s

आजदेखि श्रमाधान रोजगार मेला

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा ‘श्रमाधान रोजगार मेला’ आजदेखि सुरु हुँदै छ । सातै प्रदेशमा हुने यो मेलालाई पहिलो चरणमा बिहीबार र शुक्रबार कोशी प्रदेशको विराटनगरमा गर्न लागिएको हो । ‘श्रमाधान रोजगार मेला’को कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रूपमा रहेका छन् । बिहीबार मेलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यतालिका छ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, विराटनगर महानगरपालिका प्रमुखलगायतका व्यक्तित्वहरूको उपस्थिति हुनेछ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको श्रममन्त्री अर्यालले जानकारी दिए ।

विराटनगरको सिटी प्यालेस होटेल एन्ड रिसोर्टमा आयोजना हुने दुईदिने मेलाका लागि उद्योगी व्यवसायीलगातका ५० स्टल हुनेछन् । यो मेलाबाट करिब पाँच सय युवाले रोजगारी पाउने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए । विराटनगर प्रदेशको उद्योग व्यवसायमा पनि रोजगार मेलाको ठूलो महत्व राख्ने उनको भनाइ छ । ‘यहाँका उद्योगले स्वदेशी कामदार नपाएको स्थिति छ, पारि (भारतीय)का कामदारबाट काम चलाउनुपर्ने बाध्यतामा हामी छौँ,’ उनले भने, ‘मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने विश्वास छ ।’

त्यस्तै, श्रम मन्त्रालयका उपसचिव एवं कोशी प्रदेश संयोजक सुशीलप्रसाद आचार्यले कोशी प्रदेशमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘यो मेला बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको सुरुवात हो,’ उनले भने, ‘अबको १५ वर्षपछि बाध्यात्मक रूपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी डाटाबेस बनाउने हाम्रो तयारी छ ।’ युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यका साथ यो मेला आयोजना गरिएको हो । यसले रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवद्र्धन गर्ने पनि मन्त्रालयको अपेक्षा छ ।

मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ । अर्थात्, रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनविन्दुस्थल हुनेछ । समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्वपूर्ण भूमिका रहने मन्त्रालयका प्रवक्ता एवं सहसचिव गोविन्दप्रसाद रिजालले बताए ।

विराटनगरपछि मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते यो मेला गरिनेछ । त्यसपछि क्रमशः गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा जेठ २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते यो कार्यक्रम गरिँदै छ । अन्तिम चरणको तथा समापन कार्यक्रम भने बागमतीको ललितपुरमा जेठ २९ र ३० गते हुने मन्त्रालयको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटेल संघ नेपाल मेलाको सहआयोजक छन् । मेलालाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले सहयोग गरेका छन् ।

Published on: 30 May 2024 | Naya Patrika

Link

Back to list

;