्म पुर्‍याए । तर २०७७ मंसिरमा शेरबहादुरको निधन भयो । छेउमा टुसुक्क बसेका तुलबहादुरलाई देखाउँदै सीतादेवीले भनिन्, ‘यसका बा बितेपछि ऋण तिर्न जग्गा बेच्नुपर्‍यो, जग्गा बेच्न सम्पत्ति यही छोराका नाममा सार्न पर्‍यो । तर, सम्पत्तिमा कान्छोको पनि अंश लाग्ने भएकाले काम रोकियो, त्यसैले जेठो छोरो अदालत पुगेर भाइको मृत्यु भएको कागज बनाएर ल्याएपछि बल्ल नामसारी भयो ।’

सीतादेवीको नियति ! एकातिर कालगतिले श्रीमान् बिते, अर्कोतिर ऋण तिर्न छोरा पनि बिते भनेर अड्डाअदालत धाएर लिखत गर्नुपर्‍यो । आफैं बिलखबन्दमा परेकी उनी भन्छिन्, ‘कान्छो मर्‍यो भन्ने प्रमाण बनाएर बसेका छौं, फेरि त्यही छोरो आमा भन्दै कुन बेला आइपुग्ला भन्ने आस पनि छ ।’

मुलुकी देवानी संहिता, २०७४ ले ‘कुनै व्यक्ति बिनासूचना लगातार १२ वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक जानकारी पाउनुपर्ने व्यक्तिले १२ वर्षदेखि कुनै जानकारी नपाएमा तथा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त नभएमा त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने’ र जिल्ला अदालतबाट ‘मृत्युको न्यायिक घोषणा’ गर्न सकिने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार तुलबहादुरले पनि भाइ रंगबहादुरको मृत्युको न्यायिक घोषणाको कागज बनाएका हुन् ।

रंगबहादुर भारतमा बेपत्ता छन्, तर रोजगारीका लागि भारत धाउनुको विकल्प परिवारसँग छैन । भारत गएर हराएको भाइ नफर्किएपछि मृत्युको घोषणाको पत्र बनाएको केही महिनापछि नै तुलबहादुरले छोरा ध्रुवलाई कामका लागि भारत नै पठाएका छन् । ‘भाइ त्यहींबाट हराएको हो । छोरालाई त्यहीं पठाउन त मन नै थिएन । तर, के गर्नु, देशमा रोजगारी छैन, बाँच्ने अरू उपाय छैन,’ तुलबहादुरले भने ।

कञ्चनपुरकै महाकाली–९ ढकनाघाटकी गुल्टी धामी (६८ वर्ष) का ५ भाइ छोरा थिए । सबैभन्दा पहिले साहिँलो छोरो पदम ९ वर्षकै उमेरमा गाउँलेहरूको साथ लागेर भारतको नयाँदिल्ली गए । त्यहाँबाट उनले होटलमा काम गर्दै गरेको खबर पनि पठाएका थिए । एक वर्षसम्म भारत आउजाउ गर्ने छिमेकीले पदमलाई सञ्चै छ भन्ने खबर ल्याइरहन्थे । त्यसपछि भने क्रमशः उनको खबर आउन छाड्यो । पदमबारे पूर्ण रूपमा खबर टुटेको अहिले २५ वर्ष भयो ।

साहिँलो भाइ भारत गएको ४ वर्षपछि जेठा नम पनि कमाउन भन्दै भारत छिरे । उनी पनि गाउँलेसँगै भारतको अल्मोडा (उत्तराखण्ड) गएका थिए । उनले घर छाडेको पनि २१ वर्ष भयो, आमा गुल्टीले उनको पनि कुनै खबर अहिलेसम्म पाएकी छैनन् । उनीसँगै अल्मोडा गएकाहरू घर फर्किरहन्छन् । गुल्टी भारतबाट फर्कने जोकोहीको घरमा सोध्न पुग्छिन् । तर, कसैले कुनै खबर ल्याएका छैनन् ।

जेठो छोरो हराएको दुई वर्षपछि गुल्टीका श्रीमान् चन्द धामीको मृत्यु भयो । ४५ दिनको दुःख बारेपछि माइला धनबहादुर पनि काम गर्न भन्दै दिल्ली लागे । १९ वर्षसम्म उनको पनि अत्तोपत्तो छैन । जेठा नमले बिहे गरेका थिए । उनका एक छोरा छन्, अहिले २६ वर्ष पुगेका उनी पनि ‘कमाउन’ भारतकै सिमला गएका छन् । माइलो र साहिँलो भने अविवाहित थिए ।

गुल्टीका काहिँला छोरा करबहादुर भारतकै केरलामा छन् भने कान्छो रामु बैंग्लोरमा । वृद्ध गुल्टीले दुई छोराका पाँच सन्तान स्याहारेर बसेकी छन् । ‘६ भाइ छोरा जन्माएकी थिएँ । एउटा बालखैमा बित्यो । तीन जना भारतमा हराए । बाँकी दुई छोरा पनि उतै छन्, उनीहरू त ओहोरदोहोर गर्छन् ।’ हराएका तीन भाइको अवस्था के होला ? सोचेर उनी कहिले आशा गर्छिन्, कहिले त्रसित हुन्छिन् ।

दोधारा चाँदनी–९ बडुवाल टोलकी (३० वर्षीया) रेखा सुनारले दाइ मुकेशलाई तिहारको टीका लगाइदिन नपाएको ९ वर्ष भयो । उनका एक मात्र दाइ मुकेश ६९ सालको तिहारमा बहिनीको हातको टीका थापेर रोजगारीका लागि भारत पसेका थिए, त्यसयता कुनै खबर पठाएका छैनन् । श्रीमान् बेपत्ता भएपछि श्रीमतीले अर्को बिहे गरिन् । उनीहरूका छोरा राज अहिले हजुरबा–आमासँग बस्दै आएका छन् ।

छोरा खोज्न भारतको आल्मोडा गएका लालबहादुरको उतै लड्दा करङ भाँचियो । बाँकी जीवन अपांगतासँगै जुधेर चल्ने भयो । कमाउने एक मात्र छोरा हराएका छन् । बोल्न नसक्ने जेठी छोरी र बाबुआमाको काख नपाएका नातिको समेत जिम्मेवारी उनले धानेका छन् ।

डोटीको शिखर नगरपालिका–१० गहनाअनमोलकी कलावती विक (३८ वर्ष) की दिदी सरस्वतीको अकालमै मृत्यु भयो । उनकी छोरी दुर्गा हुर्कँदै थिइन् । तर, सरस्वतीका बाआमाको मनमा ज्वाइँ (डम्बरबहादुर) ले अब अर्को बिहे गर्लान् र नातिनी दुर्गाले दुःख पाउँछिन् भन्ने डर पस्यो । उनीहरूले ज्वाइँलाई बोलाएर आफ्नी अर्को छोरी कलावतीलाई बिहे गर्न प्रस्ताव राखे । बाआमाले भनेपछि कलावतीले भिनाजुलाई श्रीमान् मानिन् ।

उनीहरूबाट एक छोरा र एक छोरी जन्मिए । भारतको हरियाणामा घरेलु कामदारका रूपमा काम गर्ने दुर्गाबहादुर एकाएक हराए । छोरा १७ वर्ष र छोरी १५ वर्षका भए, तर १४ वर्षदेखि दुर्गाबहादुरको पत्तो छैन । श्रीमान्को बाटो हेर्दै बसेकी कलावती भन्छिन्, ‘कहाँ बेपत्ता भए केही पत्ता छैन । न मरेको प्रमाण छ न जिउँदै छन् भन्ने छ । अब त कुर्दाकुर्दा आँखा पनि थाकिसके ।’

श्रीमान् हराएपछि दुई लालाबालाको जिम्मेवारी सम्हाल्न उनले दैनिक ज्यालामा मजदुरी गरिन् । अहिले भने सडकछेउमा सानो पसल थापेकी छन् । दिनको दुई/सयको व्यापार गर्दै छोरीलाई पढाइरहेकी उनले १५ वर्ष पुगेपछि छोरालाई भने भारत पठाएकी छन् । ‘श्रीमान् उतै गएर हराए । कतै छोरो पनि हराउँछ कि भन्ने डर त लागिरहन्छ नि । तर, के गर्नु ? इन्ड्या नगएसम्म कुनै उपाय छैन । बाँच्नु त पर्‍यो,’ उनी भन्छिन्, ‘हुन त मेरो छोराको पढ्ने बेला हो अहिले । तर, पञ्जाबमा अर्काका जुठा भाँडा माझ्दै छ ।’

छोरा करणले कलावतीलाई बरोबार फोन गरिहन्छन् । अहिले त आमालाई स्मार्ट फोन पठाइदिएका छन् । ‘मोबाइलमा इमो (मेसेजिङ एप) राखेर पठाइदेको छ, फोन गरिरहन्छ । आमा, धेरै चिन्ता नलेऊ अब म छु भन्छ,’ भावुक हुँदै कलावती भन्छिन्, ‘मजदुरी गरेर हुर्काएँ । बालखैमा परदेश जानुपर्‍यो । यो छोरीले पढ्न मन गरी भने १२ सम्म पढाउने विचार गरेकी छु । दाइले पनि बहिनीलाई पढाउने हो भन्दै छ ।’

श्रीमान् हराएपछि उनले खोज्ने प्रयास गरिन् । ‘ज्योतिषी र झाँक्रीकामा गएँ । भारतमा त उनको पता (ठेगाना) नै थाहा थिएन, त्यसैले जान सकिएन, आउने जाने मान्छे हो, बाटो बिराएर हराउनुपर्ने मानिस त होइनन् । खै कसैले मारेर पो फालिदियो कि ?’ यति भनिनसक्दै उनी झसङ्ग हुन्छिन् ।

कलावतीका श्रीमान् ५ भाइमध्येका एक हुन् । तर श्रीमान् हराएपछि घरबाट अंश पनि पाउन सकेकी छैनन् । श्रीमान्को मृत्यु भएका एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने भए पनि बेपत्ता भएका कलवातीजस्ता महिला त्यसबाट पनि वञ्चित छन् । हराएको व्यक्तिका नाममा न अंश आउँछ न उसको नामको अचल सम्पत्ति प्रयोग गर्न पाइन्छ । ‘१२ वर्षभन्दा बढी सम्पर्क नभएपछि मृत्युको कागज बनाउन मिल्छ भन्ने त सुनेकी छु, तर मृत्यु भएको कागज बनाउने हिम्मत आएको छैन, तर यसरी कतिञ्जेल धान्न सकिन्छ भन्ने थाहा छैन,’ कलावती भन्छिन् ।

कामका लागि भारत पसेका सन्तान उतै बेपत्ता भएर दुःख पाइरहेका सुदूरपश्चिमेली आमाहरूमध्ये डोटीको शिखर नगरपालिका–९ तिलतालीकी ६४ वर्षीया वासु बलायर पनि एक हुन् । ५ सन्तानमध्ये जेठो छोरा शंकर ३० वर्षदेखि भारतमा हराइरहेका छन् । १४ वर्षकै उमेरमा भारत पसेदेखि उनको खबर छैन । छोराको सास छ कि छैन भन्ने थाहा नपाएरै बाबु बिते । ‘सुरु सुरुमा त आज आउला कि भोलि भन्ने आस लाग्थ्यो, अब त आस पनि मरिसक्यो,’ लामो सुस्केरा तान्दै आमा वासुले भनिन्, ‘३० वर्ष पहिले गएको मेरो छोरो फर्किएन । तर, मानिसहरू अहिले पनि हूलका हूल बाँधेर इन्ड्या जान्छन् । नगएर के गरुन् त ? यहाँ खानलाई केही छैन । बाँच्नु परेन ?’

६४ वर्षीया वासुले गाउँमा आफूजस्तै बुढी महिलाहरू र केटाकेटी मात्र बाँकी भएको बताइन् । ‘दमको रोगी छु, काम गर्न सक्दिनँ । म जस्तै रोगी मान्छे मात्रै गाउँमा छन् । अरू त सबै इन्ड्या जान्छन् । हाम्रै गाउँबाट मेरो छोराजस्तै ४ जना बेपत्ता भएका छन् रे ।’ पहिले पहिले भारतबाट फर्किएकामध्ये कसै कसैले तिम्रो छोरोलाई देखेका थियौं भन्ने खबर ल्याउने गरेको भए पनि वर्षौंदेखि त्यस्तो खबर आउन छाडेको वासु बताउँछिन् । भन्छिन्, ‘फोटो भए पनि सम्झना आउँदा हेर्न हुन्थ्यो, त्यो पनि छैन । छोरा जन्मिएपछि बनाएको यही एउटा चिना छ । छोरालाई जत्तिकै माया गरेर जतनसाथ राखेकी छु ।’

यी केही उदाहरण हुन्, जसले देखाउँछन्, परिवारको जीविकाकै लागि भारतमा निर्भर हुन बाध्य सुदूरपश्चिमेलीका दुःखका पहाड कति अग्ला छन् । राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स नेपाल) नामक गैरसरकारी संस्थाले सन् २०१७ मा डोटीका चार र कञ्चनपुरका तीन पालिकामा गरेको सर्वेक्षणले यी सात पालिकाबाट मात्रै २०९ जना मानिस भारतमा हराइरहेको पाइएको थियो । निड्सका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडैका अनुसार डोटीको केआई सिंह नगरपालिकाको वडा ६ र ७ बाट १८ जना, डोटीकै शिखर नगरपालिकाबाट १०० जना, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाबाट ५४ जना र पुनर्वास नगरपालिकाबाट ३७ जना भारतमा हराएका छन् । सन् २०१७ मा कम्तीमा तीन वर्षदेखि बढीमा २५ वर्षसम्म हराएका व्यक्तिको मात्र सूची तयार पारिएको थियो । निड्सले नै सन् २०१५ मा गरेको सर्वेक्षणले सुदूरपश्चिमका कम्तीमा ७० प्रतिशत घरधुरीबाट कोही न कोही व्यक्ति जीवनमा कम्तीमा एक पटक कामका लागि भारत गएको पाइएको थियो ।

‘हराएका श्रीमान् फर्कने आसमा बसेका श्रीमतीहरूले बाध्यताले आफ्ना सन्तानलाई पुनः भारत पठाएका छन् । कतिपयको त श्रीमान् र छोरा दुवै हराएका छन् । कतिपयका दुईभन्दा बढी छोराहरू पनि हराएको भेटिएको छ,’ मडै भन्छन्, ‘स्थानीय तहले वडा कार्यालयमार्फत हराएका व्यक्तिको दर्ता आह्वान गर्नुपर्छ । त्यस्ता व्यक्तिका परिवारलाई सम्बोधन गर्ने स्किम ल्याउनुपर्छ । केटाकेटीलाई छात्रवृत्ति तथा श्रीमतीहरूलाई जीवनोपयोगी सीपको तालिम दिनुपर्छ । तर, यो विषय कुनै पनि सरकारको प्राथमिकतामा छैन ।’

प्रदेशअनुसार श्रम बजारका सूचक हेर्दा श्रम बजारमा सबैभन्दा कम सहभागिता सुदूरपश्चिम प्रदेशको (२७.३ प्रतिशत) छ । जुन सबैभन्दा बढी सहभागिता दर रहेको वाग्मतीको (४७.१ प्रतिशत) भन्दा करिब २० प्रतिशतले कम हो । जनसंख्याको अनुपातमा रोजगारी दर पनि सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २४.१ प्रतिशत छ । यी सबै तथ्य तथ्यांक र ‘केस स्टडी’ ले एकसाथ दुईवटा कुरा भनिरहेका छन्– पहिलो, देशमा रोजगारीका अवसरबाट सबैभन्दा बढी वञ्चित सुदूरपश्चिमेली जनता हुन् । दोस्रो, त्यसरी वञ्चित गरिएकाहरू जीविका चलाउने बाध्यताले पुस्तौंदेखि भारतमा निर्भर छन् र त्यसको ठूलो मूल्य यहाँका जनता र समाजले चुकाइरहेका छन् ।

‘इन्डो–नेपाल’ लेबर माइग्रेसनमा त्रिभुवन विश्वविद्यालय (टीयू) बाट विद्यावारिधि गर्दै गरेका सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट समाजको सबैभन्दा कमजोर वर्ग भारतमा निर्भर भइरहेकाले त्यसबाट सिर्जित समस्यामा राज्यले ध्यान दिन आवश्यक नठानेको बताउँछन् । ‘मानिसहरू वर्षौंदेखि बेपत्ता छन्, त्यसले परिवार विखण्डनमा परेका छन् । गाउँमा एचआईभी संक्रमण भुसको आगो जस्तै सल्किरहेको छ । पहाडमा केटाकेटी र बुढाबुढी मात्र भएकाले मृत्यु हुँदा मलामी जानेसमेत मानिसको अभाव छ । नेपालको युवाशक्ति पलायन हुँदा राज्यले चुकाइरहेको मूल्य अझ बढी छ,’ उनले भने, ‘उनीहरू नेपालमा बस्न सक्ने कुनै आधार नभएकाले भारत गएका हुन्, हाम्रो जनशक्ति खेर गएको हो । त्यसलाई उपयोग गर्ने नीति चाहियो ।’

सुदूरपश्चिमबाट भारत जानेमध्ये ९० प्रतिशत मानिस गरिबीका कारण भएको उनले बताए । ‘वैदेशिक रोजगारीमा गएर धन कमाउने र त्यसबाट प्रगति गर्ने उनीहरूको उद्देश्य छैन । केवल आफ्नो र परिवारको पेट पाल्ने मात्र उद्देश्य छ,’ उनले भने, ‘उनीहरूको काम सुरक्षित र मर्यादित छैन । पुस्तौंदेखि नियमित जसो भारत गइरहेका उनीहरू समाजका सबैभन्दा कमजोर वर्गका हुन् । त्यसमा राज्यको कुनै निकायलाई चासो भएजस्तो देखिँदैन ।’

‘एसियाको आप्रवासनमा कोभिड–१९ को प्रभाव’ शीर्षकमा यूएसएआईडीले सन् २०२० को डिसेम्बरमा प्रकाशित गरेको प्रतिवेदनमा खाडी र मलेसियामा भन्दा कम खर्च लाग्ने कारण न्यून सामाजिक–आर्थिक अवस्थाका नेपालीहरू बढीजसो भारत जाने गरेको उल्लेख छ । जसमा भनिएको छ, ‘तीमध्ये अधिकांश मानिसहरू पश्चिम नेपालको ग्रामीण इलाकाका मौसमी कामदार हुन् । उनीहरू भारतमा अनौपचारिक अर्थतन्त्रको क्षेत्रमा अदक्ष कामदारका रूपमा सक्रिय छन् । जसको जागिरको सुरक्षा हुँदैन र अन्य कुनै पनि सामाजिक सुरक्षा उपलब्ध हुँदैन ।’

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २०१७ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार अनौपचारिक क्षेत्रमा आबद्ध कामदार विश्वव्यापी रूपमा ६१.२ प्रतिशत रहेकामा नेपाल र भारतमा त्यो भन्दा निकै बढी छन् । प्रतिवेदनले नेपालमा ८०.८ र भारतमा ८८.६ प्रतिशत कामदार अनौपचारिक क्षेत्रमा आबद्ध रहेको देखाएको छ । त्यस्तै आईएलओले नै सन् २०२० को जुन महिनामा प्रकाशन गरेको ‘नेपाली आप्रवासी श्रमिकमा कोभिड–१९ को असर : स्वास्थ्य र आर्थिक संकटको समयमा नेपाली आप्रवासी श्रमिकको संरक्षणका चुनौती र भविष्यका लागि बाटो’ शीर्षकको अर्को प्रतिवेदनले कामका लागि भारत गएकामध्ये करिब ८६ प्रतिशतले दैनिक ज्यालादारीमा अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको उल्लेख गरेको छ । जसमध्ये कृषि क्षेत्रमा करिब २६ प्रतिशत तथा निर्माण क्षेत्रमा करिब ३० प्रतिशत कामदार छन् । उनीहरूलाई रोजगारी सम्झौता र अन्य सुविधाहरू दिइँदैन, जसका कारण मालिकहरूलाई कामदारका लागि खाद्यान्न, बसोबास र स्वास्थ्य सेवा प्रदान गर्नेलगायतका कुनै दायित्व सिर्जना हुँदैन ।

‘एसियाको आप्रवासनमा कोभिड–१९ को प्रभाव’ शीर्षकको यूएसएआईडीको प्रतिवेदनले भारतबाट नेपाल आउनेमध्ये रेमिट्यान्सको ८५ प्रतिशत रकम घरपरिवारले दैनिक उपभोग्य वस्तु खरिदमा खर्च गर्ने गरेको तथ्यांक उल्लेख गरेको छ । जुन गल्फ र मलेसियाबाट आउनेमध्येको दैनिक उपभोग्य सामग्रीमा खर्च हुने (५० प्रतिशत) भन्दा धेरै हो । ‘यो तथ्यांकले के देखाउँछ भने धेरै आप्रवासी कामदारका लागि भारतको रोजगारी जीवन जिउने उपायको खोजी मात्र हो, माथिल्लो स्तरमा उक्लन गरेको प्रयास होइन,’ प्रतिवेदनमा भनिएको छ । त्यही प्रतिवेदनले पश्चिम नेपालबाट भारत पुगेका आप्रवासी कामदारका लागि स्वास्थ्य सेवामा पहुँच पाउने विषय कोभिडपूर्व नै ज्यादै कठिन रहेको उल्लेख गरेको छ । ‘बिमा नहुनु तथा आधार कार्डको अभाव, न्यून ज्यालादर, असहयोगी मालिक, स्वास्थ्य संस्थामा विभेद, अस्पताल कहाँ छन् भन्ने सूचनाको अभाव’ जस्ता कारणले नेपालबाट गएका कामदारलाई भारतको जीवन दुरुह बनेको उक्त प्रतिवेदनले औंल्याएको छ ।

नेपाल र भारतबीच खुला सीमा रहेका कारण दुवै देशका नागरिकहरू निष्फिक्री आउजाउ गर्न सक्छन् । सीमापार गर्दा दुवै देशका नागरिकले परिचयपत्र देखाउनु पर्दैन । यद्यपि उनीहरूलाई सुरक्षा फौज, भन्सारका कर्मचारी अथवा मानव बेचबिखनको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरूले रोकेर केरकार गर्न भने सक्छन् । त्यो समयमा भने उनीहरूले पहिचान खुल्ने कागजात देखाउनैपर्छ । ‘परिचयपत्र देखाउनु मात्र कुनै समस्याको विषय हुँदैनथ्यो तर त्यसक्रममा उनीहरूले दुर्व्यवहार भोग्नुपर्छ, घुस पनि बुझाउनुपर्छ,’ सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक भट्टले भने ।

आफूले समेत भारतमा चौकीदारका रूपमा काम गरेको स्मरण गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्वाचित भएलगत्तै यहाँको बेरोजगारी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पेट पाल्नकै लागि आफ्नो जीवनको ऊर्जाशील समय कालापहाडमा बिताउन बाध्य सुदूरपश्चिमेली जनतालाई स्वदेशमै रोजगारीको अवसर दिने उनको वाचा थियो । तर, उनी यो वाचामा पूर्णतयाः असफल भए । धनगढीका कानुन व्यवसायी गम्भीरसिंह ऐर मुख्यमन्त्री भट्टसँग भारतमा चौकीदार बन्न जानबाट रोक्ने कुनै योजना नभएकाले उनी असफल भएको बताउँछन् । ‘यहीं रोजगारी सिर्जना गर्नेबारे उनीसँग कुनै योजना थिएन । कम्पनी र ठूला उद्योगहरू खोल्ने नीति थिएन । त्यसैले मुख्यमन्त्रीको घोषणाले मात्र यो सम्बोधन हुने विषय थिएन । ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने सामर्थ्य प्रदेशको मात्र पनि छैन होला,’ ऐरले भने, ‘मुख्यमन्त्री भट्ट आफैं चौकीदारी गरेका मानिस भएकाले उनी अलि बढी संवेदनशील छन् होला भन्ने ठानिएको थियो । रहेनछन् ।’

मुख्यमन्त्री भट्ट भने आफूले सुदूरपश्चिममा रोजगारीका अवसरहरू सिर्जना गर्न प्रशस्त प्रयास गरेको तर पूर्णरूपमा सफल हुन नसकेको बताउँछन् । ‘यो प्रदेशमा रोजगारी सिर्जना गर्ने ठूला कलकारखाना केही नभएकाले निरन्तर प्रयासले पनि सफल हुन सकिएन,’ उनी भन्छन्, ‘तर, बेरोजगार युवालाई कृषिमा जोड्यौं । सिजनल विकास निर्माणबाट रोजगारी सिर्जना भएको छ । पर्यटनबाट पनि रोजगारी सिर्जना हुन्थ्यो, कोभिडका कारण त्यो सम्भव भएन ।’ भट्ट स्वयम् यो निर्वाचनमा उम्मेदवार छैनन्, तर प्रतिस्पर्धामा रहेका कुनै पनि ठूला दलका प्रभावशाली उम्मेदवारले यो मुद्दालाई एजेन्डा बनाएका छैनन् ।

Published on: 21 October 2022 | Kantipur

Link

Back to list

;